ad ad

कर्णाली


एमाले कर्णाली : ३० हजारले पार्टी छाडे, २० हजार थपिए

प्रदेश अधिवेशन असोज १० र ११ मा, भदौ ३० गते प्रतिनिधि छनौट
एमाले कर्णाली : ३० हजारले पार्टी छाडे, २० हजार थपिए

दिनेश बुढा
भदौ २८, २०८० बिहिबार १७:४६,

नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन असोज १० र ११ गते हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीबाट हुनेछ।

अधिवेशनका लागि एमाले कर्णाली प्रदेशले तयारी थालिरहेको छ। अधिवेशनका लागि कर्णाली प्रदेशका १० जिल्ला ७९ वटै पालिका र पार्टीका जनवर्गीय संगठनलाई भदौ ३० गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय समेत गरिसकेको छ।

प्रदेश अधिवेशनका सन्दर्भमा उप–समितिहरु गठन गरी कार्यविभाजन गरिएको एमाले कर्णाली प्रदेशले जनाएको छ। जसमा विनोदकुमार शाहको संयोजकत्वमा प्रतिवेदन लेखन उप–समिति, लालबहादुर महताराको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप–समिति, टेकराज पछाईंको संयोजकत्वमा आर्थिक व्यवस्थापन उप–समिति, अमृतकुमार बिसीको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उप–समिति, खड्गकुमार भट्टराईको संयोजकत्वमा साँस्कृतिक उप–समिति, हरिहर नाथ योगीको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उप–समिति, रुद्रबहादुर शाहीको संयोजकत्वमा स्वयंमसेवक उप–समिति, सूर्यमणि गौतमको संयोजकत्वमा प्रचार–प्रसार उप–समिति, सौमति ऐडीको संयोजकत्वमा अतिथि सत्कार उप–समिति र पद्मा खड्काको संयोजकत्वमा स्वास्थ्य उप–समिति गठन भएका छन्।

यस्तो छ, प्रतिनिधि छनौटको मापदण्ड
एमाले कर्णाली प्रदेशको कार्याललय बैठकले अधिवेशनका लागि प्रतिनिधि छनौटको मापदण्ड तयार पारेर अन्तरपार्टी निर्देशन समेत जारी गरिसकेको छ। उक्त निर्देशनमा प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट २०८० भाद्र ३० गते ७९ वटै पालिका, २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र सबै जनसंगठनहरुले एकै दिन गर्ने उल्लेख गरिएको छ। साथै प्रतिनिधि छनौट तोकिएको निकायले सम्पूर्ण पार्टी सदस्य भेला गरी सकेसम्म सर्वसम्मत विधिबाट गर्नुपर्ने र उक्त भेलाले गरेकोे निर्णयको प्रतिलिपि अनिवार्य सलंग्न गर्नुपर्ने निर्देशन एमालेले गरेको छ।

यस्तै, एमालेले भूगोल खुल्लातर्फ १०० पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गर्ने र छनौट भएका प्रतिनिधि मध्ये एक तिहाई महिला संख्या अनिवार्य हुनुपर्ने,  प्रतिनिधि छनौटको आधार भूगोलको लागि पालिका र दलिततर्फको लागि प्रदेश निर्वाचन क्षेत्र तोकिएको साथै दलित पार्टी सदस्यले दलित वा भूगोल मध्ये कुनै एक क्षेत्र रोज्न सक्ने मापदण्ड बनाएको छ।  

यस्तै, प्रतिनिधि छनौटको व्यवस्थापन भूगोलको लागि सम्बन्धित पालिका कमिटी र दलिततर्फका लागि सम्बन्धित प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्नुपर्ने र सहजिकरण जिल्ला कमिटीले गर्नुपर्ने, ४० वर्ष मुनिका युवाहरुको सहभागिता हुने गरी प्रतिनिधि चयन गर्नुपर्ने, शेष रहेको अंक ५० प्रतिशत पुगेमा एकजना प्रतिनिधि थप हुने व्यवस्था मिलाउने तर, कुनै क्षेत्रमा आधार संख्या भन्दा कम भएमा उक्त क्षेत्रबाट एक जना प्रतिनिधि छनौट गर्ने निर्देशन एमाले प्रदेश कमिटीले जिल्लालाई दिएको छ।

साथै, एमालेले पार्टी प्रवेशबाट समायोजन भएका व्यक्तिहरुलाई पनि प्रतिनिधित्व गराउन ध्यान पुुर्याउने, छनौट भएका प्रतिनिधिहरुको निर्धारीत ढांचा अनुुसारको विवरण प्रदेश पार्टी कार्यालयमा असोज २ गते भित्र अनिवार्य पठाउनुु पर्ने छ ।

यस्तै, एमालेलेका २२ वटा जनवर्गीय संगठनहरु मध्ये अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, पेशागत महासंघ नेपाल, नेपाल उत्पीडित जातीय मु्क्ति समाज, राष्ट्रिय युवा संघ नेपाल, प्रेस चौतारी नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ र नेपाल राष्ट्रिय उद्योग व्यवासायी महासंघलाई एक महिला अनिवार्य सहित तीन जना प्रतिनिधि तोकिएको छ।

नेपाल वुद्धिजिवी परिषद्, नेपाल भूमिहीन सुकुम्वासी संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपाल, प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपाल, मानव अधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल खेलकुद महासंघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, अनेरास्ववियु, रिटर्नी फेडरेशन नेपाल र राष्ट्रिय सांस्कृतिक महासंघबाट एक महिलासहित २ जना प्रतिनिधि हुन पाउने छन्।

यस्तै, अधिवेशनमा सहभागी प्रतिनिधि प्रवेश शूल्क दुई हजार पाँच सय तोकिएको छ।

३० हजारले पार्टी छोडे, २० हजार बढी थपिए
कर्णाली प्रदेशमा एमालेका संगठित सदस्य २०७८ सालमा ६२ हजार तीन सय ८८ रहेका थिए। तर, ३० हजार तीन सय ९५ जनाले पार्टी छोडेका छन्। अर्थात् उनीहरुले नवीकरण गरेनन्। हाल कर्णालीमा पुराना दुई वर्ष (२०७९÷०८०)को नवीकरण गर्नेमा ३१ हजार ९ सय ९३ जना मात्रै रहेका छन्।

२०७८ मा सबै भन्दा बढी दैलेखमा १३ हजार दुई १४ जना पार्टी सदस्यमा ४ हजार ६ सय ४४ जनाले मात्रै नवीकरण गरेका छन्।

यस्तै, सुर्खेतमा १२ हजार ९१ मध्ये ७ हजार २१५, कालीकोटमा ७ हजार ७२३ मध्ये २ हजार २४२, जुम्लामा ३ हजार २०२ मध्ये २ हजार ३९४, मुगुमा ४ हजार ८८९ मध्ये २ हजार ९७, डोल्पामा ४ हजार ९७३ मध्ये २ हजार ६४३, हुम्लामा ५ हजार २७८ मध्ये, ३ हजार ४१०, रुकुमपश्चिमा ३ हजार १२३ मध्ये ९ सय १२, सल्यानमा ३ हजार ७ मध्ये २ हजार २८२ र जाजरकोटमा ४ हजार ८८८ मध्ये ३ हजार १५४ जनाले मात्रै नवीकरण गरेका छन्।

प्रदेशभर २० हजार एक सय ९ जना भने नयाँ सदस्य थपिएका छन्। नयाँ र पुराना गरि कर्णालीमा एमालेका ५१ हजार ८ सय ३७ जना संगठित सदस्यहरु छन्। सबै भन्दा बढी सुर्खेतमा १० हजार ५५८ सदस्य छन्। जसमा महिला तीन हजार ५५ र पुरुष ६ हजार दुई ८२ छन्। भने एमालेका सबै भन्दा कम संगठित सदस्य दुई हजार एक ७० जना रुकुम पश्चिममा रहेका छन्। जसमा महिला ६ सय ८१ र पुरुष एक हजार चार सय २८ छन्।

यस्तै, जाजरकोटमा ६ हजार आठ सय (महिला १८ सय ८७ र ४ हजार ८४६ पुरुष) दैलेखमा ६ हजार ६५३ जना (१३ सय ६३ महिला, ५ हजार २७५ पुरुष) कालीकोटमा ६ हजार १०३ (१८ सय ९० महिला र ४ हजार २१७ पुरुष) हुम्लामा ४ हजार ६६५ (एक हजार ४ महिला र २ हजार ८६२ पुरुष), जुम्लामा ४ हजार ४४३ (१ हजार २३१ महिला र ३ हजार ६९ पुरुष) डोल्पामा ३ हजार ८३६ (१ हजार ४०६ महिला, २ हजार ८६२ पुरुष) र मुगुमा ३ हजार ३१ (६१२ महिला र एक हजार ९३१ पुरुष) छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .