ग्लोबल


तीन जनाको मृत्यु भएपछि हान्टाभाइरसको त्रास, १४७ जना सवार पानीजहाज पुर्‍याइयो टेनेरिफ

तीन जनाको मृत्यु भएपछि हान्टाभाइरसको त्रास, १४७ जना सवार पानीजहाज पुर्‍याइयो टेनेरिफ

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १४:८, काठमाडौँ

हान्टाभाइरस प्रकोपसँग जोडिएको ‘एमभी होन्डियस’ नामको पानीजहाजलाई स्पेनको टापु टेनेरिफ पुर्‍याइएको छ।

नेदरल्यान्ड्सको झन्डा बोकेको जहाजमा चालकसहित १४७ जना छन्। उनीहरूलाई मेडिकल जाँचपछि आआफ्ना देशमा फिर्ता पठाइनेछ। अहिलेसम्म संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ।

जहाज स्पेनको टेनेरिफ पुग्नुअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले स्थानीयहरूलाई यो कोरोनाजस्तो अवस्था नभएको बताएका थिए।

टेड्रोस शनिबार स्पेनी स्वास्थ्यमन्त्री मोनिका गार्सिया र गृहमन्त्री फर्नान्डो ग्रान्डे-मार्लास्काको साथ टेनेरिफ पुगेका थिए।

त्यहाँ उनले भने, ‘मलाई थाहा छ- मानिसहरू चिन्तित छन्। २०२० को महामारीको सम्झना अझै ताजा छ, तर यो दोस्रो कोरोना होइन। हाल हान्टाभाइरस जनस्वास्थ्यका लागि ठुलो खतरा होइन।’

जहाजलाई क्यानरी टापुको ग्रानाडिला बन्दरगाहमा सुरक्षित दुरीमा रोकिनेछ।

त्यसपछि यात्रुहरूलाई राष्ट्रियताका आधारमा ससानो समूहमा किनारमा ल्याइनेछ। टुर अपरेटर ओसनवाइड एक्सपिडिसनका अनुसार साना डुंगामार्फत एक पटकमा बढीमा १० यात्रुलाई ओरालिनेछ।

संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, बेल्जियम, आयरल्यान्ड र नेदरल्यान्ड्सलगायत धेरै देशले आफ्ना नागरिकको उद्धार गर्न विशेष विमान पठाएका छन्।

अमेरिकी सीडीसीका अनुसार जहाजमा रहेका १७ जना अमेरिकी यात्रुमा हालसम्म कुनै लक्षण देखिएको छैन। उनीहरूलाई नेब्रास्का विश्वविद्यालयको मेडिकल सेन्टरमा लगिनेछ, जहाँ प्रारम्भिक परीक्षणपछि ४२ दिनसम्म उनीहरूको निगरानी गरिनेछ।

स्पेनकी स्वास्थ्यमन्त्री मोनिका गार्सियाले १४ स्पेनी यात्रुलाई पहिले ओरालिने बताएकी छन्। सबै यात्रु र कर्मचारीहरूका लागि एफएफपी२ मास्क अनिवार्य गरिएको छ। यात्रुहरूलाई सैन्य अस्पतालका छुट्टाछुट्टै कोठामा राखिनेछ र दुई-चरणको पीसीआर परीक्षण गरिनेछ।

टेनेरिफमा क्रुज जहाज लगिएपछि स्थानीय विरोध गरेका छन्। बन्दरगाहका कामदारहरूले जोखिम निम्त्याउने भन्दै विरोध प्रदर्शन नै गरेका छन्।

विश्व स्वास्थ्य संगठनले पहिलोपटक मे २ मा हान्टाभाइरस संक्रमण पुष्टि गरेको थियो। डब्ल्यूएचओका अनुसार आम जनतामा यसको जोखिम हाल कम छ।

हान्टाभाइरस प्रायः मुसा तथा अन्य कृन्तक जनावरबाट सर्ने भाइरस हो। यसको संक्रमणले ज्वरो, थकान, श्वासप्रश्वासमा सकसलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यद्यपि विशेषज्ञहरूले हालको अवस्था नियन्त्रण गर्न सकिन खालको भएको बताएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad