मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनका लागि आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
उम्मेदवारी दर्ताको कार्यक्रम उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जनाको मात्र उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित हुने भएका छन्।
यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ५ पदका लागि ३५ महिला, ४८ पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरूष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम (पूर्वी भाग) जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडानं. ४ को वडाध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भई सूची प्रकाशन भएपछि भोलि सोमबार ३ गते बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंगलबार ४ गते अपरान्ह ५:०० बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६:०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
यस्तै ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३:०० देखि ५:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
यसरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि मंसिर १६ गते आइतबारका दिन बिहान ७:०० देखि अपराह्न ५:०० बजेसम्म मतदानको कार्यक्रम तय भएको छ।
मतदान कार्यमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न आयोगले सम्बन्धित सबै मतदातामा आह्वान पनि गरेको छ।
Shares

प्रतिक्रिया