ad ad

कर्णाली


माल्टाको सपना देखाएर ठगी : कमानसिंहविरुद्धको उजुरी दर्ता

माल्टाको सपना देखाएर ठगी : कमानसिंहविरुद्धको उजुरी दर्ता

दिनेश बुढा
साउन १२, २०८० शुक्रबार १६:११, सुर्खेत

माल्टाको सपना देखाएर लाखौं रुपैयाँ ठगी गर्ने गुर्भाकोट नगरपालिका–९ का ४३ वर्षीय कमानसिंह कामीविरुद्धको मुद्दा दर्ता भएको छ। वैदेशिक रोजगारीको लागि भन्दै स्थानीयबाट लाखौं रकम उठाएर ठगी गरेका कमानसिंहविरुद्धको उजुरी दर्ता भएको हो।

पीडितहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा (साउन ९) गते मंगलबार ठगीको मुद्दा दर्ताका लागि जाहेरी दिएका थिए। विभिन्न सपना र प्रलोभन देखाएर गुर्भाकोट नगरपालिका सुर्खेतकी उप–प्रमुख मैना विकका श्रीमान कमानसिंहले गुर्भाकोट र भेरीगंगा नगरपालिकाका केही नागरिकलाई ठगेका थिए।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक (डीएसपी) लक्ष्मणबहादुर शाहीले पीडितहरुले कमानसिंहविरुद्ध दिएको ठगीको जाहेरी दर्ता गरेर प्रहरीले आफ्नोतर्फबाट प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘वैदेशिक रोजगारीको ठगी भएता पनि आखिर ठगी नै भनेर ठगीको मुद्दा दर्ता भइसक्यो। हिजो मुद्दा दर्ता भएर, आज विहान अदालतमा पठाएका छौँ। अदालतले परारम्भिक प्रमाण के छ भनेर अदालतले खोज्छ। अनि प्रकाउ पुर्जी जारी गरेपछि प्रहरीको आफ्नो काम अगाडि बढ्छ।’

साथै डीएसपी शाहीले अदालतबाट कमानसिंह कामीलाई पक्राउको लागि पुर्जी नआएको बताए।

उनले भने, ‘अदालबाट प्रकाउ पुर्जी आएको छैन। आजनै आउँछ होला। यदी आयो भने उहाँलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्छ।’

यस्तै, गुर्भाकोट नगरपालिका–३ बस्ने लक्ष्मी पुन, वडा नम्बर ४ सहारे बस्ने हरिबहादुर वली, गुर्भाकोट–९ बोटेचौरका दीपक वली, नन्दलाल घर्ती, तुलबहादुर बुढा, छविकुमार खत्री र गुर्भाकोट नगरपालिका–११ बस्ने शेरबहादुर पुन मगर, भेरीगंगा नगरपालिका–८का खिमबहादुर डीसी र भेरीगंगाकै वडा नम्बर ६ का रमेश पुन मगरले जाहेरी दिएका थिए।

पीडितहरूले जाहेरीमा ‘कमानसिंह कामी चिनजानको मान्छे भए तापनि उनले २०७९ मंसिरदेखि आफू भारतको दिल्लीमा रहेको मेनपावरसँग मिलेर काम गर्न थालेको र माल्टाका विभिन्न कम्पनीमा मासिक ३ लाख ९० हजार नेपाली रुपैयाँसम्म तलब पाउने गरी १५/२० जना कामदार पठाउने जिम्मा पाएको भनी झुक्याएको’ आरोप पनि लगाएका छन्।

पीडितहरूले ‘रकम ठगी गर्ने योजना बनाई जालप्रपञ्च रची, झुक्याई धोका दिई गफलतमा पारी, बेइमानी तवरले माल्टा पठाइदिन्छु भनी नोक्सान र आफूलाई फाइदा हुनेगरी रकम लिएर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को २४९ विपरीत कसुर गरेकाले कमानसिंहलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरीपाऊँ’ भनी जाहेरी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .