नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आठौँपटक प्रतिनिधिसभा निर्वाचन भिड्दैछन्। २०४८ यता सबै चुनाव लडेका ओली २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने नेकपा (माओवादी)का विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। त्यसबाहेक सबै चुनाव उनले झापाबाटै जिते।
तर, यसपटक भने उनको जित त्यति सहज देखिँदैन। जनयुद्धबाट उदाएको माओवादीले ०६४ मा काउन्टर दिएजसरी नै गत भदौको जेनजी आन्दोलनपछि नागरिकबीच लोकप्रिय बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, त्यसमा पनि युवापुस्तामाझ लोकप्रिय काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र शाह उनलाई चुनौती दिन झापा झरेका छन्। जसकारण यसअघिका निर्वाचनमा जस्तो सहजता उनलाई देखिँदैन।
चार–चार पटक प्रधानमन्त्री बनेर देशको बागडोर सम्हालेका, आफ्नो इसारामा देशको राजनीति चलाएका ओली यसअघिका चुनावमा देशभरि डुल्थे। तर, यसपालि झापा–५ मा मात्रै उनी सक्रिय देखिन्छन्।
उमेरले सात दशक पार गरिसक्दा पनि उनको राजनीतिक सक्रियता, आत्मविश्वास र वाकपटुता कायम छ। चुनावी सरगर्मी र विपक्षीको कडा चुनौतीका बीच भावी राजनीतिका दिशाबारे झापा–५ स्थित निवासमा पत्नी राधिका शाक्यसँग फागुन १० गते वैवाहिक वर्षगाँठ मनाइरहेका ओलीसँग नेपालखबर ‘तत्कालै’:
आज (फागुन १० गते) वैवाहिक वर्षगाँठ, भोलि तपाईंको जन्मदिन। सामान्य तरिकाले सेलिब्रेसन गर्नुभयो। एकमुष्ट सेलिब्रेसन चुनावी परिणामपछि गर्ने मुडमा हुनुहुन्छ हो?
ठिक हो। आज त्यस्तो खास सेलिब्रेसनभन्दा पनि राधिका शाक्यले लेखेको एउटा पुस्तकको नयाँ संस्करण अलिकति संशोधनसहित प्रकाशन भएको छ। खास कार्यक्रम त्यसको लोकार्पण जस्तो थियो। त्यसमा स्वाभाविक रूपमा विवाह गरेको ३८ वर्ष पूरा भएको सन्दर्भ पनि आयो र त्यो पनि चर्चाको एउटा विषय बन्यो। त्यति मात्रै हो। जे होस्, यो एउटा सेलिब्रेसन नै हो, ३८ वर्ष पूरा भएको। राम्रै हो।
फागुन २१ गते चुनाव हुन्छ भन्नेमा एमालेभित्र गहिरो संशय थियो। तपाईंले अस्ति मात्रै पनि रास्वपा चुनाव बिथोल्नतिर लाग्यो भन्नुभयो। त्यसको आधार के छ? अब पनि चुनाव रोकिन सक्छ भन्ने लाग्छ?
त्यसकारण चुनाव हुन्छ नै भनेर यकिन गर्न सक्ने परिस्थिति देखिँदैन। जे पनि गर्ने खालका, जस्तोसुकै पनि क्रियाकलाप गर्ने त पृष्ठभूमि नै हो, त्यसैको क्रियाकलापबाट अगाडि बढेका, त्यही क्रियाकलापबाट जन्मिएका, झुटो बोल्नु, ठगठाग गर्नु, गरिबविरोधी काम गर्नु, विकासविरोधी काम गर्नु, सम्पत्ति ध्वस्त गर्ने विनाशकारी, विध्वंशकारी बाटो र गैरजिम्मेवार बाटो लिनु चरित्र नै भएको हुनाले के भन्न सकिन्छ र? अहिले पनि यकिन ढंगले चुनाव हुन्छ नै भनेर ठोकुवा गर्न सकिने अवस्था छैन। अब उहाँहरूले बिथोल्न खोजे पनि सायद चुनाव होला, चुनाव हुन्छ भन्ने लाग्छ।

चुनाव भयो भने एमालेको कति सिट आउँछ?
चुनाव भयो भने हामी सके मेजोरिटी। भरसक बहुमत नै आउन सक्छ। यदि आएन भने हामी उल्लेख्य सिट संख्याका साथ प्रमुख पार्टी हुन्छौँ– बिल्कुल ढुक्क।
झापा ५ मा केपी ओली र बालेन शाहमध्ये एक जना हार्ने नै हो। दुवै जना हार्न तयार हुनुहुन्न। कतिपय सुरक्षा निकायका अधिकारीहरू पनि के भन्छन् भने दुईमध्ये एक जना हार्दैछु भन्ने निष्कर्षमा पुग्नु भयो भने चुनाव बिथोलिन सक्छ। यो क्षेत्रका कारण चुनाव बिथोलिन्न भनेर कसरी आश्वस्त बनाउनु हुन्छ?
जित्ने एक जनाले हो। प्रधानमन्त्रीको क्यान्डिडेट २३ जना छन् यहाँ। मबाहेक २३ जना। प्रधानमन्त्री हुन्नँ भनेर कसम खाएको छ र अरु २३ जनाले? उनीहरू पनि त हुन पाए हुन्छन् नि त।
पहिलो कुरा, चुनाव हामी हार्दैनौँ। जोसुकैले जेसुकै गरोस्, हामी चुनाव हार्दैनौँ। हार्दै हार्दैनौँ। अब धाँधली नै गर्ने हो, बुथ क्याप्चर नै गर्ने हो अथवा अर्कै चिज गर्ने हो भने त्यसको सम्भावना पनि म देख्दिनँ। किनभने हामी चुप लागेर त बस्दैनौँ त, कडा प्रतिवाद गर्छौँ हामी। त्यस्ता कुरा त कसैले बाकसै साट्ने, मतदातालाई मत खसाउनै नदिने, मतदातालाई व्यवधान गर्ने अथवा बुथ कब्जा गर्ने जस्ता खालका क्रियाकलाप कसैले गर्न खोज्यो भने हामी त्यो हुनै दिँदैनौँ। चुनाव हुन दिँदैनौँ भनेको होइन, धाँधली हुन दिँदैनौँ।
पहिलापहिलाका चुनावमा तपाईं देशव्यापी भाषण गर्दै हिँडेर चुनावी माहोल ल्याउनु हुन्थ्यो। यसपालि पूरै झापा ५ मै केन्द्रित हुनुभयो। यसपालि चुनाव जित्न अलि गाह्रै भएर हो?
अब म दार्चुला र हुम्ला, मुगु र डोल्पा किन जानु पर्यो? त्यही मोबाइलबाट मान्छेले यो भिडिओ हेरिहाल्छ। तपाईंसँग गरेको कुरा त्यहाँबाट हेर्छ नि त। त्यसो भएर, जब घरै बसेर मान्छेले हेर्छ भने, म जे भन्नुपर्ने कुरा त्यहीँबाट पुर्याउन सक्छु भने। भोलि म यहाँ बोल्छु, त्यो कुरा लाइभै हुन्छ। बोलिराख्या हुन्छु, उसले सुनिराख्या हुन्छ। उहीँ किन जाने?
तर पहिले-पहिले जानुहुन्थ्यो, यसपटक निर्वाचन क्षेत्रमै बढी केन्द्रित हुनुपर्ने अवस्था किन आयो?
पहिलेपहिले सञ्चार माध्यमहरू यति व्यापक थिएनन्। कुनै कुरा सुनाउनका लागि हामी अन्तरपार्टी निर्देशन आदिका माध्यमबाट, पार्टी कमिटी, पार्टी कार्यकर्ताका माध्यमबाट जनताकहाँ कुरा पुर्याउँथ्यौँ। अहिले कार्यकर्तालाई भन्दाखेरि सँगसँगै आम जनतामा पुग्छ। सबै ठाउँका सबै मतदातामा पुग्छ। पक्ष–विपक्षमा सबै कहाँ पुग्छ।
फेरि म त नेपालमा मान्छेले अनुहार नदेखेको, जिल्ला नगएको, पहाडतिर जाँदा छक्क परेर पहाडमा हिँड्नुपर्ने, तराई झर्दा छक्क परेर तराईका फाँटहरू हेर्नुपर्ने मान्छे त होइन नि। तराईका फाँटसँग पनि परिचित छु। पहाडका उकाली ओरालीहरूसँग पनि परिचित छु। खोला, नाला, झरनाहरूसँग परिचित छु। फोक्सुन्डोदेखि, रारादेखि, फेवादेखि, बेगनास, रूपादेखि सबैसँग परिचित छु। खास्टे, मैदी, दिपाङ, यी सबै तालहरूसँग परिचित छु। कुभिन्डे तालसँग परिचित छु। घोडाघोडी तालसँग परिचित छु। त्यसै गरेर, मान्छेहरूसँग पनि परिचित छु। तसर्थ मैले गाडीको हुट खोलेर, अनुहार देखाएर चिनिनुपर्ने अवस्था छैन।
अर्को कुरो– एकपल्ट जाँदाखेरि म त मान्छेहरूसँग भेट्छु, कुराकानी गर्छु, हात मिलाउँछु। उनीहरूको सेवा सत्कार स्वीकार्छु। दाहिने हातले माला फ्याँकेर देब्रेतिर फर्केर सुइँसुइँ त हिँड्दिनँ त म। त्यसकारण मलाई त्यो परिचयका लागि पुगिरहनुपर्ने छैन।
अर्को, कुन जिल्लामा, कुन गाउँमा मैले विकास गरेको छैन? त्यसकारण ‘म के गर्छु’ भन्न पनि गइरहनु परेन। मान्छेलाई थाहा छ, ‘केपी ओलीका हातमा पर्यो कि त विकास गर्छ, विकास अगाडि बढाइहाल्छ। त्यो त मान्छेलाई थाहा छ नि त, सामाजिक क्षेत्रमा त्यस्तै सुधार गर्छ।

झापा ५ लाई त्यो अलि बढी थाहा हुनुपर्ने हो नि। तर तपाईं घरदैलोमै?
होइन, मलाई चार–चारपल्ट प्रधानमन्त्री बनाए, परराष्ट्रमन्त्री बनाए, गृहमन्त्री बनाए, विकास गर्ने मौका दिए, अन्तर्राष्ट्रिय मञ्चहरूमा जाने मौका दिए। यो ठाउँको विकास गर्ने मौका दिए। अनि अलि समयदेखि मैले यसरी भेटघाट गर्न अलि पाएको थिइनँ। त्यसकारण मैले अलिकति यसपल्ट भेटघाट गरेको हुँ।
मनोनयन दर्ता गरेलगत्तैको अवस्थामा तपाईं अलि दबाबमा हुनुहुन्छ जस्तो देखिनु हुन्थ्यो। अब कस्तो छ झापा–५ को अवस्था? बालेन शाहकोमा भिड देखिन्थ्यो!
एक हजार मान्छे उहाँहरूको थियो, दुई–तीन हजार मान्छे बाटाको छेउमा हाम्रै उभिएका थिए। किनभने हामी पनि मनोनयनमा जाने तयारी गरिराख्या थियौँ त्यहीँ। त्यही ठाउँमा हाम्रा पनि मान्छे थिए। त्यसकारण त्यो त हाम्रा समेत मान्छे देखिए, अरु पनि पार्टीकाहरू मनोनयन गर्न जाँदै थिए। उनीहरूले पनि अरुलाई जम्मा गर्या थिए। ती मान्छे देखिए। पछि आफ्नो आफ्नो मनोनयन गर्न मान्छे त गए, आफ्नाआफ्ना पार्टीका फिर्ता गए। उनीहरूको सुरुमै थियो। त्यसकारण उनीहरूको समयमा सबैका मान्छेहरू त्यहाँ जम्मा भएको अलिकति देखियो। अहिले त्यो छैन।
त्यो भिड घट्दै छ भन्न खोज्नुभएको?
घट्दै छ होइन नि, सिद्धिसक्यो।
एमालेकै कतिपय नेताहरू चाहिँ ‘बालेन झापा आएका होइनन्, ल्याइएका हुन्’ भन्दै हुनुहुन्छ। तपाईंले पनि कतिपटक भन्नुभएको जस्तो लाग्छ।
आफैँ त कसरी यस्तो परिणति बेहोर्ने ठाउँमा? आफैँ त कसरी आए होला त? यो ठाउँमै आउनु पर्दैनथ्यो। हाम्रो पार्टीको कार्यकर्तासँग कतै पनि भिडे काफी हुन्थ्यो। ठिक लाइहाल्थे नि। काठमाडौँमै किन नलड्या?
हार्दा पनि तपाईंसँगै हार्दा मजा, जित्दा पनि तपाईंलाई जित्दा मजा भन्ने छ उहाँको।
जित्ने त कुरै नगरौँ न। उनीहरूले जित्ने कुरा त नगरौँ। हाइपोथेटिकल पनि हुँदै हुँदैन। हामीले मात्र जित्ने कुरा हुन्छ। रियालिटीमा भन्नुस् कि हाइपोथेसिसमा, जे भन्नुस्।
किन आए होलान् त, कसले पठायो होला? अरुले ल्याएको हुन् भन्ने त धेरै पटक आयो?
त्यो चाहिँ म जान्दिनँ। तर के भने, काठमाडौँ महानगरबाट राजीनामा गराइदियो। १४–१५ महिना, १६ महिना त बाँकी थियो। त्यसबाट राजीनामा गराइदियो। यतातिर अब यस्तो भुङ्ग्रोमा हाल्दियो, जहाँबाट उम्किन सम्भवै छैन।
०६४ सालको दृश्य फेरि झापा ५ मा दोहोरिँदैन भनेर कसरी आश्वस्त हुने? हार त हुँदो रहेछ नि जिन्दगीमा?
कहिलेकहिले हुन सक्छ। मैले ०६४ मा हारेको थिइनँ भन्न खोज्या होइन, अहिले नहार्ने पो भनिराख्या छु त म। ०६४ मा हारिएको पनि थियो। अहिले जुन कुराको सम्भावनै छैन, त्यो कुराको चर्चा किन गर्ने र?
तपाईंले हारको दबाब महसुस भयो भने अन्य रणनीति पनि अपनाउन सक्नुहुन्छ भन्ने अनुमान छ। जस्तो देउवा निकट कांग्रेस, राप्रपा लगायतका दलहरूसँग गठबन्धन गरेर भए पनि तपाईंले चुनाव जितेरै छाड्नुहुन्छ भन्ने खालको गसिपिङ छ, यो क्षेत्रमा हामी घुम्दै गर्दाखेरि हामीले सुनेको।
त्यो मान्छेले बुझेको हो।
बुझेकै हो? त्यस्तो हुन सक्छ? अझै सहकार्यको सम्भावना छ?
अँ, हुन सक्छ। किनभने अहिले हामीले भनेका छौँ– देश जलाउने र देश बनाउने बीचको यो जनमत संग्रह हो, यो लडाइँ हो। त्यसकारण जलाउने बाहेक अरु पार्टीहरूले त आवश्यक पर्दा मलाई जिताउनका लागि भोट हालिहाल्नुहुन्छ। किनभने यो देशको माया छ नि मान्छेलाई। कुनै–कुनैलाई लागेन, कसैलाई भन्दैमा सबैलाई नलाग्ने त होइन नि। यो देशको माया छ मान्छेलाई, लोकतन्त्रको माया छ।

हप्ता दस दिन अघिसम्म पनि प्रचण्डसँग तपाईंको भेट भइरहेको थियो। एमाले र नेकपाबीच चुनावी गठबन्धन वा सहकार्यको म्भावना अझै छ? १६५ क्षेत्रमा नभए पनि केही क्षेत्रमा सहकार्य हुने सम्भावना छ, हैन?
त्यो जरुरी पर्यो भने न हो।
हुन सक्छ कि सक्दैन?
किन नसक्नु? यो त चुनावको कुरा हो। तर हामी व्यापक राष्ट्रियस्तरमै चुनावी तालमेल गरेर त्यस्तो गर्दैनौँ। अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धन थियो नि, त्यस्तो हामी गर्दैनौँ। कुनै–कुनै ठाउँमा जरुरी पर्यो भनेदेखि भोट खसाइदिने र बेठिक तत्वहरूलाई आउन नपाऊन् भन्ने कुरामा ध्यान दिने हो। यसको अर्थ आम रूपमा रास्वपालाई घेराबन्दी गर्ने, सबै मिलेर चाहिँ के गर्ने भन्दैनौँ हामी।
झापामा राप्रपा र एमालेबीच चुनावी तालमेल भइरहेको थियो। यो पटक किन भएन?
औपचारिक हिसाबले आवश्यक ठानिएन, गरिएन।
अनौपचारिक हिसाबले हुन पनि सक्ने भयो?
कुनै पनि हिसाबले हुन सक्ने सम्भावनाहरू मैले अघि नै भनेँ नि। आगो लगाउने र देश बचाउनेका बीचमा, बनाउनेका बीचमा जनमत संग्रह हो यो। त्यसैगरी सबै दलले लिन्छन्।
भदौ २३–२४ बारे धेरै ठाउँमा तपाईं बोलिसक्नुभएको छ। तर अझै पनि एमाले र तपाईं सबैको तारो भइराख्नुभएको छ। आत्मालोचना गर्नुपर्दा के कारणले यस्तो अवस्था सिर्जना भयो होला भन्ने लाग्छ? आफैँले आफ्ना कमजोरी केलाउँदा ३ कमजोरी बताउन सक्नुहुन्छ?
म प्रधानमन्त्री पदमा हुनु गल्ती हो? अरु त केही गरेकै छैन। प्रधानमन्त्री पदमा हुने बाहेक मैले गोली चलाएको हो र? गोली चलाउने आदेश दिएको हो र? देश जलाउने षड्यन्त्र थियो, त्यो षड्यन्त्रका लागि वातावरण बनाउन युवाहरूलाई घेरेर लगेर त्यहाँ अगाडि सारिएको थियो। उपद्रवकारीहरू मारिएका थिएनन्, पर्खाल भत्काउने मारिएका थिएनन्। तिनीहरू बाहिरै सुरक्षित बस्या थिए। विद्यार्थी कसरी मारिए? युवा कसरी मारिए? कतिबेर गोली चलाए, कसले गोली चलायो म जान्दिनँ। मानिलिऊँ पुलिसले चलायो, पुलिसले चलायो भने पनि स्ट्यान्डिङ अर्डर हुन्छ। त्यसअन्तर्गत परिस्थिति हेरेर आपतको परिस्थितिमा पुलिसले गोली चलाउँछ। त्यो स्वाभाविक हो। ठिक छ, यो विषयमा आयोगको प्रतिवेदन आउला, थप त्यसपछि पनि कुराकानी होला।
रास्वपाले तपाईंहरूलाई संसदमा प्रतिपक्षका रूपमा पनि आउन नदिने भन्दैछ। यसपालि निर्वाचन परिणाम कस्तो आउने आकलन गर्नु भएको छ? एमालेले कति सिट जित्ने आकलन छ?
उम्मेदवार त सडकमा खोजेर हात उठाएर दिनु परिराख्या छ उनीहरूलाई। संगठन मान्छे खोजेर बनाउनु परेको छ। संगठन बनेको छैन। अनि मरिगएस् भनेर धारे हात लाएर सराप्दा मर्छ होला? त्यो त सराप्नेलाई मात्रै मैले यति भनेँ भन्ने सन्तोष हुने हो। झिँगाको सरापले डिँगा मर्दैन भन्ने नेपाली भनाइ छ। कुन झिँगाले सराप्यो भन्ने कुरा त्यो भैँसीले थाहा पनि पाउँदैन।

विश्लेषकहरू के भन्दैछन् भने यसपालिको चुनावमा एमालेले इतिहासमै ठूलो क्षति ब्यहोर्दै छ। नेतृत्वको हिसाबले त्यसो भएमा तपाईंको कदम के हुन्छ?
ती विश्लेषक पहिले उनीहरूलाई चाहिएको निष्कर्ष निकाल्छन्। चाहिएको निष्कर्ष निकाल्छन्, अनि विश्लेषण गरिटोपल्छन्। ती हावा विश्लेषकहरू हुन्।
हुन त तपाईंलाई यस्तो हाइपोथेटिकल प्रश्न खासै मन पर्दैन, तैपनि यदि त्यस्तो भइहाल्यो भने चाहिँ एमालेले कुन कदम चाल्छ भनेर सोध्न खोजेको मैले।
हुँदै नहुने कुरा नि। एउटा ४ जीपीए ल्याउने विद्यार्थीलाई तपाईं एसईईमा फेल हुनुभयो भने के गर्नुहुन्छ भनेर सोध्दा रिस मात्रै उठ्छ क्या। सोधी हेर्नुस् त के जवाफ दिन्छ त्यो विद्यार्थीले? वाइयात प्रश्न भन्छ क्या। यो पनि त्यस्तै भयो।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भनिरहनुभएको छ– यो चुनावी परिणाम जसको पक्षमा आए पनि, यदि कुनै दलले समानुपातिक र प्रत्यक्ष दुवैमा पहिलो भयो भने उसलाई नै पाँच वर्ष स्थिर सरकार चलाउन दिनुपर्छ। उपसभापतिको अभिव्यक्तिलाई कांग्रेसकै धारणा मान्दा यसबारे तपाईंको धारणा के छ?
त्यस्तो हुनेवाला छैन। तैपनि यो यदि यथार्थमा आधारित भएर गरिएको अभिव्यक्ति हो भने जायज हो। एमालेले नै नेतृत्व गर्नुपर्छ त्यस अवस्थामा। अरु देशभक्त, लोकतान्त्रिक र प्रगतिवादी शक्तिहरूलाई मिलाएर सरकार बनाउँछ एमालेले। यदि रियालिटीमा बोल्न खोज्नुभएको हो भने। होइन र रास्वपाले बहुमत ल्याउँछ भन्ने त स्वैरकल्पना।
कांग्रेस त दोस्रो पार्टी हुन्छ होला जस्तो मान्छु म।
विश्वप्रकाश शर्मालेले हामी नै पहिलो हुन्छौँ भनेर भन्नुभएको होला नि!
त्यही त, सैद्धान्तिक तवरमा उहाँले भनेको कुरो यदि यथार्थ विश्लेषणमा आधारित छ भने सही छ। यदि नेपाली कांग्रेस प्रमुख पार्टी हुन्छ भने पनि सही नै हो। त्यस्तो पनि हुन सक्छ। त्यो सम्भावना त त्यति लाग्दैन तैपनि... त्यस्तो हुन सक्ने भयो। जे होस् पहिलो दल जो हुन्छ, उसलाई पाँच वर्ष सरकार बनाउन दिने, स्थिर सरकारका लागि पाँच वर्ष चलाउन दिन सक्ने भयो।
एउटै पार्टीले पाँच वर्ष चलाउँदैन, अझ त्यसमा पनि घृणाको राजनीति, अस्वस्थता यस्तो फैलाएका बेला। र, मान्छेलाई हावा भरेपछि प्रधानमन्त्रीको क्यान्डिडेट हुँ भन्ने, ५ नम्बर क्षेत्रमा चुनाव लड्न आउने बुद्धिले गाह्रो छ। केही भन्नै परेन नि।
भिडिओ:
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया