अन्तर्वार्ता


नयाँ कांग्रेसले भदौ २३ र २४ होइन, भदौ २५ को प्रतिनिधित्व गर्छ : गगन थापा (भिडिओ वार्ता)

‘म एक्लैले मधेसमा वेभ ल्याउने होइन, तीन वटा टिमले सर्लाही-४ को अध्ययन गरिरहेको छ’
नयाँ कांग्रेसले भदौ २३ र २४ होइन, भदौ २५ को प्रतिनिधित्व गर्छ : गगन थापा (भिडिओ वार्ता)

सर्लाही-४ मा नेपालखबरको ‘इलेक्सन एक्सप्रेस’ टिमसँग कुराकानी गर्दै गगन थापा। भिडिओ/तस्बिर : सरोज नेपाल


लोकेन्द्र भट्ट
माघ १३, २०८२ मंगलबार १४:२३, धनकौल, सर्लाही

पुस अन्तिम र माघ पहिलो साता निकै छोटो समयमा नेपाली कांग्रेस पार्टी ठूलो परिवर्तनबाट अगाडि बढ्यो। यस्तो तीब्र परिवर्तन, जसले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन नै हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा गर्‍यो। निकै गहिरो तर छोटो संशयबीच कांग्रेसले आफ्नो बाटो पक्रियो, र अन्ततः निर्वाचन कार्यतालिकामाथि लागेको बादल हट्यो। 

त्यो परिवर्तनको नेतृत्व गर्दै गगन थापा नेपाली कांग्रेसको सभापति बने विशेष महाधिवेशनबाट। कांग्रेसको नेतृत्व लिएसँगै थापाले एकै दिनमा १६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फका उम्मेदवारलाई टिकट बाँडे, अनि आफू पहिलेको क्षेत्र काठमाडौँ-४ छोडेर सर्लाही-४ झरे। 

माघ १२ मा नयाँ निर्वाचन क्षेत्र सर्लाही-४ आइपुगेका थापाले चुनावी अभियान कसरी हाँकिरहेका छन् त? अनि, बदलिएको अवस्थामा कांग्रेसको कमान्ड कसरी सम्हालिरहेका छन्? के कांग्रेसले यो चुनाव जित्दै छ? नेपालखबर इलेक्सन एक्सप्रेस टिमले गगन थापासँग सर्लाहीको धनकौलमा सोमबार राति गरेको भिडिओ वार्ता :

काठमाडौँ क्षेत्र नम्बर ४ मा तीन पटक सानदार ढंगले चुनाव जित्नुभयो। नेपाली कांग्रेसको सभापति बनेपछि भावी प्रधानमन्त्रीका रूपमा अगाडि सर्दै गर्दा किन सर्लाही-४ रोज्नुभयो?
काठमाडौँमा दुई पटक विजयी भइसकेपछि गएको निर्वाचनको बेलामा पनि काठमाडौँभन्दा बाहिरबाट निर्वाचन लड्नुपर्छ भन्ने सोचाइ आएको थियो। त्यहाँबाट मैले प्रतिनिधित्व गरेर सिक्ने कुरा सिकेँ, मान्छे पनि फेरिनु पर्छ। एउटै मान्छे लामो समय बस्नु हुन्न भन्ने हिसाबले अघिल्लो पटक पनि यो सोचाइ आएको थियो। छलफल पनि भएको थियो। तर, अलिकति मैले पनि आँट गर्न सकिनँ। परिस्थिति पनि थोरै मिलेन। 

क्षेत्रको साथीहरूले पनि धेरै कुरा अगाडि बढ्न दिनु भएन। त्यो बेलामा पनि काठमाडौँबाहिर कहाँ जाने भन्दा सर्लाही-४ बाट तपाईं लड्न आइदिनुस भनेर साथीहरूले भनेको अवस्था थियो।

यो पटक अब ०८२ मा चुनाव हुन्छ भन्ने छँदै थिएन। ०८४ मा निर्वाचन हुन्छ भनेर ०८३ मा हुने पार्टीको महाधिवेशनमा ध्यान थियो। चुनाव कहाँ लड्ने, के लड्ने भन्ने त सोचाइ नै थिएन। बीचमा एकैचोटि यस्तो स्थिति आयो। पार्टीको सभापतिको जिम्मेवारी पनि आयो। काठमाडौँबाहिर लड्ने भन्ने सोच त मेरो मनमा छँदै थियो। अघिल्लो वर्ष हुलाकी राजमार्गको यात्रा गरिसकेपछाडि एकचोटि मधेस आउँछु, मधेसबाट लड्छु भन्ने मनमा गडिसकेको थियो। सबै कुरा मिल्यो। 

काठमाडौँ ४ मेरो लागि यसपालि अहिलेसम्मको निर्वाचनमध्ये सबैभन्दा सजिलो हुने अवस्था थियो। मलाई मत हाल्दै आउनु भएको अर्का पार्टीका साथीहरू पनि पार्टीमा हस्तक्षेप गरेन भनेर मसँग रिसाउनु भएको थियो। तर, पार्टीको विशेष महाधिवेशन भएपछि उहाँहरू पनि एकदम खुसी हुनुहुन्थ्यो। त्यसैले त्यहाँका साथीहरूले स्वाभाविक रूपमा क्षेत्र नम्बर ४ किन छाड्ने भन्नुभयो। तर, मैले मधेस जान्छु भन्ने मन बनाइसकेको थिएँ। 

अर्को, ३२ निर्वाचन क्षेत्र भएको मधेस हाम्रो पार्टीको आधार क्षेत्र हो। मधेसमा कांग्रेस रिभाइभ गर्‍यो भने हामी देशैभरि रिभाइभ गर्नसक्छौंँ। 

त्यसैले, कुनै एउटा कारणले मात्र होइन, सबै कारणले गर्दा म मधेस आउने कुरा भयो। मधेस आउँदै गर्दा मसँग दुई तीन वटा विकल्प थिए। मसँग पर्सा, सिरहा, रौतहट मात्र होइन, पश्चिम मधेसको कपिलवस्तु जाने विकल्प पनि थियो। तर, अघिल्लो पटक नै सर्लाही ४ भनेर यहाँको साथीहरूले भन्नु भएकोले सर्लाही ४ आउने निष्कर्षमा पुगेको हुँ।

सर्लाही ४ का मतदाता पनि आफैँमा एक तहको विद्रोही जस्ता छन्। अघिल्लो पटक कांग्रेसबाटै विद्रोह गरेका अमरेश सिंहलाई चुनाव जिताइदिए। शिवपुजन यादवको परिवारका सदस्य चुनाव लड्दा सम्मानजनक मत पाइराखेको देखिन्छ। यहाँ कत्तिको जोखिम देख्नुहुन्छ? यहाँका नेता-कार्यकर्तासँग भेटघाट गरेपछि के पाउनुभयो यहाँको अवस्था?
मैले विद्यालय संगठन हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्य, सचिव, सभापति र नेपाल विद्यार्थी संघमा विभिन्न जिम्मेवारीहरूमा निर्वाचन लडेँ। अहिलेसम्म लडेका चुनावमध्ये पार्टीको १३ औँ अधिवेशनमा नेपाली कांग्रेस महामन्त्रीको प्रतिस्पर्धी हुँदा मात्र सफलता प्राप्त गर्न सकिनँ। त्यो भन्दा बाहेक अहिलेसम्मको निर्वाचनमा सफलता प्राप्त गरेको छु। तर, आजसम्म कुनै पनि निर्वाचनमा जोखिम छैन, ढुक्क छु भन्ने कहिले पनि लागेन। 

त्रिचन्द्र कलेजको स्ववियु सचिवको उम्मेदवार थिएँ। मेरो २ हजार सेरोफेरोको मत थियो, मेरो प्रतिस्पर्धीको २ सय मत आएको थियो। तर, पनि त्यो निर्वाचनमा मैले बेजोड मेहनत गरेको थिएँ। मलाई सबै साथीहरूले निर्वाचनमा यत्रो मेहनत गर्नु पर्दैन, तपाईंको प्रतिस्पर्धी नै छैनन् भन्नुहुन्थ्यो। तर, मलाई लाग्छ- निर्वाचनमा जोखिम नदेख्नु भनेको मतदातालाई हेप्नु हो। 

सर्लाही ४ मा हाम्रा केही सबल पक्षहरू छन्। यो कांग्रेसको एकदमै पुरानो ठाउँ हो। कांग्रेसलाई असाध्यै माया गरेको ठाउँ पनि हो। तपाईंले भनेको जस्तो जुनजुन पार्टीमा जोजो साथीहरू हुनुहुन्छ, उहाँहरू सबै कुनै बेलामा कांग्रेसबाटै जानुभएको हो। यहाँ कांग्रेसको जरा फैलिएको छ। बीचमा कांग्रेससँग रिसाउने विभिन्न कारणहरू भए। सर्लाही क्षेत्र नम्बर ४ को पार्टीका साथीहरू र मतदाताले बुझ्नु पर्ने कुरा म निर्वाचन क्षेत्र कतै नपाएर यहाँ आएको होइन। घुम्दैघुम्दै आएको पनि होइन। एकै पटक मधेससँग मेरो एकदम प्रेम छ, मधेससँग मेरो सम्बन्ध छ भनेर पनि आएको होइन। 

मैले लामो समयदेखि काठमाडौँबाहिर जाँदा मधेसबाटै प्रतिस्पर्धा गर्छु भन्ने थियो। प्रतिस्पर्धा गर्ने भनेको त्यो ठाउँमा आफूलाई समर्पित गर्ने पनि हो। पहिला सर्लाही क्षेत्र नम्बर ४ मा आउँदै गर्दा मैले यहाँको ठाउँ, भूगोल, माटो, घर र खेती सबैलाई हेर्नै पर्दैन भन्ने थियो। बाहिरबाट आएँ, यसो हेरेँ। पर्यटकजस्तो यसो हेरेर अब्जर्भ गरेर गएँ। तर, अब आज यहाँ आउँदै गर्दा भेटेको मान्छेको नाम सकेसम्म कण्ठ गर्नुपर्छ। अर्को पटक भेट्दा नामले बोलाउनु पर्छ। उसलाई मैले चिन्नुपर्छ।

अब मैले यहाँको पालिकामा कुन वडाको भूगोल कहा छ? के छ? चुनाव लड्ने भनेको त त्यो ठाउँसँग, यहाँको नागरिकसँग आफूलाई समर्पित गर्ने हो। त्यसैले मैले सबै सोचेर आएकोले एकदम जोखिम छ, मलाई थाहा छ। तर, जोखिमको बीचमा पनि मलाई यहाँको नागरिकहरू र मतदाताले स्नेह गर्नुहुन्छ भन्ने कुरामा मेरो विश्वास छ। 

सर्लाही ४ मा आज हामी नेपालखबरको टिम घुम्दा किसानका दुःख सबैभन्दा बढी देख्यौँ। शिक्षा र स्वास्थ्यको समस्या धेरै देखिन्छ। यी विषयलाई सम्बोधन गर्न कस्ता योजना छन्?
हुलाकी राजमार्गमा आउनुभन्दा पहिला त्यहाँको सेरोफेरोमा के कस्ता मुद्दा छन् भनेर हाम्रो एउटा टिम आयो। त्यसपछि हामी आयौँ। त्यहाँ मैले अन्तर्क्रिया गरेको थिएँ। त्यसपछाडि हामीले छलफल गर्‍यौँ। मैले संसद् र पार्टीका फोरमहरूमा ती विषयहरू उठाउँदै आएँ। मेरो लागि त नयाँ एउटा ज्ञान, अनुभव भयो। अहिले पार्टीको घोषणापत्र बनाउँदा पनि त्यो कुराले मलाई मद्दत गरिरहेको छ। त्यो एउटा आधार भयो। 

तर फेरि ठाउँविशेष मुद्दा हुन्छन्। सर्लाही उत्तरतिर बस्ती, समुदायभित्रको शिक्षा, स्वास्थ्य, अवसरको पहुँच एउटा खालको छ, दक्षिणतिर अर्को खालको। जिल्ला एउटै भए पनि यहाँभित्र विविधता छ। विभिन्न जाति समुदायका आफ्नै प्राथमिकताहरू छन्। संस्कृतिहरू छन। समस्याहरू पनि छन्। यो बीचमा हेर्नु पर्नेछ। त्यसैले मैले यो ठाउँको प्रतिनिधित्व गर्छु भनिसकेपछि छिपछिपे ज्ञानले मात्र हुँदैन। मलाई गहिरो ज्ञान चाहिन्छ। सांसद हुँदा मैले बनाएको टिमले यहाँको सबै विषयको अध्ययन गरिरहेको छ। शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइमा काम गरेको मेरो तीन वटा टिमले यहाँ अध्ययन गरिरहेको छ। मसँग प्रोजेक्ट गभर्मेन्टमा लामो समय काम गरिहेको साथीहरू मैदानमा हुनुहुन्छ। अब उहाँहरूले केही दिन लगाएर प्राप्त जानकारीका आधारमा बुकलेट बनाउँछौँ। 

मधेसको सार्वजनिक शिक्षा एकदम बर्बाद छ। शिक्षकहरूको एकदम न्यून उपस्थिति छ। शिक्षक-विद्यार्थी अनुपातको हिसाबले हेर्‍यो भने पनि सहरका विद्यालयहरूको भन्दा पनि कन्तबिजोग छ। गणित र विज्ञानको सिकाइ एकदमै कमजोर छ। ड्रपआउट रेट एकदम उच्च छ। तर, सर्लाही ४ को ठ्याक्कै अवस्था के छ? कतिवटा विद्यालय छन्? कहाँ उपस्थिति बढी छ? कहाँ कम छ? तथ्यांक लिने काम हुँदैछ। स्वास्थ्यको कुराकानी गर्‍यो भने सामान्य सेवा लिन पनि एकैचोटि जनकपुर, वीरगन्ज, विराटनगर र काठमाडौँ जानुपर्ने अवस्था छ। सर्लाहीभित्र स्वास्थ्यको पहुँच राम्रो छैन। महिला स्वास्थ्यको अवस्था, प्रजनन स्वास्थ्यको अवस्था एकदमै गाह्रो छ। अब सर्लाही ४ मा कुन समुदायमा स्वास्थ्यको के समस्या छ, महिलामा बढी छ कि पुरुषमा बढी छ? कसको अवस्था के छ? यो सबै कुराको डेटा म स्पेसिफिक रूपमा हेर्छु।

मतदातामाझ नेताले दिएको आश्वासन विरलै कार्यान्वयन हुन्छ। अहिले तपाईंले सर्लाही ४ र मधेसमा जे खालको समस्या देखाउनुभयो, त्यसको समाधान तपाईंकै पालामा सम्भव होला?
बोल्ने कुराले मात्र त बन्दै बन्दैन। मसँग मेरो ठाउँको पनि गुनासो नभएको होइन। किनकि मैले सबै कुरा गर्न सक्दिनँ। सांसदको दुई वटा भूमिका छ। एउटा, विधायकका रूपमा संसद्मा गएर कानुन निर्माणमा खेल्ने भूमिका भयो। मुख्य भूमिका त त्यो हो। तर, नेपालको सन्दर्भमा त्यो भूगोलमा भएको नागरिकले आफ्नो जनप्रतिनिधिबाट विकास निर्माण लगायतका थुप्रै कुराहरूमा सहभागिता र नेतृत्व खोज्छ। 

यसका लागि मैले सांसदको व्यवस्थित कार्यालय स्थापना गरेर काम गरिाखेको छु। सांसदको कार्यालयमा मेरो प्रमुख कार्यकारी अधिकृत हुन्छ। प्रमुख कार्यकारी अधिकृत बाहेक बाँकी सबै मेरा स्वयंसेवक हुन्छन्। किनकि स्रोतको कुरा पनि हुन्छ। कस्तो आनन्द हुन्छ भने त्यही क्षेत्रकै युवाहरू स्वयंसेवी काम गर्न आउनुुहुन्छ। उहाँँहरूले एकदम धेरै सिक्ने कुरा हुन्छ। जस्तो मैले काठमाडौँमा मेरो क्षेत्रमा मानव स्वास्थ्य भनेर स्वास्थ्यको अभियान चलाउँछु। काम गरेर आएको अनुभव र टिम भएकाले यहाँ पनि काम गर्छु। मैले तीन वटा भूमिकामा रहेर काम गर्छु। एउटा म कांग्रेस सभापति छु। म नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवार पनि हुँ। नेपाली कांग्रेस पार्टीले भोलि जिम्मेवारी प्राप्त गर्दै गर्दा त्यो जिम्मेवारी मैले निर्वाह गर्नुपर्ने छ। त्यो तहबाट मैले सर्लाही ४ को र मधेसको समस्या र मुद्दालाई हेर्ने हो। 

अर्को, म २०६२-६३ आन्दोलनको अभियन्ता हुँ। यो परिवर्तनको आन्दोलनमा समाहित भएको पात्र हुँ। यसैले मलाई मधेसको मुद्दा थाहा छ। खासगरी यहाँको राजनीतिक मुद्दा थाहा छ। मधेसले अहिले पनि जुन विभेदको महसुस गरेको छ, यत्तिका परिवर्तनपछि पनि। त्यो किन गरेको छ? के कारणले गर्दा गरेको छ? यो कुरा म महसुस गर्न सक्छु भन्ने लाग्छ। त्यसैले मेरो दोस्रो जिम्मेवारी भनेको मधेसले प्राप्त गरेको हक अधिकारलाई स्थापित गराउने कुरा हो। 

तेस्रो कुरा भनेको सांसदका रूपमा यो निर्वाचन क्षेत्रको विषय हेर्ने हो। मैले यहाँको शिक्षा र स्वास्थ्यलाई अर्को तहमा पुर्‍याउने गरी काम गर्ने हो। कृषिमा सर्लाही ४ लाई कुनै बेला मिनी पन्जाब भनिन्थ्यो भनेर साथीहरूले भन्नुहुन्थ्यो। तर, यति सबै कुरा हुँदै गर्दा पनि समस्या किन छ? सर्लाहीबाट २० हजारभन्दा बढी मानिसहरूले श्रम स्वीकृति लिएर विदेश गएका छन्। अब तिनको डेटा निकालेर ४ नम्बरबाट कोको गएका छन्? कहाँकहाँ गएका छन्? ती कस्तो अवस्थामा छन्? तिनीहरूमाथि कुनै खालको अप्ठ्यारो छ कि भनेर मैले हेर्नु पर्नेछ। 

त्यसैले सांसदको हिसाबले आफ्नो निर्वाचन क्षेत्रमा काम गर्ने मेरो स्टाइल फरक छ। काठमाडौँमा त्यो कुराको भ्यालु कम भयो होला। पक्कै पनि कम हुन्थ्यो। किनभने काठमाडौँमा धेरै मानिसहरूलाई त्यो आवश्यक पर्दैन थियो।

काठमाडौँ ४ मा काम गर्दा सहज थियो। तपाईंको उपस्थिति पनि सजिलै हुन्थ्यो। सर्लाही ४ मा त त्यस्तो सम्भव नहोला नि?
त्यसलाई व्यवस्थापन गर्छु। मैले निश्चित रुपमा बढी मेहनत गर्नुपर्छ। नियमित आफ्नो निर्वाचन क्षेत्रमा उपलब्ध हुनुपर्‍यो। म सांसद कार्यालयबाट काम गर्छु।

विद्यार्थी भएर घुम्न जाँदा बेलायतमा पार्लियामेन्ट मेम्बरको उसको क्षेत्रमा एउटा अफिस देखेको थिएँ। त्यसको आधारमा मैले पहिलो पटक सांसदको कार्यालय बनाएर काम सुरु गरेको हुँ। सांसदको अफिसमा हप्तैभरि मान्छेहरूले आएर काम टिपाउँछन्, अपोइन्टमेन्ट लिन्छन्, सबै कुरा गर्छ। अनि सांसद हप्तामा एकपटक आउँछ। उसको सबै कुरा त्यहाँको टिमले गरिदिएको हुन्छ। थोरै समयको प्रभावकारी प्रयोगबाट नागरिकको काम मजाले गर्न सकिन्छ।

मधेस आन्दोलनपछि मुर्झाएको कांग्रेसलाई जागृत तुल्याउने उदेश्य राखेर यहाँबाट उम्मेदवार बन्नुभएको छ। काठमाडौँमा उदाएको नेता एकै पटक यहाँ आउँदा मधेसमा कांग्रेसको वेभ आउला? 
यहाँ वेभ मैले ल्याएर आउने होइन। त्यसरी पनि विश्वास गर्दिनँ। यो त सामूहिक बलको कुरा हो। नेपाली कांग्रेसलाई मधेसले औधी माया गरेको थियो। यदि मधेसलाई एउटा व्यक्ति भन्ने ठान्ने हो भने मधेसले ‘म यसलाई औधी माया गर्छु। तर, मैले माया गरेको जति उसले किन माया गर्दैन’ भनेर कांग्रेससँग चित्त दुखाउँदो होला, गुनासो गर्दो होला।

यस पटक हामीले ‘तिमीले हामीलाई जति माया गरेका छौ, त्यति नै माया हामी पनि गर्छौं है’ भनेर मेरो उम्मेदवारीले व्यक्त गरेको हो। अब यसलाई मधेसले कसरी लिन्छ, यो त हेर्नै बाँकी छ। तर, कम्तीमा हाम्रो पार्टीको तर्फबाट हामी के एक्सप्रेस गरौँ भने म पार्टीको सभापति हुँ, म आज पार्टीको सभापतिको रूपमा आफै जानेर बुझेर सर्लाही ४ आएको छु। त्यो भनेको चाहिँ मधेसप्रतिको हाम्रो एउटा विश्वास, एउटा भरोसा हो। हामी पनि त्यत्तिकै माया गर्छौं भन्ने कुरालाई अभिव्यक्त गर्न आएँ।

मधेस प्रदेशका ८ जिल्लामध्ये आज मात्रै तपाईंले तीन वटा जिल्लाका नेता, कार्यकर्ता र मतदाता भेटेर सिमराबाट सर्लाही आइपुग्नुभयो। कांग्रेसबाट प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको गगन थापालाई मतदाता वा पार्टी कार्यकर्ताले गरिरहेको स्वागतबाट तपाईंले कस्तो अनुभूति गरिरहनुभएको छ?
पहिलो त, धेरै मतदाताबीच पुग्न सकेको छैन। तर, हाम्रो संगठन तल्लो तहसम्म मोबिलाइज भएको पाएँ। आज पर्सामा चारै जना उम्मेदवारहरू आउनु भएको थियो। सिमरामा पनि बाराका चारै जनासँग भेट थियो। त्यहाँ रौतहटको पनि तीन जना उम्मेदवारसँग भेटघाट भयो। साथीहरू कार्यक्रममा सहभागी पनि हुनुभयो। उम्मेदवारसँग आउनु भएको पार्टीका सबै साथीहरूले न्यानो स्वागत गर्नुभयो। केही अस्ति टिकट वितरणमा अलिकति रिसाउनु भएको थियो। तर, उहाँहरू पनि सबै जना आउनु भएको थियो। सबै सहभागी हुनुभएको छ। मुख्यमन्त्री लगायत अरु साथीहरू पनि यहाँ सँगै हुनुहुन्थ्यो। केही साथीहरूलाई मैले भोलि बोलाएको छु। यहाँ बस्दै गर्दा म समयको उपयोग त्यसरी गर्छु। आफ्नो क्षेत्रमा जान्छु। क्षेत्रको मतदाता भेट्छु। नागरिक भेट्छु।

पहिले पार्टीका कार्यकर्ताहरूलाई मलाई जिम्मेवारी दिनुस्, कांग्रेस कस्तो बनाउनुपर्छ र कसरी न्याय गर्नुपर्छ भनेर म देखाउँछु भन्नुभएको थियो। यो पटक कांग्रेसका बहुसंख्यक नेता कार्यकर्ताले तपाईंलाई जिम्मेवारी सुम्पिए। टिकट वितरणमा पहिलेको सोच र योजना अनुसार तपाईंले काम गर्ने स्थिति बन्यो कि बनेन?
बनेन, पटक्कै बनेन। किनकि माघ १ गते हाम्रो कस्तो अवस्था थियो भन्नु न। बिहान हामी महामन्त्री थियौँ। दिउँसो पाँच वर्षका लागि साधारण सदस्यबाट निष्कासित भयौँ। साँझ हामी पार्टीको सभापति बन्यौँ। भोलिपल्ट बिहान फेरि निर्वाचन आयोगमा पुग्दै गर्दा निर्वाचन आयोगले के भन्छ भन्ने भयो। निर्वाचन आयोगबाट बाहिर निस्किसके पछाडि फेरि सम्मानित अदालतमा विषय गयो। अदालतले के भन्छ भन्ने भयो। त्यसपछि फेरि निर्वाचनको मनोनयन सर्छ भन्ने कुरा भयो। अब मनोनयन सर्दैन भन्ने भएपछि बल्ल नेताहरूसँग अलिकति संवाद गर्ने अवस्था बन्यो। जुन कुरा हामी डे वानबाटै चाहन्थ्यौँ। संवाद गर्ने अवस्था बन्दा जम्मा हामीसँग ४ घण्टा भन्दा कम समय थियो। 

म त निर्वाचनमा यसरी उम्मेदवारी दिने कुरा नै आधारभूत रूपमा गलत हो भन्ने मान्यता राख्ने मान्छे हुँ। सर्लाही ४ बाट को उम्मेदवार बन्ने भन्ने कुरा यहाँको पार्टीका सदस्यले भन्न पाउनुपर्छ भनेर विधानमा प्रस्ताव गरेको छु। यो पटक हामीसँग त्यो समय भएन। आफै सोच्नु होस् त २४ घण्टा छ, कुनै निर्वाचन क्षेत्रमा ५० जनाको सिफारिस भएको छ, कुनैमा पाँच जनाको भएको छ, कुनैमा कति जनाको भएको छ। उता विशेष महाधिवेशनपछि यत्रो ठूलो विभाजनको अवस्था छ। अदालतमा मुद्दा परिरहेको छ। एकातिर साथीहरूले निकाल्नु भएको छ, त्यो फ्याक्ट हो नि। प्रत्यक्ष संवाद हुन सकिरहेको छैन। 

अन्तिममा माघ ५ गते बिहान ११ बजेपछि मात्र छलफलमा बस्यौँ। रातिसम्म १६५ निर्वाचन क्षेत्रको टिकट टुंग्याउनुपर्ने छ। अहिले पछाडि फर्केर हेर्दा लाग्छ मसँग २४ घण्टाको समय मात्र भएका कारण पार्टीका केही नेताहरूलाई अन्याय भएको छ। छलफल गर्न पाइएको भए सायद केही फरक हुन्थ्यो होला। 

उम्मेदवार पाएको मान्छेभन्दा नपाएको मान्छेसँग छलफल हुन्थ्यो होला। कहीँ पार्टीका सभापतिहरूलाई सोध्न पाइएको छैन। प्रदेशको सभापतिहलाई हामीले बोलायौँ, दुई जना मात्र काठमाडौँ आइपुग्नुभयो। म उहाँहरूलाई पनि दोष दिन्नँ। हामीले उहाँहरूलाई बोलायौँ। तर, त्यो बेलामा उहाँँहरूलाई पनि जाने कि नजाने भन्ने थियो। मैले उहाँँहरूलाई भनेँ- अँध्यारोमा आउनुस्। त्यसैले यो जुन कोलाहलको बीचमा हामीले काम गर्नु पर्‍यो, यो भन्दा राम्रो गर्न सकिन्थ्यो। केही गल्ती, कमजोरी भएका छन्। त्यो पनि नगरिकन गर्न सकिन्थ्यो भन्ने मलाई लागेको छ।

यसपालिको चुनावमा नयाँ अभ्यास देखियो। कांग्रेस, एमाले र रास्वपाले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरे। तपाईं आफैँ प्रधानमन्त्रीको उम्मेदवार बनिरहँदा यो अभ्यासलाई कसरी हेर्नुभएको छ?
संसदीय व्यवस्थामा पछिल्लो समयमा एकदमै धेरै ठाउँ यो अभ्यास हुन थालिसक्यो। जस्तो भारतमा निर्वाचनअगाडि प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने कुरा लामो समयदेखि भइराखेको छ। जहाँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री छैन। संसदीय व्यवस्था छ। तर, प्रि-इलेक्सन अलायन्सले नै प्रधानमन्त्रीको उम्मेदवार तयार गरेर जाने अभ्यास छ। 

पछिल्लो समयमा यो पार्लियामेन्टरी सिस्टम पनि प्रेसिडेन्टल फर्म्याटमा गइसक्यो भन्छ विश्वभर नै। त्यसैले यो अभ्यास नौलो होइन। हाम्रो सन्दर्भमा पनि कतिपय कुरा अन्डरस्टुड भयो। जस्तो अघिल्लो पटक नेकपा एमालेले चुनाव जितेको भए प्रधानमन्त्री केपी ओली र कांग्रेसले जितेको भए शेरबहादुर देउवा हुने जस्तो थियो। हामीले पनि ०५६ सालमा अभ्यास गरेकै हो। ०१५ सालमा हामी जननायक बीपी कोइराला भनेर गएकै हो। हाम्रो लागि पनि धेरै नौलो अभ्यास होइन यो। तर, नेपालको सन्दर्भमा मुख्य पार्टीहरूले नै गर्ने कुरा नौलो अभ्यास भयो।

कांग्रेसमा समानुपातिकको टिकटमा शेरबहादुर देउवा र प्रत्यक्षको टिकटमा गगन थापाको हस्ताक्षर लिएर उम्मेदवारहरू मैदानमा छन्। संसदीय दलको हिसाबकिताब पनि त्यही अनुसार नै हुने होला। त्यस्तो अवस्थामा अहिले नै प्रधानमन्त्रीको उम्मेदवार बन्नु कत्तिको व्यावहारिक होला?
पार्टीका सबै साथीहरू एउटै घरका हौँ भन्ने विश्वास गर्छु। म आइसकेपछि मैले त्यसरी नै सोच्देको भए पार्टीबाट निर्णय गरेर निर्वाचन आयोगमा गएर क्रम संख्या तलमाथि गर्न चाहेको भए मज्जाले गर्न सकिन्थ्यो। केही साथीहरूले सल्लाह पनि दिनु भएको हो। मैले यो हाम्रो पार्टी हो, पहिला हामीले सूची बुझायौँ। क्रम मिलाएर त्यो सार्वजनिक पनि गरिसक्यौँ। सबैलाई थाहा छ, को कहाँ पर्‍यो भनेर। नयाँ सभापति भएर आएँ भन्दैमा तलकोलाई माथि, माथिकोलाई तल पारिदिँदा राम्रो हुँदैन भन्ने लागेर नगरिएको हो। फलानाले बनाएको हो, ढिस्कानाले भएको हो भन्दै साथीहरूले तलमाथि गर्न भन्दा आफूलाई कमजोर नठान्न मैले भनेको थिएँ। सबै आफ्नै साथीहरू हुन् भन्ने कुरामा विश्वास गर्छु।

यसपटक चुनावको परिणाम कस्तो आउने अपेक्षा गर्नु भएको छ। हिसाबकिताब गर्नुभएको होला, कांग्रेसको स्थिति के देखिराख्नुभएको छ?
नेपालको राजनीतिमा नयाँ र पुरानाको पार्टीको भाष्य चलिरहेका बेला आजका दिनमा नेपाली कांग्रेसको सबल पक्ष भनेको सबैभन्दा नयाँ हुनु हो। कांग्रेसभन्दा नयाँ पार्टी छैन। पुराना भनेका कतिपय पार्टीले आफूलाई त्यही ढंगले नवीकरण गर्नुभयो। कतिपय नयाँ पार्टी भनेको चुनावका लागि बने। कोही कता मिसिएको छ, कोही कता मिसिएको छ। कोही झगडा गरेर बाहिर जानुभएको छ। जेनजी आन्दोलनमा व्यक्त भएको भावनालाई आत्मसात गरेर आफूलाई बदल्ने पार्टी कांग्रेस पार्टी हो। सडक र नागरिकको आवाजलाई स्वीकार गरेर आफूलाई बदल्दै नयाँ भएर आयौँ। यो हाम्रो सबल पक्ष हो। यो म्यासेज तल पुर्‍याउन सक्छौँ कि सक्दैनौँ, भन्ने हाम्रो चुनौती हो। पार्टीका साथीहरूले यो म्यासेज नागरिकको तहमा पुर्‍याउने हो। त्यसका लागि पार्टीका साथीहरूलाई एकताबद्ध राख्न सक्छौँ कि सक्दैनौँ? हाम्रो चुनौती यो हो।

नेताहरूले अस्ति भएको अधिवेशनको कुरा मनमा राखिराख्नु भयो भने समस्या हुन्छ। सबै कुरालाई बिर्सिएर जानुछ। मैले पनि त अस्ति मलाई पाँच वर्षका लागि निकालेको होइन र भन्न गइनँ नि त। केही अप्रिय घटना भए। यसरी पार्टी सभापति हुने मेरो चाहना नै होइन। सबै साथीभाइ सहभागी भएर १५ औँ महाधिवेशनबाट सभापति बन्ने चाहना थियो। एउटा घटना भयो। फागुन २१ सम्म एक ढिक्का भएर जाऔँ। त्यसपछि पार्टीभित्रका विमतिमा एउटै कोठमा बसेर छलफल गरौँला भन्ने सोच्यौँ भने सानदार ढंगले कांग्रेसले निर्वाचनमा विजय प्राप्त गर्छ।

आसन्न निर्वाचनमा भदौ २३ र २४ बीचको लडाइँ देखिन्छ। भदौ २३ लाई रास्वपाले मुद्दा बनाएको छ भने एमालेले भदौ २४ लाई मुद्दा बनाएको छ। कांग्रेसले भदौ २३ र २४ मध्ये कुन मुद्दा बोक्छ?
त्यसरी भन्न म चाहँदैन थिएँ। तपाईंको प्रश्नमा आएर मैले भनेँ- नेपाल भदौ २२ गते ठिकठाक थियो? थिएन। २२ गते ठिकठाक भएको भए २३ हुँदै हुँदैन थियो। कसैले भदौ २३ र कसैले २४ लाई रिप्रेजेन्ट गर्छ भन्नुभयो। देशलाई भदौ २५ लाई रिप्रेजेन्ट गर्ने शक्ति चाहिएको हो। कांग्रेस भदौ २५ हो। 

भदौ २५ भनेको के हो भने २२ मा भएको कमजोरीलाई पनि जसले देखिरहेको छ र २३ मा भएको कमजोरीलाई पनि जसले कमजोरी हो भनिरहेको छ। २४ गते व्यक्त भएको भावलाई सम्मान गरेको छ। व्यक्त भएको शैलीप्रति प्रश्न उठाएको छ। चाहे त्यो सिंहदरबार जलाउने कुरा होस्, चाहे सर्वसाधारणको घर जलाउने कुरा होस्, त्यो शैली गलत छ, त्यो हिंसा गलत छ, त्यो ध्वंस गलत छ। त्यसको पछाडिको भाव जुन छ, आक्रोश जुन छ, त्यसले जवाफदेही राजनीति खोजेको छ। त्यसलाई बुझ्नु पर्छ। 

आज त्यस्तो शक्ति चाहिएको होला नि त। आज नेपाललाई सम्हाल्ने शक्ति चाहिएको होला नि त। कांग्रेस को हौ तिमी भन्यो भने हाम्रो जवाफ हुन्छ- हामी नेपाललाई सम्हाल्ने शक्ति हौँ। नेपालको अहिलेको अवस्था, व्यवस्थालाई हामी सुधार्छौं। सिम्पल कुरा छ। यहाँ कसैले के भनेर आएको छ भने जे छ ठिक छ, जे थियो ठिक थियो, सुधार्नै पर्दैन। कोही हामी डाङडुङडाङडुङ गरेर सब कुरा बदल्छौँ भनिरहेका छन्। 

यी दुइटाको बीचमा को छ, ध्यान दिएर हेर्नुस् त। हामीलाई एक्स्ट्रिमिस्टहरू चाहिएकै होइन। हामीलाई चाहिएको के हो भने नेपाललाई त सम्हाल्नु पनि पर्ने छ नि त। दुई दिनमा हेर्नु त के हुँदो रहेछ। यसलाई सम्हाल्ने, यसलाई स्याहार्ने, सबैलाई जोड्ने एउटा शक्ति चाहिएको छ। कांग्रेस त्यो शक्ति हो। हामी सबैलाई समाल्छौँ, हामी सबैलाई स्याहार्दै, सबैलाई बटुल्दै एक बनाएर लिएर जान्छौँ। 

तर, त्यो भने यथास्थिति होइन। बदल्नु पनि पर्‍यो नि त। सुधार्न पनि पर्‍यो नि त। नागरिक सडकमा किन आएको? भ्रष्टाचारबाट मुक्ति चाहियो। नागरिक सडकमा किन आएको? कुशासनबाट मुक्ति, सुशासन चाहियो। यो कुरा गर्नु पनि पर्‍यो। सँगसँगै देशलाई सम्हाल्नु पनि पर्‍यो।

कांग्रेसले घोषणा पत्र ल्याएर आउँदै गर्दा मुख्य एजेन्डा के हुन्छ? त्यसमा केके समेटिन्छ?
मूलतः हाम्रो कुरा यही नै हो। नागरिकहरूको भावना अनुसार बदलिएर आएको कांग्रेस हो यो। नेता बदलियो भनेको होइन। नेपालको राजनीति बदल्नु पर्‍यो। राजनीतिको शैली बदल्नु पर्‍यो। दलहरू नै कुशासनको मतियार भए। दलहरू भ्रष्टाचारमा डुबे। दल बदल्नु पर्‍यो भन्ने नागरिकको आह्वानलाई स्वीकार गरेर, सम्मान गरेर, ग्रहण गरेर अब भ्रष्टाचारमुक्त देश, कुशासनमुक्त देश बनाउने जिम्मा हामी लिन्छौँ भनेर तयार भएर आएको दल हो कांग्रेस। यो दलले नेपाललाई यसरी आम नागरिकको चाहना अनुसार बदल्न सक्छ भन्ने संकल्प गरेर हामी आएका छौँ। त्यो बदल्ने संकल्पभित्र हाम्रा कुराहरू के हुन्, वान बाइ वान हामी त्यो भनी नै हाल्छौँ। 

अघि मैले भनेको जस्तो यहाँ एउटाले अर्कोलाई आरोप लगाइरेको छ, अर्कोले अर्कोलाई आरोप लगाइरहेको छ। हिजो हामीले कुनै बेला देख्यौँ, ७० सालको सेरोफेरोमा एउटा यस्तो स्थिति आएको थियो- जातजातकै बीचमा लडाइँ भएर देश गृहयुद्धमा पर्ला कि भनेर जस्तो अवस्था हामीले देख्यौँ। एउटा कुनै अवस्थामा राज्यको सेना र माओवादी सेनाबीचको भिडन्तबाट देशै डुब्न लागेजस्तो देख्यौँ।

कांग्रेसको क्यारेक्टर के हो? राज्यको सेना र माओवादीको सेना भिडन्त गरेको बेलामा कांग्रेस अघि सर्‍यो र मिलायो। जातजातको बीचमा, मधेस-पहाड तपाईंलाई याद छ नि। थारु र गैरथारु, जाति-जनजातिको बीचमा पुरै द्वन्द्व भइरहेको बेलामा कोही एउटाको पक्षमा उभिए, कोही अर्कोको पक्षमा। सबैले भोटको फाइदा हेरे। तर कांग्रेस अघि सर्‍यो र सबैलाई सम्हाल्यो। 

अहिले पनि ठ्याक्कै नयाँ र पुराना, जेनजी र बुढा पुस्ताको लडाइँ छ। कांग्रेस फेरि अघि सर्‍यो। कांग्रेसले सम्हाल्छ। यो हेर्दा सानो कुरा लाग्छ। त्यो सम्हाल्छु भन्ने मान्छेको आवाज जहिले पनि सानो हुन्छ। त्यसले पहिला मार खान्छ। किनभने यताबाट पनि एउटाले चिच्याइराखेको छ, उताबाट अर्कोले चिच्याइराखेको छ। चिच्याउने मान्छेको आवाज ठूलो हुन्छ। सबै कुरा सुन्छ। हल्ला हुन्छ। कसैले यो गलत भन्या छ, कसैले त्यो गलत भन्या छ। तिमी पनि गलत, म पनि गलत, कहीँ न कहीँ हामी सबै गलत छौँ भनेर स्याहार्ने जुन काम छ, त्यो काम हामी गर्छौं। कसरी गर्छौं भन्ने हामी घोषणा गर्नेछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad