ad ad

अन्तर्वार्ता


केन्द्रबाट घोषणा गर्दैनौँ, स्थानीय तहमा चुनावी तालमेल हुन्छ : शेरबहादुर तामाङ (अन्तर्वार्ता)

केन्द्रबाट घोषणा गर्दैनौँ, स्थानीय तहमा चुनावी तालमेल हुन्छ : शेरबहादुर तामाङ (अन्तर्वार्ता)

फाइल तस्बिर


ज्ञानेन्द्र खड्का
चैत ८, २०७८ मंगलबार १३:३५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेको पोलिटब्युरो बैठक सोमबार बसेको छ। देश स्थानीय तह निर्वाचनतर्फ गइरहेको बेला बसेको बैठकले केन्द्रीय कमिटी बैठकका प्रस्तावहरू तय गरेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेविरुद्ध सत्तारुढ गठबन्धनले मोर्चाबन्दी गर्ने करिब निश्चित छ। यस्तोमा २०७४ को स्थानीय तह निर्वाचनमा धेरै सिट जितेको एमालेलाई त्यो साख जोगाउने चुनौती छ। एमालेले पनि तल्ला कमिटीलाई स्थानीय विशेषताका आधारमा तालमेलको ढोका खोलिदिने तयारी गरेको छ। यसै सन्दर्भमा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसँग नेपालखबरले गरेको संवाद :

एमालेको पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव आएको रहेछ, खासमा त्यो भनेको कस्तो हो? 
वाम तालमेल होइन, चुनावी तालमेलमा जाँदा चाहिँ उचित हुन्छ भन्ने कुरा भएको हो। अध्यक्ष कमरेड केपी शर्मा ओलीले पनि चुनावी तालमेलकै कुरा गर्नु भएको हो। पार्टीको खास धारणा त्यही नै हो। चुनावी तालमेल हुँदा यो दक्षिणपन्थी, यो वामपन्थी तालमेल भनेर घोषित हुँदैन। जस्तो आफूलाई वामपन्थी भन्ने पार्टी नै अहिले कांग्रेसलाई सरकार बनाउन सघाइरहेका छन्। यस्तोमा कुन चाहिँ वाम तालमेल कुन चाहिँ दक्षिणपन्थी तालमेल त? अहिलेको सन्दर्भमा वामपन्थी तालमेल र दक्षिणपन्थी तालमेल भन्ने कुरा नै छैन। ग्राउन्ड रियालिटी यही नै हो। त्यसो हुनाले वाम तालमेल हुँदैन, चुनावी तालमेल चाहिँ हुन सक्छ। हामी घोषित रुपमा कुनै पनि दलसँग चुनावी तालमेल गर्दैनौँ, केन्द्रमा घोषित रुपमा कोहीसँग तालमेल नगर्ने एमालेको नीति हो। 

घोषित रुपमा चुनावी तालमेल नगर्ने, अघोषित चाहिँ हुन्छ? 

हो, हामी केन्द्रमा कसैसँग घोषित चुनावी तालमेल गर्दैनौँ। तर स्थानीय कमिटीहरूलाई गठबन्धनका लागि रोक्दैनौँ। स्थानीय विशेषताका आधारमा चुनावी तालमेल हुन्छ। 

फेरि वामपन्थी एकताको सवालमा कुरा के हो? 
नेकपा एमाले सबै दलसँग एकताका लागि खुला छ। त्यसका लागि हामी सदैव तयार छौँ। हामी विचार मिल्ने सबैसँग एकताको ढोका खोलिरहनेछौँ। तर, आफूलाई वामपन्थी भनेर कांग्रेसलाई सघाउनेसँग एकता सम्भव छैन। वामपन्थी पार्टीको सरकारलाई ढालेर अर्को सरकार गठन गर्न हिँडेकाहरुसँग एकता सम्भव छैन। ती पार्टीहरुले कालान्तरमा आफूलाई सच्याएर आएमा, आफूलाई वामपन्थी प्रमाणित गरे मात्रै एकताको सम्भावना हुन्छ। हाम्रो निष्कर्ष भनेको उनीहरुसँग अहिले नै एकता सम्भव छैन हो।  

माधव नेपाल र प्रचण्डहरूसँग तत्कालै एकताको सम्भावना देखिँदैन भन्न खोज्नु भएको हो?
हो, उनीहरुसँग एकताको कुनै सम्भावना हामीले देखेका छैनौँ। एउटा पार्टीको हिसाबले हेर्दा त त्यो अपराध नै हो। आफ्नो सरकारलाई ढालेर अर्काे पार्टीको सरकार बनाउने, आफ्नो पार्टीको सरकारविरुद्ध मत हाल्ने कुरा त पार्टी इतिहासमा अक्षम्य अपराधपूर्ण काम हो नि। व्यक्तिगत हिसाबले उहाँहरुले के निर्णय गर्नुभयो? उहाँहरुलाई स्वतन्त्रता छ कि छैन? त्यो फरक कुरा हो, पार्टीको हिसाबले हेर्दा त त्यो गम्भीर राजनीतिक अपराध हो। 

आखिर विचार नमिलेपछि पार्टी फुट्ने त भैहाल्छ नि?  
हो, संसदीय प्रणालीमा पार्टी मुख्य हुन्छ। पार्टी सिस्टमको कुरा यहाँ मैले उठाउन खोजेको हो। पार्टी सिस्टमविरुद्ध जाने व्यक्तिहरुसँग वाम एकता र वाम तालमेल असम्भव कुरा हो। त्यही कुरा हिजोको बैठकमा पनि अध्यक्ष कमरेडले राख्नु भएको हो। 

एमालेका तल्ला कमिटीले चुनावी तालमेल जोसँग पनि गर्न सक्ने भए?
स्थानीय वस्तुस्थिति हेरेर स्थानीय कमिटीहरुले कुनै निर्णय गर्छन् भने हामी केन्द्रबाट हस्तक्षेप गर्दैनौँ। हामी स्थानीय कमिटीका निर्णयलाई स्वीकार्छौँ। पार्टीको अधिकतम हितमा हेरेर स्थानीय कमिटीले गर्ने निर्णयमा केन्द्रले साथ दिन्छ। पार्टीलाई हित हुन्छ र फाइदा हुन्छ भने स्थानीय विशेषताका आधारमा निर्णय गर्न समस्या हुँदैन। तर केन्द्रमै यो वा त्यो पार्टीसँग हाम्रो तालमेल घोषणा हुँदैन। 

पोलिटब्युरो बैठकमा एमालेको अवस्थाबारे कस्तो रिर्पोटिङ आयो? 
खास रिपोर्टिङ चाहिँ ९ गतेको केन्द्रीय कमिटी बैठकमा गर्ने कुरा भयो। पार्टी प्रदेश कमिटी अध्यक्षहरूबाट भूगोलको रिपोर्टिङ आउँछ। 

एमालेको आकलनमा स्थानीय निर्वाचन परिणाम कस्तो आउला?
हाम्रो आकलन चाहिँ हामी ६० देखि ७० प्रतिशत स्थानीय तह जित्छौँ भन्ने हो। अनौपचारिक रुपमा हाम्रा स्थानीय तहहरुले नि यो कुरा भनिरहेका छन्। 

सत्ता गठबन्धनबारे तपाईंहरुको धारणा के हो? 
सत्ता गठबन्धनलाई पनि स्थानीय तह निर्वाचन सजिलो छैन। त्यही भएर त अहिले उनीहरु निर्वाचन आयोगलाई अधिकतम् आफ्नो पक्षमा प्रयोग गरिरहेका छन्। त्यसकै उदाहरण– दुई दिनसम्म मनोनयन गर्ने समय राखिएको छ। 

प्रसंग निकालि जानु भयो, निर्वाचन आयोगबारे तपाईंहरु किन आक्रोशित? 
निर्वाचन आयोग सत्ता गठबन्धनसँग मिलिसकेको छ। दुनियाँमा कहीँ पनि नभएको अभ्यास यहाँ गर्दैछ निर्वाचन आयोगले। दुई दिन किन दिइयो भने, सत्ता गठबन्धनमा पहिलो दिनको मनोनयनमा किचलो हुने भएपछि त्यसलाई मिलाउन भोलिपल्ट पनि समय दिइएको हो। सत्ता गठबन्धनलाई सहज बनाउन नै यो दुई दिन दिइएको हो। 

जनप्रतिनिधिहरुले राजीनामा दिएर मात्रै चुनाव लड्न पाउने भनिएको छ, यसमा एमालेको आपत्ति किन? 
निर्वाचन आयोगको यो निर्णय पनि आपत्तिजनक छ। त्यसलाई हामीले पार्टी बैठकबाट आपत्ति जनाइसकेका छौँ। केन्द्रमा चाहिँ प्रधानमन्त्रीले राजीनामा नदिइ राज्य स्रोत प्रयोग गरेर हेलिकोप्टर चढी चढी चुनाव प्रचार गर्न पाउने तर तल्लो तहमा चाहिँ राजीनामाको व्यवस्था राख्नु आपत्तिजनक छ। तलका जनप्रतिनिधिहरुले राजीनामा दिने कुरा कुनै पद्धतिले दिँदैन, सरकार सञ्चालनको विधिले पनि यसलाई मान्दैन। 

यसमा एमालेको कदम के हुन्छ? 
हामी निर्वाचन आयोगलाई नै त्यसबारे आपत्ति पठाउँछौँ। हाम्रो टोली निर्वाचन आयोगमा डेलिगेसन पनि जान सक्छ। 

आयोगले कोही चाहिँ राज्यको सम्पत्ति प्रयोग गर्दै लड्ने, कोही चाहिँ खाली हुने भएकाले यस्तो गरिएको भनेको छ नि? 
त्यसो भए अब प्रदेश सरकारले पनि राजीनामा गरोस् न त। स्थानीय निर्वाचन हुँदा प्रदेशको कोही मन्त्री झण्डा हल्लाउँदै प्रचारमा निस्किन्छ कि निस्किँदैन? स्थानीय चुनावका बेला शेरबहादुर देउवा सरकारी हेलिकोप्टर चढेर प्रचारमा जान्छन् कि जाँदैनन्? सरकारी गाडी चढेर, अगाडि पछाडि सुरक्षाकर्मी लगाउँदै जान्छन् कि जाँदैनन्? उनीहरुलाई पनि त निर्वाचन आचारसंहिता लाग्ला नि त? स्थानीय तहको त उम्मेदवार भएपछि राजीनामा गर्नुपर्‍यो ल ठीक छ। तर अर्को पक्षको उम्मेदवार जिताउन मन्त्री झण्डा हल्लाउँदै जान्छ कि जाँदैन? कि सरकारी सम्पत्ति नै प्रयोग गर्दैन? यस्तो विरोधाभाष कुरा सच्चिनुपर्छ।

एमालेका जनप्रतिनिधि धेरै भए भन्ने अर्थमा यो नियम आएको हो त?
त्यही भएर त एमालेलाई छेक्न यो नियम ल्याइएको हो। सेटिङ भनेकै यही हो। हिजो अदालतमा सेटिङ थियो, अहिले निर्वाचन आयोगबाट एकपछि अर्को भएका निर्णय पनि सेटिङमा आइरहेका छन्। त्यही भएर हामीले आपत्ति जनाएको हो। एमालेका जनप्रतिनिधि धेरै छन्, त्यही भएर छेक्न गठबन्धनले निर्वाचन आयोगलाई प्रयोग गरेको छ।

यसमा म के भन्छु भने एमालेलाई कसैले पनि नजिस्काउन्। अहिले जे जे धाँधली गरे पनि एमाले अबको निर्वाचनबाट बहुमतसहित फर्किन्छ। सरकार एमालेले चलाउने हो। को को कुन कुन संवैधानिक अंगमा बसेर धाँधली गर्छ, बेइमानी गर्छ, हामी ती सबैको हिसाब गर्छौँ। कसैलाई छाड्दैनौँ। अहिले केही मान्छेलाई एमाले तह लगाइयो भन्ने लागेको होला। जब जनताले एमालेलाई सत्तामा पुनःस्थापित गर्छन्, त्यो सबैको हिसाब किताब हामी गर्छौँ। 

आयोगको निर्णयविरुद्ध अदालततिर जाने कि नजाने? 
हामीले यसमा आपत्ति जनाइसकेका छौँ। हामी ‘अब्जेक्सन लेटर’ पनि पठाउँछौँ। सम्भवतः हाम्रो टोली निर्वाचन आयोगमा डेलिगेसन पनि जान्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .