ad ad

अन्तर्वार्ता


सर्ट सेलिङको व्यवस्था नहुँदा सेयरमा सीमितले कमाए, गभर्नरले गाली खाए : गोपालप्रसाद भट्ट (अन्तर्वार्ता)

‘असल मान्छे नियुक्त भए २ मिनेटमै पुँजी बजार सुध्रिन्छ’
सर्ट सेलिङको व्यवस्था नहुँदा सेयरमा सीमितले कमाए, गभर्नरले गाली खाए : गोपालप्रसाद भट्ट (अन्तर्वार्ता)

तस्बिर : विशाल कार्की


केशर बोगटी
माघ १७, २०८० बुधबार १८:३७, काठमाडौँ

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टले ३० वर्ष केन्द्रीय बैंकमा काम गरे। उनी केन्द्रीय बैंकको अनुसन्धानलगायत विभिन्न विभागको नेतृत्वमा रहे। डोटीमा जन्मिएका भट्ट धनगढीमा हुर्किए। ‘स्टक मार्केट एफिसियन्सी’ मा पीएचडी गरेका भट्ट हाल अनुसन्धान र वित्त व्यवस्थापन विषय अध्यापन गर्छन्। उनीसँग नेपालको सेयर बजार र यसको सुधारका उपायबारे नेपालखबरले गरेको संवादः

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आएपछि सेयर बजार सूचक (नेप्से) निरन्तर बढेर २२ सयनजिक पुग्यो, त्यसपछि बजारमा निकै उतारचढाव देखियो। यसले के संकेत गर्छ? 
मौद्रिक नीतिलाई सबैले चासोको विषय बनाउने गर्छन्। यति धेरै चासोको विषय बन्नुपर्ने विषय होइन यो। लगानीकर्ता, सरकार, मिडिया सबैले मौद्रिक नीतिलाई मात्रै इन्डिकेटरको रूपमा हेर्ने गरेका छन्। मौद्रिक नीति लचिलो भयो भने बजार उकालो जाने र कसिलो भयो भने बजार ओरालो जाने भन्ने भाष्य निर्माण गरिएको छ, जुन गलत हो। यो लगानीकर्ताको कमजोरी हो। 

मौद्रिक नीतिले बजारलाई गाइड गर्ने होइन। मौद्रिक नीति त एउटा इन्डिकेटर हो। बजार हेर्ने माध्यममध्येमा मौद्रिक नीति एउटा तत्त्व हो। मौद्रिक नीतिले बजार तलमाथि जानुपर्ने होइन। र, स्टकको प्राइस या इन्डेक्स मौद्रिक नीतिले मात्रै तलमाथि लैजाने भन्ने पनि हुँदैन। लगानीकर्ताले बुझ्नुपर्ने मुख्य कुरा सम्बन्धित कम्पनी, जसको सेयर किनिन्छ र जसको बेचिन्छ, त्यसको पर्फमेन्स मुख्य आधार बन्नुपर्छ। मौद्रिक नीति प्रमुख आधार बन्नु हुँदैन। 

सम्बन्धित कम्पनीले यदि राम्रो सफलता हासिल गरिरहेको छ, उसले उत्पादन बढाइरहेको छ, नाफा बढिरहेको छ, अप्रेसन बढिरहेको छ, उसको ब्यालेन्सिङ साइज बढिरहेको छ र आम्दानी बढिरहेको छ भने व्यवस्थापनले दक्षतापूर्वक काम गरिरहेको छ भन्ने बुझिन्छ। त्यस्तै, राम्रो प्रविधि भित्र्याउन थालेको छ र उसको व्यवसायको क्षेत्र विस्तार भइरहेको छ भने कम्पनी राम्रो हुन्छ। उसको डिमान्ड बढ्ने पहिलो आधार त्यो हुनुपर्छ। 

तर, हामीकहाँ उल्टो छ। कम्पनीको अवस्था हेरेर लगानी गर्ने वातावरण नै छैन। लगानीकर्ताका लागि सम्बन्धित कम्पनीको पर्फमेन्स पहिलो र केन्द्रीय बैंकको नीति दोस्रो कुरा हो। नेपालको पुँजी बजारमा अगुवा लगानीकर्ताले जुन विषयलाई आधार बनाउछन्, अरूले पनि त्यसैलाई पछ्याउने प्रवृत्ति छ। 

अगुवा लगानीकर्ताले ब्याजदर घट्यो भने बैंकबाट सस्तोमा कर्जा लिने, सस्तोमा पाएको पैसाले सेयरबजारमा लगानी गर्ने, अनि माग बढाएर मूल्य बढाउने, त्यसैको प्रतिफलले बैंकको सस्तो ब्याज पनि तिर्ने र आफ्नो लगानी उठाउने प्रवृत्ति छ।

उनीहरू बजारलाई जहिले पनि उकालो लैजानुपर्छ भन्छन्। लगानीकर्ताले यस्तो तरिकाले हेर्नु हुँदैन। पुँजी बजारको विकासमा यो सोच नै बाधक बनेको छ। केन्द्रीय बैंकले सेयर लगानीकर्तालाई हेरी मौद्रिक नीति बनाउने पनि होइन। मौद्रिक नीति त समष्टिगत अर्थतन्त्रलाई लिएर बनाउँछ। मौद्रिक नीति हेरेर लगानीकर्ताले लगानीको निर्णय गर्नुपर्नेमा उल्टो भइरहेको छ। यो पुच्छरले टाउको हल्लाउने कि टाउकोले पुच्छर हल्लाउने भनेजस्तै कुरा भयो। 

वित्तीय रूपमा कमजोर र किताबी मूल्य (नेटवर्थ) ऋणात्मक भएका कम्पनीको सेयरमूल्य बढ्ने अनि राम्रा भनिएका कम्पनीको नबढ्ने किन हुन्छ? 
यसका दुईटा कारण छन्। पहिलो, नेपालमा स्टकको इन्डेक्स बढे मात्रै लगानीकर्ताले रिटर्न (प्रतिफल) पाउने अवस्था छ। हाम्रो मार्केटमा कमाउन सस्तोमा सेयर किन्ने र महँगोमा सेयर बेच्नुपर्छ। सबै लगानीकर्ताले आफूले खरिद गरेको सेयरको मूल्य बढी होस् भन्ने चाहन्छन्। सेयरको मूल्य बढ्न इन्डेक्स पनि बढ्नुपर्‍यो। इन्डेक्स बढाउन त सबै किसिमको मूल्य बढाउनुपर्‍यो। त्यसमा राम्रादेखि नराम्रा सबै कम्पनी पर्ने नै भए। नेपालको मार्केट एकपक्षीय छ। यो लङ पोजिसन लिने खालको मात्रै छ। बजार घट्दा पनि कमाउने गरी बजार विकास गरिएको छैन। सर्ट पोजिसन लिने व्यवस्था छैन। त्यसैले लगानीकर्ताले बजार बढ्नैपर्छ भन्ने अपेक्षा राख्दछन्। 

बजार घट्दा पनि लगानीकर्ताले कमाउन सक्छन् त? 
अवश्य पनि। विकसित बजारमा कुनै लगानीकर्ताले बजार घटोस् भन्ने अपेक्षा पनि गर्छन्। बजार घट्दा पनि उनीहरूले कमाइरहेका हुन्छन्। बजारमा सर्ट सेलिङको व्यवस्था भइदिएको भए लगानीकर्ताले बजार घट्दा पनि कमाउन सक्थे। हाम्रो मार्केटमा सर्ट सेलिङको व्यवस्था भइदिएको भए, सर्ट पोजिसन लिन पाइने भएको भए, कोही लगानीकर्ताले बजार घटोस् भन्ने चाहन्थे। बजार (इन्डेक्स) घट्दा उनीहरूलाई रिटर्न आउँथ्यो। 

सर्ट सेलिङ भनेको ब्रोकरसँग सेयर सापटी लिई त्यसलाई महँगोमा बेच्ने र बजार घटेको बेला सस्तोमा सेयर खरिद गरी ब्रोकरलाई सेयर फिर्ता गर्ने व्यवस्था हो।

जस्तै, राम नामको लगानीकर्ताले आज बजारको सुरुवाती २२ सयमा कुनै कम्पनीको सेयर बेच्यो। बजार बन्द हुने बेलामा सोही कम्पनीको सेयरमूल्य घटेर २ हजारमा आयो भने सस्तोमा सेयर खरिद गरी पहिले बेचेको सेयर फिर्ता गर्न मिल्छ। उसलाई २ सय रुपैयाँ फाइदा भयो। आज कुनै कम्पनीको सेयर २२ सयमा बेचेर पछि १८ सयमा सेयर किन्दा उसलाई ४ सय नाफा हुन्थ्यो। 

त्यस्तो व्यवस्था हुँदा कुनै लगानीकर्ताले बजार घटोस् भन्ने चाहन्थे, त कुनैले बजार बढोस् भन्ने चाहन्थे। जसले गर्दा बजार सन्तुलित हुन्थ्यो। 

सर्ट सेलिङको व्यवस्था नहुँदा तपाईंले ३२ सयमा सेयर खरिद गर्दा पनि बढ्नुपर्‍यो। ५ हजारमा किन्दा पनि बढ्नुर्‍यो। त्यसको कुनै लिमिट नै नहुने भयो। बजार जति पनि पुग्नुपर्‍यो। बजारको नियम त एकोहोरो बढ्ने मात्रै होइन नि। अनि बजार घट्नासाथ मौद्रिक नीति र गभर्नरले गाली खाने अवस्था हुन्छ।

कमजोर कम्पनीका सेयरमूल्य किन उचालिन्छ? 
ठूला लगानीकर्तालाई कम्पनी कस्तो हो भन्ने मतलब छैन। उनीहरूलाई १०० रुपैयाँको मूल्य बढाएर १२० पुर्‍याउँदा २० रुपैयाँ नाफा भइहाल्छ। उनीहरूसँग पैसा छ, सर्ट टर्म लिमिट छ। त्यस्तो अवस्था भएकाले नेपालमा गलत सोच भएका लगानीकर्ता, त्यस्तै शिक्षा दिने संस्था, मन्त्री र अन्य अधिकारी भएकाले बजारमा संरचनागत समस्या आइरहेको छ। यस्तो समस्या हटाउन धितोपत्र बोर्ड, नेप्से वा सरकारले सर्ट सेलिङ मेकानिज्म बनाउनुपर्‍यो। त्यो रिस्क म्यानेजमेन्ट टुल्स दिएर गर्न सकिन्छ। बजारलाई दुईटै पक्षबाट चलाइदिए बजारमा दुवैतिरका लगानीकर्ता सक्रिय हुन्छन्। 

मिडियाले पनि मौद्रिक नीतिमा मात्रै फोकस हुनेभन्दा पनि कम्पनी फोकस गर्नुपर्‍यो। तिनको ग्रोथलगायत सूचकबारे सूचना सम्प्रेषण गर्नुपर्छ। कमजोर कम्पनीमा लगानी गर्ने मूर्ख हुन्। बरु, मार्जिन ट्रेडिङ कार्यान्वयनमा ल्याउनुपर्छ। यो कार्यान्वयनमा ल्याए तपाईंले १००० रुपैयाँको सेयर खरिद गर्दा तपाईंले कति इन्भेस्ट गर्ने भनेर नियम बनाइदिएको हुन्छ। आफूले पनि लगानी गर्ने र ब्रोकरबाट केही पैसा बरो गर्ने हो। यहाँ आफ्नो पैसा कति हाल्न केही मतलब छैन, खालि बैंकबाट ऋण लिने र लगानी गर्ने प्रवृत्ति छ। 

बैंकमा रहेको पैसा त बचतकर्ताको पैसा हो नि। सहकारी जस्तै ती सेयरहोल्डर डुबे भने बैंक डुब्छ। त्यसैले हामी क्यापिटल मार्केटमा विकसित देशका कन्सेप्ट ल्याइरहेका छौँ भने त्यसका नियम पनि त पालना गर्नुपर्यो। यो पनि एउटा समस्या छ। 

बजार थोरै अंकले बढ्नासाथ ४/५ हजार पुग्ने विश्लेषण हुने गरेको देखिन्छ। के भन्नुहुन्छ?
लगानीकर्ता विभिन्न किसिमका हुन्छन्। लगानीकर्ताको वर्गीकरण गर्ने हो भने एउटा राउन्ड लटर भन्छ। त्यो भनेको ठूलो भोलुममा सेयर किन्ने। उनीहरु मार्केटका लिडरजस्ता हुन्छन्। उनीहरु जानकार हुन्छन्, विश्लेषण गर्छन्।

सेयरबजारको दोस्रो बजारमा त तपाईँसँग भएको सेयर मैले किन्ने न हो। तपाईंलाई मूर्ख बनाउने हो। कुनै सेयरको मूल्य ५५ सय छ, त्यो तपाईं बेच्दै हुनुहुन्छ। तपाईं ५५ सय ठिक छ भन्नुहुन्छ, अर्कोले ५५ सयमा किनिदिन्छ। किन्नेले बेच्नेलाई के थाहा, यो सेयर भोलि बढेर ६ हजार पुग्नेवाला छ भनेर किन्छ। उसले तपाईंलाई मूर्ख सम्झन्छ। तपाईं इन्फर्म्ड इन्भेस्टर हो भने तपाईंले यो पो मूर्ख हो, यो सेयर त भोलि घटेर ५३ सय हुन्छ भन्छ। यदि तपाईं इन्फर्म्ड होइन भने उसले तपाईंको अक्षमताको फाइदा लिन्छ। 

सूचना नै मार्केटको मूल तत्त्व हो। सूचनाकै आधारमा अर्को लगानीकर्तालाई मूर्ख बनाउने हो। 

नेपालको मार्केटमा धेरै लगानीकर्ता इन्फर्म्ड छन्। उनीहरुले नै मार्केटलाई लिड गरिरहेका छन्। अरु लगानीकर्ता उनीहरुलाई फलो मात्र गर्छन्। अरु ठूलो देशमा पनि यस्तो हुन्छ। तर कम हुन्छ। 

अर्को, नेपालमा विश्लेषक छैनन्, जसले वास्तविक विश्लेषण गर्छ। त्यस्ता लाइसेन्स लिएका विश्लेषक छैनन्। ती विश्लेषकले बजारमा स्टकको भ्यालुएसन गरिरहेका हुन्छन्। बजारसँग त्यस्तो भ्यालुएसनको म्याच भइरहेको हुन्छ। त्यसैले बजार धेरै तलमाथि जाँदैन। यहाँ चार्ट देखाएर तलमाथि  पुर्‍याए। बजारलाई लिड गर्नेहरुसँग मेजर भोलुम छ। उनीहरुले प्ले पनि गरिरहेको सुनिन्छ। 

नेपालको सेयर मार्केटमा केहीले मात्रै कमाउँछन्, धेरैले गुमाउँछन् भनिन्छ नि!
पछिल्लो समय नेप्सेको सिस्टम लगानीको रक्षा गर्ने किसिमको छैन। सिस्टममा केही लुप होल छ भन्ने सुनिन्छ। यस्तो अवस्थामा इन्भेस्टरले पनि इन्फर्म्ड भएर लगानी गर्नु आवश्यक छ। त्यसमा पनि हाम्रो बजार एकतर्फी बजार हो। विकसित देशमा बजार दुईतर्फी हुन्छ। एकतर्फी बजारमा सबैले कमाउन बजार बढाउनु पर्छ। तर, दुईतर्फी बजारमा कोही लगानीकर्ताले बजार बढ्दा कमाउँछन् भने कुनैले घट्दा पनि कमाउने गर्छन्। 

हाम्रो जस्तो एकतर्फी मार्केटमा केही सीमित मानिसहरुले मात्रै कमाउने गर्छन्। नेपालको मार्केटको लचकता भने बढेको छ। नेपालको मार्केट कोल्याप्स भइहाल्ने खालको पनि छैन।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अधिक छ। ब्याजदर घट्दै गइरहेको छ। यसले बजारलाई सपोर्ट गर्ला नि? 
हो, बजारमा तरलता थुप्रिएको छ। आयात घटेको छ। बढ्दो रेमिट्यान्स र कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो। साथै, अर्थतन्त्र हिजोको भन्दा केही सकारात्मक हुँदै गएको लक्षण देखिन थालेका पनि छन्। अर्थतन्त्रलाई हेर्ने चार वटा प्यारामिटर हुन्छन्। बाह्य क्षेत्र, रियल सेक्टर, मनिटरी सेक्टर र फिस्कल सेक्टर। अहिले बाह्य क्षेत्रमा केही सुधार भइरहेको अवस्था छ। अहिले विदेशी विनिमय सञ्चिति १७ खर्ब पुगेको छ, त्यसमा व्यापार घाटा ५/६ खर्बको छ। आयात–निर्यात घटेको अवस्था छ। रेमिट्यान्स बढिरहेको छ। यो सकारात्मक पनि हो। पर्यटक पनि बढिरहेका छन्। 

त्यसको सम्बन्ध पुँजी बजारसँग के छ? रेमिट्यान्सले तरलता सिर्जना गर्छ। स्टक मार्केट सुध्रिनका लागि आन्तरिक उत्पादन बढ्नु पर्छ। निर्यात बढ्नु पर्ने हो। सेवा क्षेत्रको विस्तार भएको हुनुपर्ने हो। तरलता यता रेमिट्यान्सबाट आयो, बैंकमा पैसा भरियो। उसको ब्याजदर घट्यो। घटेर फेरि त्यो पैसा सेयर मार्केटमा गयो। सेयरको डिमान्ड बढाउनेगरी। आर्थिक वृद्धि त रियल सेक्टरबाट आउने हो। अहिले रोजगारी बढेको, कुनै कम्पनीको प्रडक्सन बढेको सुनिँदैन। आयात, निर्यात बढेको त सुनिँदैन। 

सूचीकृत कम्पनीको सेयरको डिमान्ड त त्यसको आधारमा हुनु पर्ने हो। फाइनान्सियल सेक्टरका कम्पनीले धानेको बजार हो। रियल सेक्टरका कम्पनीको एउटा सकारात्मक समाचार आयो। नेपाल सरकारले भारत सरकारसँग १० हजार मेगावाट बिजुली बेच्ने सम्झौता गर्यो। त्यसले उत्पादन गरेको बिजुली भारत–बंगलादेश जान सक्छ। कम्पनीको आम्दानी बढ्न सक्छ र तिनीहरुले राम्रो प्रतिफल दिन सक्छन्। त्यस्ता कम्पनीको सेयर अहिले किनिराख्यौँ भने पछि बढी डिभिडेन्ट पाइन्छ भन्ने सकारात्मक कुरा छ। 

अन्य क्षेत्रको सकारात्मक समाचार केही छैन। बैंकहरुको नाफा घटिरहेको छ। प्रोभिजन बढेको छ। व्यापार व्यवसायतिर सटर बन्द छन्। विदेशी लगानी भित्राएको भन्ने पनि सुनिँदैन। नेपालमा भएको विदेशी लगानी बाहिरिएको छ। बाँकी सेक्टरमा राष्ट्र बैंकको वा सरकारको नीतिले अर्थतन्त्रमा धेरै राम्रो अवस्था आइसकेको छ भन्ने लाग्दैन। त्यसैले सेयरको मूल्य बढिहाल्नुपर्ने देख्दिनँ।

सेयरबजारको साइकल नजिकै भएर बजार बढ्न थालेको भनिन्छ। वास्तविकता के हो?  
सेयरबजारमा दुई वटा कुराले फरक पार्छ। बैंकहरुले ब्याजदर बढाउन थाले भने लगानीकर्ताले सेयर बेचेर निक्षेपमा पैसा राख्न थाल्छन्। किनकि, निक्षेपमा पैसा राख्दा कुनै जोखिम हुँदैन। अर्को, बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थाल्दा लगानीकर्ताले सेयरमा लगानी गर्न थाल्छन्। तर, हाम्रो मार्केटमा केही ठूला लगानीकर्ताले प्राकृतिक रुपमा बढ्नुपर्ने बजारलाई प्रभावित पार्न खोज्ने गरेको देखिन्छ। बजार प्रभावित गर्न खोज्दा चक्र बिग्रिएको छ। 

बजार प्राकृतिक रुपमा चल्नु पर्ने भनेको बजारले आफैँ डिपोजिट र रिटर्नको प्राइसिङ गर्नुपर्ने हो। यो रिटर्नले इन्भेस्टरलाई गाइड गर्नुपर्ने हो। तर, यहाँ उल्टो हुन्छ। बजार माथि जानु नराम्रो होइन। तर, त्यसको सस्टेनिबिलीटी (टिकाउ) कस्तो हो भन्ने हुन्छ। 

कुन इन्डिकेटरको आधारमा बजार माथि गइरहेको छ भन्ने महत्वपूर्ण हुन्छ। कम्पनीको पर्फमेन्स र रियल सेक्टरको ग्रोथका कारण डिमान्ड बढिरहेको आधारमा गएको बजार दीर्घकालीन हुन्छ। तर, अर्थतन्त्रमा सुस्ती आइरहेको अवस्थामा सस्तो ब्याजदर ल्याएर बढाइएको बजार दिगो हुँदैन।

तर, नेपालमा अन्तर्राष्ट्रिय प्यारामिटरका नियम छैनन्। यहाँ धितोपत्र बोर्डका अध्यक्ष नै बजारलाई ३३/३५ सय पुर्‍याउँछु भन्ने लक्ष्यका साथ आएका उदाहरण पनि छन्। मैले पढेको विद्याले सेबोनका अध्यक्षले बजार बढाउने कहीँ छैन। बजारले बढाउने सेन्टिमेन्ट र एनालिसिस अनि कम्पनीको पर्फमेन्सले हो भनेर पढ्ने र पढाउने हो। तर, यहाँ अर्थमन्त्री, सेबोनका अध्यक्ष उनीहरु बजारलाई यहाँ पुर्‍याउने भनेर आउँछन्। त्यसैले बजार यति पुग्छ भन्नेर अनुमान गर्न सकिँदैन। अनफेयर मार्केटमा जे पनि सम्भावना छ।  

पछिल्लो समय धितोपत्र बोर्डले १० कित्ते नीति परिमार्जनको लागि समिति नै बनाएको छ। यो व्यवस्था परिमार्जन आवश्यक छ? 
सेयर मार्केटमा राजनीतिक प्रणाली, सामाजिक प्रणालीमा जस्तो आरक्षण हुनुपर्छ भन्ने मलाई लाग्दैन। हामीकहाँ आयोजना क्षेत्रका मानिसहरुलाई सेयर दिनुपर्ने किसिमका नीति छन्। मान्छेको घरघरमा सेयर पुर्‍याउनु पर्छ, गरिबगुरुवालाई सेयर दिनुपर्छ भन्ने छ। विपन्न वर्गलाई सेयर दिनुपर्छ भन्ने छ। यस्तो नियम विकसित देशमा कहीँ पनि हुँदैन। 

पुँजी बजारमा कम्पनीलाई पुँजी चाहियो भने जोसँग बचत छ, उसले पुँजी दिने हो। यो डिमान्ड र सप्लाईको आधारमा मूल्य निर्धारण हुने हो। तर, यहाँ त संसदमा सिट बाँडेको जस्तो व्यवस्था छ। केही अध्यक्षले पुँजी नै नहुनेलाई पनि १०/२० कित्ता दिने नीति पनि  ल्याए। त्यसले विद्यार्थीको आम्दानी भयो भनिन्छ। बजारबाट कम्पनीको लागि पुँजी संकलन गरी रहनुभएको हो या विकास मन्त्रालय चलाइरहुनु भएको छ? यस्तो मेकानिजम छ। यसले केही समस्या सिर्जना गर्छ होला नै। 

मेरो विचारमा सेयर ल्याउने कम्पनीलाई पुँजी चाहिएको छ। जोसँग पैसा छ, उसले पुँजी दिने हो। त्यसलाई अलटमेन्ट गर्ने नियम छन्। सोही अनुसार बाँडफाँट गर्ने। कसैलाई अनिवार्य रुपमा तैँले यति नै सेयर दिनुपर्छ भन्ने प्रोभिजन मार्केटविरुद्ध देख्छु। त्यस अर्थमा १० कित्ते नीति परिमार्जन गर्न खोज्नु राम्रो हो। 

सैद्धान्तिक रुपमा कम्पनीलाई पुँजी चाहियो। दिने मान्छे जति थोरै हुन्छन्, उसलाई त्यति नै राम्रो। थोरै भनेको १/२ जनाबाट मात्रै पुँजी लिने भनेको चाहिँ होइन। अन्तर्राष्ट्रिय नियम अनुसार कतिसम्म डाइभर्सिफाइड गर्ने सेयर होल्डिङ क्यापासिटीलाई हो। एउटैको मनोपोली पनि नहोस् र बजार धेरै डाइभर्सिफाइड गर्ने भनेर ५/१० कित्ता दिने पनि बनाउनु हुँदैन। बजार धेरै डाइभर्सिफाइड गर्दा उसको खर्च बढ्ने हो। अन्ततः त्यसको खर्च सर्वसाधारणले नै बेहोर्नु पर्छ। 

नेपालमा डेरिभेटिव, मार्जिन ट्रेडिङ, अक्सन इन्डेक्स र इन्ट्रा–डे कारोबारमा ढिलाइ भएको होइन? 
पक्कै पनि हो। लगानीकर्ताको लागि नयाँ इन्स्ट्रुमेन्ट ल्याएर जति विकल्प दिन सकियो, त्यति नै राम्रो हो। तर, अहिलेको नेप्सेसँग डेरिभेटिभ इन्स्ट्रुमेन्ट धान्ने क्षमता छैन। यो इन्डेक्स सेयरभन्दा माथिको इन्स्ट्रुमेन्ट हो। यसका लागि अन्तर्राष्ट्रिय स्टान्डर्डमा चलाउन सक्नु पर्छ। 

अहिलेको मार्केट नै अन्तर्राष्ट्रिय स्टान्डर्डमा पर्याप्त रुपमा चलाउन नसकिरहेका अवस्थामा डेरिभेटिव मार्केट चलाउन सजिलो भने छैन। यसलाई चलाउन टेक्निकल हुनुपर्छ। यस्ता इन्स्ट्रुमेन्ट ल्याइदिए राम्रो हो। तर, त्यत्तिकै जोखिम पनि छ। मार्केट हाइटेक ल्याएर आयौँ तर, लगानीकर्ता यस्तै खालका राख्यौँ भने र स्टक पनि यो किसिमको भए समस्या आउँछ। अझै टेक्निकल पक्ष राम्रो भएको नियामक भए मात्र यी बजार सफल हुन्छ। होइन भने यसले बजारमा जोखिम थपिने हुन्छ। 

अहिले नयाँ स्टकको पनि चर्चा छ। नयाँ स्टक कति आवश्यक देख्नुहुन्छ?
नयाँ स्टक चाहिँदैन। सरकार र सरकारको निकाय सेबोनले नयाँ स्टक ल्याउन खोजेको हो। तर, उनीहरुले आफ्नो चाहनाभन्दा पनि अरुको स्वार्थअनुसार नयाँ स्टक ल्याउन लागेको भन्ने अहिलेको मार्केटको माहौलले देखाएको छ। नयाँ स्टक ल्याउने बोर्डको चाहना हो भने उसले कुन कारणले ल्याउन लागेको प्रष्ट पार्नु पर्छ। सेबोनले नयाँ स्टक आए प्रतिस्पर्धा हुन्छ भनिरहेको छ। नयाँ स्टक आए प्रतिस्पर्धा चाहिँ केमा बढ्छ? त्यो प्रष्ट पारेको छैन। 

कि कम्पनीलाई लिस्टिङ गर्नु र लगानीकर्तालाई ट्रेडिङ मेकानिजम सिस्टम दिनका लागि नयाँ स्टक ल्याउन लागिएको हो? अहिलेको स्टकमा लिस्टिङ कम्पनीहरु यसमै बस्ने कि नयाँ ल्याउँदा नयाँमा जाने भन्ने हो। यी कम्पनीहरु नै नयाँ स्टकमा जाने भए अहिलेका स्टकलाई कोल्याप्स गर्ने काम हुन्छ। नयाँ कम्पनीका लागि नयाँ स्टक ल्याउने हो भने कति कम्पनी नयाँमा जाने भनी प्रतीक्षा गरिरहेका छन्। प्रतीक्षामा रहेका कम्पनी कति छन? सेबोनले त्यो भन्नुपर्यो। अहिलेको स्टकमा लिस्टिङ हुन नचाहेका र नयाँ स्टकमा लिस्टिङ चाहने कम्पनी यसरी लाइन लागेर बसेका छन् भनेर। 

त्यो हो भने नयाँ स्टक ल्याउने कुरा ठिक हो। यिनै कम्पनीलाई अर्को स्टकमा लिने हो भने दुबै स्टकमा लिस्टिङ गर्दा मूल्य समान आउनु पर्छ। नयाँ स्टकले पनि यी भएका कम्पनी लिस्टिङ गर्ने भएपछि दुबैतिर कम्पनी लिस्टिङ हुँदा कम्पनीको खर्च बढ्छ। अहिले स्टक सरकारी भएका कारण समस्या छ भने प्राइभेट गर्ने व्यवस्था गर। टेक्निोलोजीको समस्या हो भने इन्भेस्ट गर्न लगाएर नयाँ टेक्नोलोजी ल्याउन लगाऊ। कर्मचारी प्रोएक्टिभ छैनन् भने तिनीहरुलाई निकालेर बजारबाट फ्रेस कर्मचारी लिने व्यवस्था गर। 

अहिलेको स्टक कोल्याप्स नै गर्ने हो भने नयाँ ल्याउँदा हुन्छ। अहिलेको स्टकमा केही प्राइभेट सेक्टरको इन्ट्री हुँदा म्यानिपुलेसन भएको भन्ने कुरा सेबोनका तत्कालीन अध्यक्षले भनिरहेका थिए। हालै एउटा रिपोर्टमा आयो, त्यसमा नेप्सेको टेक्नोलोजी, सिस्टम, इन्जिन र म्याचिङ सिस्टममा समस्याले नयाँ स्टक ल्याउने भनिएको हो भने त्यो त प्राइभेटलाई दिएर भइरहेको हो नि। अनि अझै अर्को प्राइभेटलाई नै स्टक दिँदा के होला?

नेप्से पुनर्संरचनाको कुरा गर्नुभयो। बारम्बार नेप्से पुनर्संरचनाका लागि प्रतिवेदन बन्ने गरे पनि वर्षौंसम्म कुनै प्रक्रिया अघि बढेको छैन नि? 
इच्छाशक्तिको कमी हो। नेप्सेको पुनर्संरचना गर्न नसकिने भन्ने नै हुँदैन। इच्छाशक्ति देखाएर सरकारले चाहे असम्भव हुँदैन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सरकारको लगानी छ। सरकारले चाहे नहुने भन्ने हुन्छ? सरकारले इमान्दार सीईओ पठाए काम हुन्छ। विभिन्न स्वार्थ बोकेर आएका व्याक्तिले सुधार गर्न सक्दैनन्। स्वार्थ पूरा गर्न आएका व्यक्तिले उदेश्य पूरा गर्छन्। सुधार गर्दैनन्। यदि राज्यले दृढ इच्छाशक्ति लिएर प्रतिबद्ध भई मेरो वृद्धिको इन्जिन नै पुँजी बजारको विकास हो भनेर सही मान्छे भयो, उसलाई अथोरिटी दियो र स्रोत दियो भने पुँजी बजार २ मिनेटमा सुधार हुन्छ। नहुन सक्ने कुरा केही छैन। नेपालमा गर्न चाहेर सुधार गर्न नसकिने भन्ने केही पनि छैन। एउटा महानगर प्रमुखले चाहेमा काम गरेको देखाउन सक्छ भने सरकारले नसक्ने भन्ने हुन्छ? सरकारले पठाएका नेतृत्व इमान्दार भएर आए सुधार गर्न सकिन्छ। 

नेपाल स्टक एक्सचेन्जले अहिले आईपीओको सूचीकरण गर्दा दिने ओपनिङ मूल्य घटाउने तयारी गरेको छ, यो लगानीकर्ताको हित विपरीत भएन? 
सेयर सूचीकरण गर्दा किताबी मूल्य (नेटवर्थ)को तीन गुणासम्म ओपनिङ मूल्य दिने व्यवस्थालाई घटाउने कुरा सकारात्मक नै छ। अनावश्यक रुपमा प्राइसिङ म्यानिपुलेसन नहोस्, लगानीकर्ताको इन्ट्रेस्ट क्र्यास नहोस् भनेर उसलाई रक्षा गर्ने कुरा सकारात्मक नै हो। कुनै कम्पनीको नेटवर्थ १०० रुपैयाँ छ भने उसलाई ३०० रुपैयाँसम्म मूल्य तोक्ने व्यवस्था घटाउँदा केही फरक पर्छ जस्तो लाग्दैन। राम्रो कम्पनी छ भने उसलाई ओपनिङ मूल्य कम दिँदैमा रोकिने त होइन नि। त्यसैले यो सकारात्मक नै छ। 

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्य छ। वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा ल्याउन के कुराले रोकेको छ? 
वास्तवमा, कम्पनीहरु नै पुँजी बजारमा आउन नचाहेका हुन्। नेपालमा वास्तविक क्षेत्रका कम्पनी पारिवारिक व्यवसायमा आधारित छन्। उनीहरु पुँजी बजारमा आउन चाहँदैनन्। पुँजी बजारमा आउँदा पारदर्शी हुनु पर्छ, उनीहरु पारदर्शी हुन चाहँदैनन्। कम्पनी पब्लिक भएसँगै उनीहरुले आफ्नो नाफा नोक्सान लगायत कम्पनीको वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ। जुन कुरा उनीहरु सार्वजनिक गर्न नै चाहँदैनन। त्यसैले वास्तविक क्षेत्रका कम्पनी पुँजी बजारमा आउन नचाहेको पनि छ।

नेपालमा बैंक तथा वित्तीय संस्थाको बाहुल्य हुने कारण पनि कानुनी बाध्यता हो। बैंक तथा वित्तीय संस्थाको ऐनमा बैंक तथा वित्तीय संस्थाको ३० प्रतिशत सेयर पब्लिकमा पठाऊ भनेको कारण यिनीहरु लिस्टिङ भएका हुन्। अन्यथा यीमध्येका अधिकांश संस्थाले सेयर जारी गर्ने थिएनन्। यी पनि रेगुलेटरी र कानुनी बाध्यताका कारण मात्रै आएका हुन्। उद्योगधन्दालाई पुँजी बजारमा ल्याउने राज्यको व्यवस्था छैन। यदि, कुनै कम्पनीको चुक्ता पुँजी ५० करोड माथि छ भने त्यो कम्पनी पब्लिकमा हुनुपर्ने व्यवस्था गरिदिए बाध्य भएर पब्लिकमा सेयर इस्यु हुन्छ। जुन कुरा मैले राष्ट्र बैंकमा हुँदा उठाएको पनि थिएँ। कम्पनीहरु पारदर्शी भए राम्रो हुन्छ। तर, हाम्रो देशमा कोही पारदर्शी हुन चाहँदैनन। यो विडम्बना पनि हो।

अन्त्यमा, पुँजी बजारको विकास र विस्तारको लागि के कस्ता नीतिगत सुधारको आवश्यक देख्नुहुन्छ?
पुँजी बजार भनेको पुँजी दिने र पुँजी लिनेलाई जोड्ने ठाउँ हो। पुँजी कर्पोरेट सेक्टर या सरकारले लिन्छ। पुँजी दिने भनेका सर्वसाधारण हुन्। पुँजी दिनेहरु पनि दुई खालका हुन्छन्। एउटा, जोखिम लिन सक्छन्, अर्को खालकाले जोखिम कम लिन्छन्। हाम्रो बजारमा लगानीको लागि इन्स्ट्रुमेन्टको अभाव छ। लगानीका लागि विभिन्न इन्स्ट्रुमेन्ट चाहिन्छ। जसको अभावमा लगानीकर्ताले चाहेर, नचाहेर त्यो सेयरमा लगानी गर्नेबाहेक कुनै विकल्प छैन। 

कसैले ट्रेजरी बिलको मार्केटमा ट्रेजरी किन्छु भन्दा त्यसको मार्केट छैन। हाम्रो पुँजी बजार अपुरो छ।

त्यसैमाथि हाम्रो पुँजी बजारबाट पुँजी लिनुपर्छ भन्ने संस्कार विकास भइसकेको छैन। यहाँ बाध्यताले मात्रै कम्पनीहरुले सेयर जारी गरेको देखिन्छ। केन्द्रीय बैंक, बीमा प्राधिकरणको बाध्यात्मक नीतिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सेयर इस्यु गरेको पाइन्छ। कम्पनी स्वयंले पुँजी बजारबाट पुँजी लिन्छु भन्ने अवस्था एकदमै कम छ। बरु, कम्पनीहरु पुँजी चाहिए बैंकमा जान्छन् तर पुँजी बजारमा जान चाहँदैनन्। जबसम्म कम्पनीहरुलाई पुँजी जुटाउन सेयर जारी गर्नुपर्छ भन्ने संस्कृति विकास हुँदैन, तबसम्म कम्पनीहरु पुँजी बजारमा आउन चाहँदैनन्। 

अर्को, पुँजी बजारमा पुँजी दिने र लिने दुवैले जोखिम लिएका हुन्छन्। यी दुवैको पुँजीको संरक्षण हुनु पर्दछ। नेपालमा नियामक नै कुनै पार्टी, ग्रुप विशेषको पक्षमा आउने परिपाटी छ। सरकार, नियामक, मन्त्री, सचिव पार्टी वा ग्रुप विशेष भएर आउँदा उनीहरुले कसरी पुँजीको संरक्षण गर्छन्? उनीहरुले त स्वार्थमा काम गर्ने अवस्था छ। जसकारण स्वदेशी कम्पनी पुँजी बजारमा आउन नचाहने अवस्था बनिरहेको छ। नेपाली कम्पनी नै आउन नचाहेको बेला विदेशी कम्पनी त आउने नै भएनन्। त्यसैले अब पुँजी बजारमा सरकारले उचित मान्छे पठाउन पर्छ। राज्यको अर्थतन्त्रलाई अघि बढाउने पुँजी बजार, केन्द्रीय बैंक, बैंकिङ संस्थाहरु अति संवेदनशील हुन्। त्यसैले यहाँ कुनै पार्टी वा बिचौलिया होइन, टेक्निकल, इमान्दार र प्रोफेसनल मान्छे आउनुपर्छ भनेर राज्यले सोच्नुपर्छ। त्यसपछि बल्ल पुँजी बजारको विकास हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .