धादिङमा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ परेका यमबहादुर कडेँलको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग संवाद गर्दै जंगिएको भिडिओ यतीबेला भाइरल बनेको हो।
हातमा हेल्मेट बोकेको यमबहादुरले प्रहरीलाई सक्छौ भने गोली हान्नु न सर, म डराएको छु? हेर्नू त मेरो आँखामा डर छ सर? भन्दै प्रहरीसँग संवाद गरेको भिडिओ जेन–जी प्रदर्शनकै क्रममा भाइरल थियो।
उक्त भिडियो पुनः भाइरल बन्नुको कारण हो, देशका लागि सडकमा उत्रिएका युवाले आफ्नै जन्मदिने आमालाई भाला प्रहार गरी गरेको हत्या।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापा कटेरीमा आइतबार राति १० बजे ३० वर्षका यमबहादुरले आफ्नै ५५ वर्षीया आमा राममायाको हत्या गरेको अवस्थामा छिमेकीहरुले फेला पारेर प्रहरीलाई खबर गरिदिएका थिए।
राममायाको शरीर र टाउको छुट्टीएको अवस्थामा फेला परेपछि प्रहरीले यमबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धादिङमा राखेको छ। यता, राममायाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा राखिएको प्रहरीले जनाएको छ।
यमबहादुर सानैदेखि निडर स्वभावको रहेको र हालसम्म प्रहरीकोमा उनीविरुद्ध ३-४ वटा मुद्दाहरु समेत रहेको पाइएको स्थानीय जनप्रतिनिधि बताउँछन्। सोही वडाका वडाध्यक्ष कुशबहादुर सिटौलाका अनुसार काठमाडौँमा एड्भेञ्चर अफिस चलाएर बस्ने यमबहादुर फूलपातिको दिन दसैँ मनाउन घर आएका थिए।
मृतक राममायाका श्रीमान् रामबहादुरको भनाइ उदृत गर्दै वडाध्यक्ष सिटौलाले नेपालखबरसँग भने, ‘छोराले तल बोलाएपछि हत्तारमा दुवैजना तल झर्नुभएछ। सोही बेला आमा आँगनमा आइनपुग्दै यमबहादुरले खुँडाले तीनपटक गर्धनमा हान्यो रे। त्यतिगर्दा पनि टाउको नछिनेपछि टाउको समातेर रेटेर टाउको केही पर फालिदिएको रहेछ।’
श्रीमतीलाई छोराले हत्या गरेको रामबहादुरले हेरिहरे। यमबहादुरले पख अब तिमीहरु दुईजनाको पालो भन्दै १२ वर्षका भान्जा र रामबहादुरलाई खुँडा तेर्साएपछि भान्जा भागेर गाउँमा मान्छे बोलाउन निस्किएको वडाध्यक्ष सिटौलाले जानकारी दिए।
‘हामी पुग्ने बेलासम्ममा आमा दुई टुक्रा बनाइसकेको थियो। बाबुचाहिँ पनि सख्त घाइते अवस्था भेटिए,’ उनले भने, ‘बावुलाई पनि मार्न खोजेको रैछ। मैले आमा मारेर राम्रो गरेँ कि गरिनँ भन त? भन्दै कुटपिट गर्न थालेपछि ज्यान जोगाउनका लागि बुवाले छोराकै सर्पोट लागेर ठिक गरिस् बाबु भन्दै हौसाएर राखेका रहेछन्। छिमेकी पुग्दा छिमेकीलाई नै मार्न खोजेको थियो। प्रहरी आएपछि मात्रै खुँडा हातबाट छोडेको हो।’
लागुऔषध तथा मादकपदार्थ समेत सेवन गर्ने यमबहादुर यसअघि पनि ज्यानमार्ने अभियोगको दुईवटा मुद्दा खेपिरहेका व्यक्ति रहेको उनले बताए। उनले अभद्र व्यवहार, ज्यान मार्ने कसुर, लागुऔषध मुद्दा लगायतको मुद्दामा पटक/पटक जेल सजाय भोगेका थिए।
Shares

प्रतिक्रिया