दिल्लीको जन्तरमन्तरमा आमरण अनशन बसेका वातावरणीय अभियन्ता सोनम वाङचुकलाई शनिबार बिहान प्रहरीले जबरजस्ती सफदरजंग अस्पताल लगेको छ। उनी अनशन बसेको आज एक्काइसौँ दिन हो।
अस्पतालका अधिकारीहरूका अनुसार लामो समयसम्म अनशन बसेका कारण उनमा हल्का कमजोरी र शरीरमा पानीको कमी देखिएको छ। यद्यपि उनको अवस्था हाल स्थिर छ भने अन्य सबै स्वास्थ्य मापदण्ड सामान्य छन्।
डा. चारु बम्बाले समाचार एजेन्सी एएनआईसँग भनेकी छन्, ‘सोनम वाङचुक आज बिहान ७:४० बजेतिर हाम्रो अस्पताल आइपुगेका थिए। लामो समयसम्म अनशन बसेका कारण उनमा हल्का कमजोरी र पानीको थोरै कमी छ।’
डा. चारुका अनुसार, ‘वाङचुकका सबै महत्त्वपूर्ण प्यारामिटर सामान्य छन्। उनको निरन्तर निगरानी र उपचार भइरहेको छ। उनी पूर्ण रूपमा होसमा र स्थिर छन्। अस्पताल आइपुगेपछि उनलाई सुरुमा आपत्कालीन औषधि विभागले उपचार गर्यो र यसपछि भर्ना गरियो।’
अस्पताल प्रशासनले उनलाई केही समय अस्पतालकै निगरानीमा राखिने जनाएको छ।
निट परीक्षामा भएको अनियमितताविरुद्ध गत जुन २८ देखि वाङचुक अनिश्चितकालीन अनशनमा बसेका हुन्। उनको स्वास्थ्य बिग्रिँदै गएपछि आज बिहान प्रहरीले उठाएर अस्पताल पुर्याएको हो।
सोनम वाङचुककी श्रीमती गीताञ्जली जे. आङ्मोले उनको सहमतिबिना मुख वा नसाबाट केही नखुवाउन अनुरोध गरेकी छन्।
गीताञ्जलीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म दिल्लीको सफदरजंग अस्पतालमा छु, जहाँ सोनम वाङचुक भर्ना भएका छन्। कृपया म, उनको परिवार र २० दिनदेखि उनको स्वास्थ्यको निगरानी गरिरहेका डाक्टरहरूबाट सहमति नआएसम्म उनलाई मुख वा नसाबाट कुनै पनि औषधि वा तरल पदार्थ नदिनुहोस्।’
यसैबिच ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकले अनिश्चितकालीन अनशनमा बस्ने घोषणा गरेका छन्।

सीजेपीले सामाजिक सञ्जालमा लेखेको छ, ‘जुलाई २० मा हुने तय भएको 'चलो संसद्' मार्च तालिकाअनुसार नै अगाडि बढ्नेछ।’
Shares

प्रतिक्रिया