कात्तिक २३ गते दैलेख सदरमुकामबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दैलेख–सुर्खेत सिमानामा दुर्घटनामा पर्यो। उक्त दुर्घटनामा परी चार जनाले घटनास्थलमै ज्यान गुमाए। ज्यान गुमाउनेमा दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२, का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२, का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्ट थिए। ३० जना यात्रु सामान्यदेखि गम्भीर घाइते भए।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४, को रातानाङ्ग्लानजिकै दुर्घटना भएको गाडीमा ३४ यात्रु सवार थिए। गाडीमा अधिकांश दसैँतिहार मनाएर गाउँबाट सहर फर्किँदै गरेका महिला र बालबालिका थिए।
यसरी यो दुर्घटना हुनुको पछाडि तीव्र गति र यात्रु भार धेरै भएको प्रहरीको निष्कर्ष छ। दैलेख–सुर्खेत सडक खण्डमा चारभन्दा बढी ठाउँमा ट्राफिक पोस्ट र प्रहरी पोस्टहरू राखिएका छन्। गाडी सुर्खेत–दैलेख सीमानजिक दैलेखको गुराँस गाउँपालिकाको गुराँसे बजारमा रहेको चेक पोस्टमा गाडीका सहचालकले १० जना यात्रुको विवरण गोप्य राखेर २३ जना मात्रै गाडीमा रहेको विवरण टिपाएका थिए।
प्रहरी चौकीमा इन्ट्री गरेर गन्तव्यमा लागेको झण्डै २० मिनेटमा गाडी सडकबाट तीन सय मिटर तल खोँचमा खसेर दुर्घटनागस्त बन्यो। उक्त फोर्स गाडीको भारवहन क्षमता १५ देखि १८ जना मात्रै हो। प्रहरी पोस्ट आउँनै लाग्दा यात्रुलाई पैदल हिँड्न लगाएर इन्ट्री गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बताए। साथै उनले गाडी धनीले प्रहरीको आँखा छल्दा, सवारीसाधनमा यान्त्रिक गडबडी, ओभरलोड र तीव्र गतिका कारण अप्रिय घटना भइरहेको खड्काले बताए।
यस्तै, कालीकोटको पलाता गाउँपालिका–५, खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप वडा नम्बर ३ को राडु भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा पर्यो। उक्त दुर्घटनाबाट सात जनाले ज्यान गुमाए भने १३ जना घाइते भए। ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गाडी चालकको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निधन भयो।
दुर्घटना भएको स्थल कर्णाली कोरिडोर जोड्ने भित्री सहायक मार्ग हो। भौगोलिक दृष्टिले दुर्गम रहेको दुर्घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि समयमै नपुगेको भए अझै धेरैको ज्यान जाने हुने सम्भावना थियो। यस सडकमा निजी बोलेरोहरु सञ्चालन हुँदै आएका छन्। बोलेरोको यात्रु क्षमता भनेको पाँच जना हो। तर, आइतबार दुर्घटनामा परेको जिपले १९ जना यात्रु बोकेको थियो। जिप एक्कासि चालकको नियन्त्रणभन्दा बाहिर गएर झण्डै पाँच सय मिटर सडकभन्दा तल जमिनमा बजारिएको थियो।
सडकबाट झण्डै आधा किलोमिटर तल खसेको उक्त जिप दुर्घटना हुनुको कारण साँघुरो सडकमा तीव्र गति र ओभरलोड रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिप दुर्घटना हुनुको मुख्य कारण ग्रामीण सडक र क्षमताभन्दा बढी यात्रुको भार रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रमुख डीएसपी टेकहादुर रावतका अनुसार, दुई वर्षअघि मात्रै खनिएको सडक कच्ची थियो। ५ सिट क्षमताको बोलेरोमा १९ जना यात्रु चढ्दा दुर्घटना भएको उनले बताए।
उनले भने, ‘घटनास्थल हेर्दा कच्ची र साँघुरो सडक तथा सिट क्षमताभन्दा धेरै यात्रु संख्या देखिन्छ। दुर्घटनाको थप कारण पनि बुझ्दै छौँ।’
कालीकोटको भौगोलिक अवस्थाअनुसार भित्री सडकमा ट्राफिक व्यवस्थापन गर्न निकै चुनौती रहेको प्रहरी प्रमुख रावतले बताए। साँघुरा सडकमा मनपरि यात्रु बोकेर हिँड्ने यातायात व्यवसायीका कारण अप्रिय घटनाले बढवा पाएको सरकारी अधिकारीहरूको धारणा छ।
अघिल्लो साताको शुक्रबार दैलेख–सुर्खेत सिमानामा फोर्स गाडी दुर्घटना, आइतबार कालिकोटमा जिप दुर्घटनालगत्तै सोमबार जाजरकोटको छुट्टाछुट्टै दुई ठाउँमा फोर्स गाडी र जिप दुर्घटनामा परे। जाजरकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी घाइते ३७ बढी यात्रु घाइते भए।
सोमबार जाजरकोट सदरमुकामबाट नेपालगन्जका लागि छुटेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भए।
यस्तै, सोमबार नै जाजरकोटको बारेकोट गाउँपालिकाबाट सदरमुकामका लागि छुटेको १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भए। प्रहरीका अनुसार दुर्घटनामा केही घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत ल्याइएको छ।
बढ्दै छन् दुर्घटना
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार प्रदेशमा हरेक वर्ष सडक दुर्घटनामा ज्यान गुमाउने संख्यामा वृद्धि भइरहेको छ। तर, सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायले ध्यान दिएका छैनन्। कर्णाली प्रदेशभर दसैँ–तिहार अर्थात् असोज–कात्तिकको दुई महिनाको अवधिमा १ सय ६२ वटा सडक दुर्घटना भएका प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा परी २४ जनाले ज्यान गुमाएका छन् भने ३ सय ३४ जना घाइते भएका प्रहरीको तथ्यांक छ।
कर्णालीमा सडक दुर्घटना हुनुमा ग्रामीण भूगोल, साँघुरा र जीर्ण सडक, मापदण्डविपरीत सडक, तीखा घुम्ती, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, तीव्र गति, यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धा र रमिते प्रशासनका कारण नागरिकले यात्राकै क्रममा ज्यान गुमाउनुपरेको सरोकारवालाहरुको भनाइ छ।
साथै दुर्घटनाको केही कारण मानवीय त्रुटि वा चालकको त्रुटिका कारणले पनि रहेको प्रहरीको बुझाइ छ। जसमा पहाडको घुमाउरो सडकमा चालकले हर्न नबजाउँदा, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, लामो यात्रामा एउटै चालकले गाडी चलाउँदा, पुराना गाडी चलाउँदा, समय समयमा गाडीको मर्मत नगर्दा तथा सवारी साधन अनुमति पत्र नलिई चलाउँदा दुर्घटना बढी भएको प्रहरी अधिकारी बताउँछन्।
घटना घटेपछि मात्रै प्रहरी सक्रिय
पछिल्लो एक हप्तामा लगातार कर्णालीमा सडक दुर्घटना भएपछि प्रहरीले सवारी चेकजाँचमा सक्रिय भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका सबै जिल्लामा भित्रिने र बाहिरिने नाकामा सवारी जाँचमा कडाइ गरिरेको दाबी गरेको छ।
दसैँ-तिहारको केही समय अगाडी मात्रै प्रहरीले प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने सवारी साधनबाट अतिरिक्त रूपमा राखिएका सिटहरु हटाएको थियो।
सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले क्षमताभन्दा बढी यात्रु बोकिने क्षेत्रहरुलाई विशेष निगरानीमा राखिएको दाबी गरे। तर, सवारी चालकहरुले सिट क्षमताभन्दा बढी यात्रु बोक्न छाडेका छैनन्।
सबै निकाय दोषी : यातायात व्यवसायी
सडक दुर्घटना हुनुमा यातायात व्यवसायीको मात्रै दोष नभई यससँग सम्बन्धित सबै निकायाको कमजोरी रहेको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले बताए।
‘कसैले पनि यसमा म चोखो हुँ भन्ने ठाउँ छैन। यातायात व्यवसायीहरुको त्यत्तिकै कमजोरी छ। यात्रुहरुको, सवारीमा हिँड्ने चालक मजदुरहरुको, प्रहरी प्रशासन, त्यसमाथि नीतिगत भ्रष्टाचार गरेर बनेका ती बाटाहरुलाई स्वीकृत गर्ने नेपाल सरकारका इन्जिनियरहरु सबैभन्दा बढी दोषी हुनुहुन्छ।’
अध्यक्ष सापकोटाले भने, ‘कालिकोटको बाटो खतरनाक छ। जहाँ स्थानीय नेता तथा जनप्रतिनिधिहरुले एउटा भोटको राजनीति गर्ने उद्देश्य राखेर बाटो पुर्याएको देखिन्छ। त्यो मान्छे मार्ने बाटो मात्रै बनेको छ।’
सापकोटाले कर्णालीमा बनेका अधिकांश बाटाहरुमा कसरी सुरक्षा नीति अपनाउने, बाटो कति मिटरको हुनुपर्ने, उकालो भीरमा सुरक्षाको वातावरण के हुनुपर्ने त्यस्तो कुनै मापदण्ड नभई जनप्रतिनिधिले भोटको लागि खनेका बाटोको स्वीकृत दिने इन्जिनियरहरु नै मुख्य दोषी भएको दाबी गरे।
उनले भने, ‘हामी यसलाई नीति गत भ्रष्टाचार भन्छौँ। मिलेर काम गरेजस्तो गर्ने अनि खाने तर काम पूरा नगर्ने संस्कार बसेको छ। सुर्खेत–दैलेख सडकको बारेमा म २०५४ सालबाट जानकार छु। तर, अहिलेसम्म सडकको अवस्था उस्तै छ। सानासाना तीखा मोड मात्रै छन्। सडकको सुधार भएको छैन। यो २६ वर्षको समयसम्म चालकले कसरी चलाए होलान्?’
उनले गाउँमा दुईवटा घरको लागि बाटो पुर्याउन करोडौँ रकम खर्च गर्नुभन्दा भएका बाटालाई फराकिलो बनाउनतर्फ ध्यान दिन सरकारलाई सुझाव पनि दिए। ‘चेक पोस्टमा मान्छे झारेर अगाडि पठायो भन्ने गरेको सुनिन्छ। ती पठाएका मान्छे त्यहीँ चेक पोस्ट भएर जान्छन्। प्रहरीले देखेकै हुन्छ। किन कारबाही गर्न सक्दैन? यस्तो भन्न प्रहरीलाई छुट छैन,’ सापकोटाले भने ।
दसैँतिहारको समयमा यात्रुहरुको चाप बढेको र कर्णाली प्रदेशमा रहेका यातायात प्रालिबीच अस्वस्थ प्रतिस्पर्धा भएका कारण पनि सडकयात्रा असुरक्षित बनेको उनको दाबी छ। विगत चार वर्षदेखि कर्णालीमा रहेका सबै प्रालिलाई संयुक्त यातायात प्रालिका रुपमा चलाएको तर केही व्यक्तिहरुका कारण मनलाग्दी यात्रुहरु बसपार्कमा खोसाखोस गर्ने प्रवृत्ति मौलाउँदै गएको उनको दाबी छ।
Shares

प्रतिक्रिया