राजनीति


कोशीमा गठबन्धन फुटाउने एमालेको प्रयास, होला त सफल?

कोशीमा गठबन्धन फुटाउने एमालेको प्रयास, होला त सफल?

सागर न्यौपाने
साउन १२, २०८० शुक्रबार १६:२२, काठमाडौँ

कोशी प्रदेशमा फेरि सत्तामा फर्कन र गठबन्धन भत्काउन नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव राखेको छ।

यो प्रस्ताव केन्द्रीय समितिको निर्णय र अध्यक्ष, महासचिवको योजना अनुसार भएको कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए। 

यसअघि विश्वासको मत नपाएर एक महिनामै एमालेले कोशी सरकार छोड्नुपरेको थियो।  गठबन्धनकै कारण सबै ठाउँको सत्ता गुमाएकोले फेरि सत्तामा फर्कन एमालेले नीतिगत रुपमै कांग्रेससँग सम्बन्ध स्थापित गर्न खोजेको कार्कीले बताए।

‘वैशाख महिनामा केन्द्रीय समितिले यही निर्णय गरेको छ,’ उनले भने, ‘अध्यक्ष र महासचिवले बोलिराख्नुभएको छ। कांग्रेससँग मिल्न हामी ओपन नै छौँ।’

गठबन्धनको नेतृत्व गरेको कांग्रेससँग मिल्न सके केन्द्रीय राजनीतिलाई तरङ्गित पार्न सकिने एमालेको बुझाइ देखिन्छ। 

कोशी प्रदेश एमाले दलका नेता हिक्मत कार्कीले कांग्रेस तयार भए सत्ताको नेतृत्व दिन समेत आफूहरु तयार भएको बताए।

‘कांग्रेस स्पष्ट भएर आयो भने आधा–आधा कार्यकाल बाँड्न हामी तयार छौँ,’ उनले भने, ‘यसका लागि छलफल अगाडि बढाउने कुराको औपचारिक सुरुवात मैले यहाँ बोलेर भयो।’

शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस र एमाले मिलेर कोशीमा सरकार बनाउन सकिने दाबी गरे।

‘साना–साना दल मिलेर सरकार बनाउँछन् भने ठूलो दल नमिल्ने कुरै हुँदैन, एमाले र कांग्रेसका बीचमा गणतन्त्र र संविधानलाई संस्थागत गर्ने र कानुनी राज्य स्थापित गर्ने लगायतका तमाम राजनीतिक मुद्दामा हाम्रा कुरा मिल्छन् भने हामी अगाडि बढ्न तयार छौँ,’ उनले थपे।

बिहीबार सर्वाेच्च अदालतले कोशी प्रदेश सरकार गठनमा प्रक्रिया नमिलाएको भन्दै नयाँ सरकार गठन गर्न ७ दिनको समय दिएको छ। 

अदालतको आदेशले गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेस दलका नेता उद्धव थापा २० दिन मात्रै सत्तामा रहन पाए।  

कोशीमा नयाँ सरकार बनाउन कठिन छ। कुनैपनि दलको बहुमत छैन। गठबन्धन दलको बहुमत नपुग्दा असार २१ गते सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर उनीहरुले बहुमत पु¥याएका थिए। 

तर, अदालतले रेफ्रीको भूमिकामा रहनुपर्ने सभामुखले सरकार बनाउन हस्ताक्षर गर्न नमिल्ने बताइदिएपछि थापा नेतृत्वको सरकार २० दिनमै ढल्यो।

अब नयाँ सरकार गठनको प्रक्रिया सुरुदेखि थाल्नुपर्छ। ९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन कुनै दलको पनि बहुमत पुग्दैन। 

अहिले कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धनमा छन्। यी सबै दलको जम्मा ४६ सांसद छन्। एमाले र राप्रपाको पनि ४६ नै हुन्छ। सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। 

कोशीको गणित हेर्दा गठबन्धनले राप्रपाको साथ लिए मात्र बहुमत पुग्छ। 

यदि राप्रपा गठबन्धनमा आउन तयार नभए एमाले र माओवादी अथवा कांग्रेस र एमाले मिलेर मात्र सजिलै सरकार बन्छ। यही अवस्थामा एमालेले माओवादी भन्दा कांग्रेसको साथ चाहेको देखिन्छ।

केन्द्रीय राजनीतिको समीकरण भत्काउन पनि एमालेको जोड अहिले कांग्रेसमै छ। 

४० सांसद रहेको एमाले कोशीमा सबैभन्दा ठूलो दल हो। भने, २९ सांसद रहेको कांग्रेस दोस्रो ठूलो दल हो।

कार्कीको प्रस्ताव गठबन्धन तोड्ने प्रयास भएको गठबन्धनका नेताहरु बताउँछन्। 

कोशी प्रदेशमा मोओवादी केन्द्रका सांसद दुर्गा चापागाइँ एमालेले थापेको ढोक्सामा माछा नपर्ने बताउँछन्। 

‘कांग्रेससहितको अहिलेको गठबन्धन भत्किन सम्भव छैन,’ उनले नेपालखबरसँग भने, ‘एमाले अलि अगाडिदेखि कांग्रेसँग मिल्न खोजिरहेको छ तर, त्यसमा कांग्रेसले मान्दैन।’

कोशी प्रदेश कांग्रेस दलका प्रमुख सचेतक भुपेन्द्र राईले अहिलेसम्म त्यसरी कुरै नभएको बताए।

‘अहिले त्यो सम्भावना छैन, प्रचारबाजी गरेको कुराको कुनै अर्थ हुँदैन,’ राईले नेपालखबरसँग भने, ‘आधिकारिक प्रस्ताव आए छलफल हुनसक्छ।’

सबै प्रदेशमा गठबन्धन रहेकाले केन्द्रको गठबन्धनमा कुनै समस्या नआउने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .