ग्लोबल


भारतको सर्वोच्च अदालतभित्रै प्रधानन्यायाधीशमाथि आक्रमण प्रयास

भारतको सर्वोच्च अदालतभित्रै प्रधानन्यायाधीशमाथि आक्रमण प्रयास

नेपालखबर
असोज २०, २०८२ सोमबार १३:४६, काठमाडौँ

सोमबार भारतको सर्वोच्च अदालतमा एक वकिलले प्रधानन्यायाधीश (सीजेआई) बीआर गवईमाथि आक्रमण गर्ने प्रयास गरेका छन्।

प्रधानन्यायाधीश गवईको नेतृत्वमा रहेको बेन्चले मुद्दा सुनुवाइ गरिरहेका बेला आक्रमण प्रयास भएको हो। 

स्रोतलाई उद्धृत गर्दै दैनिक भास्करले लेखेअनुसार, वकिल डेस्कमा पुगे र आफ्नो जुत्ता फुकालेर प्रधानन्यायाधीशमाथि प्रहार गर्ने प्रयास गरे। यसपछि अदालतमा रहेका सुरक्षाकर्मीहरूले उनलाई समातेर लगे।

अदालतबाट बाहिर निस्कने क्रममा वकिलले नारा लगाए, ‘हामी सनातन धर्मको अपमान सहन सक्दैनौँ।’

घटनापछि, प्रधानन्यायाधीशले अदालतमा उपस्थित वकिलहरूलाई आफ्नो बहस जारी राख्न भने।

उनले भने, ‘यस्ता कुराबाट विचलित नहुनुहोस्। मलाई पनि यस्ता कुराले विचलित गर्दैन, फरक पार्दैन।’

मध्य प्रदेशको खजुराहोमा भगवान विष्णुको ७ फिट अग्लो काटिएको मूर्तिको पुनर्स्थापनामा प्रधानन्यायाधीश गवईको टिप्पणीबाट वकिल रिसाएको अनुमान गरिएको छ।

मूर्तिको मुद्दा खारेज गर्दा प्रधानन्यायाधीशले भनेका थिए, ‘जानुहोस् र भगवान्‌लाई आफैँ गर्न भन्नुहोस्। तपाईं आफू भगवान् विष्णुको कट्टर भक्त हुँ भन्नुहुन्छ, गएर उनैलाई प्रार्थना गर्नुहोस्।’

मूर्तिको विवाद के हो?
सेप्टेम्बर १६ मा सर्वोच्च अदालतले मध्य प्रदेशको खजुराहोमा रहेको जावरी (वामन) मन्दिरमा रहेको भगवान् विष्णुको ७ फिट अग्लो भाँचिएको मूर्ति पुनर्स्थापनाका लागि गरिएको याचिका खारेज गर्‍यो। यसप्रति निवेदकले असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘यो निर्णयले धार्मिक भावनामा चोट पुर्‍याउँछ।’

अदालतले भन्यो, ‘मूर्ति यसको मूल अवस्थामा रहनेछ। पूजा गर्न चाहने भक्तहरूले अन्य मन्दिरमा जान सक्छन्।’

निवेदकले मुगल आक्रमणका बेला मूर्ति भाँचिएको र त्यसबेलादेखि नै यो अवस्थामा रहेको दाबी गरेका थिए।

त्यसैले भक्तहरूको पूजा गर्ने अधिकार रक्षा गर्न र मन्दिरको पवित्रता पुनर्स्थापित गर्न सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने माग निवदेकले गरेका थिए। 

मुद्दाका निवेदक राकेश दलालले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई आफ्नो धार्मिक भावनाको अपमान भनेका छन्।

उनका अनुसार अदालतले मूर्ति आफ्नो मौलिक अवस्थामा रहने कुरा पनि स्पष्ट पारेको छ। अनि पूजा गर्न चाहने भक्तहरू अर्को मन्दिरमा जान सक्छे बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad