अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले शुक्रबार राति पनि इरानका विभिन्न प्रान्तमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इरानका विभिन्न प्रान्तमा जारी अमेरिकाको आक्रमणका कारण अहिलेसम्म कम्तीमा ३८ जनाको मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावरसहित नागरिक पूर्वाधारमा पनि हमला गरिएको जनाइएको छ।
इरानको प्रेस टीभीका अनुसार होर्मोजगन, बुसेहर, सिस्तान र बलूचिस्तान, खुजेस्तान र लोरेस्तान प्रान्तमा आक्रमण गरिएको हो।
आक्रमणमा चाबहारको साहिद कलन्तरी बन्दरगाहमा रहेको सामुद्रिक नियन्त्रण टावर ध्वस्त भएको छ। यद्यपि प्रेस टीभीको रिपोर्टअनुसार बन्दरगाहको कार्गो सुविधा र अन्य पूर्वाधारमा कुनै हताहत भएको छैन।
यूएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार चाबहारको इरानको शाहिद कलान्तरी बन्दरगाहमा रहेको निगरानी टावरलाई ‘सफलतापूर्वक नष्ट’ गरिएको पुष्टि गरेको छ।
जुन इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) द्वारा ओमानको खाडीमा, होर्मुजको जलमार्ग हुँदै व्यापारिक ढुवानीको निगरानी गर्न प्रयोग गरिएको समुद्री निगरानी नेटवर्कको केन्द्र भएको बताइएको छ।
इरानी समाचार एजेन्सी इरनाले प्राविधिक र परिचालन टोलीहरूले क्षतिको आकलन गर्न, प्रभावित क्षेत्र सुरक्षित गर्न र बन्दरगाह गतिविधि पुनः सुरु गर्ने कदमको समीक्षा गर्न थालेको बताएको छ।
सुरक्षा जाँच पूरा भएपछि कार्गो सञ्चालन पुनः सुरु हुने अपेक्षा गरिएको छ।
यसैबिच होर्मोजगन प्रान्तका अधिकारीहरूले खमीर काउन्टीका छ वटा पुलसहित धेरै स्थानमा आक्रमण भएपछि ठुलो क्षति भएको रिपोर्ट गरेका छन्।
होर्मोजगन गभर्नरको कार्यालयले आक्रमणमा सात जनाको मृत्यु भएको र नौ जना घाइते भएको बताएको छ।
अधिकारीहरूले आक्रमणले बन्दर अब्बास, बन्दर खमीर र लारलाई जोड्ने यातायात मार्गलाई असर गरेको बताएका छन् भने आपत्कालीन टोली वैकल्पिक मार्गमार्फत आवागमन सञ्चालन गर्न गर्न सक्रिय रहेको बताइएको छ।
आवासीय क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको बताउदै इरानी अधिकारीहरूले पनि बन्दर अब्बासमा हताहत भएको जानकारी दिएका छन्।
प्रान्तीय अधिकारीहरूलाई उधृत गर्दै प्रेस टीभीले रिपोर्ट गरेअनुसार सहरको एउटा रेलवे शाखा स्टेसनमा क्षति भएको छ, जसमा दुई जना घाइते भएका छन्।
बुसेहर प्रान्तमा गभर्नर मोहम्मद मोजाफारीले केही घण्टाभित्रै दुईवटा आक्रमण भएको र एक जना घाइते भएको बताएका छन्।
खुजेस्तान प्रान्तका उपगभर्नर वालियोल्लाह हयातीले अमेरिकी सेनाले अहवाज वरपरका क्षेत्रलाई लक्ष्य गरी आक्रमण गरेको बताएका छन् भने अधिकारीहरूले क्षतिको मूल्यांकन भइरहेको जानकारी दिएका छन्।
यसअघि इरानी अधिकारीहरूले अहवाज नजिकैको आक्रमणले क्यान्सरको उपचारमा विशेषज्ञता प्राप्त शाहिद बाघाई अस्पताललाई अस्थायी रूपमा खाली गर्न बाध्य पारेको आरोप लगाएका थिए।
पश्चिमी इरानको लोरेस्तान प्रान्तमा, उप गभर्नर सईद पौरालीले चेगेनी काउन्टीको वेसियान जिल्लामा आक्रमण भएको रिपोर्ट गरिएको बताएका छन्।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले तटीय निगरानी प्रणाली, हवाई रक्षा स्थलगायतका पूर्वाधार र समुद्री सम्पत्तिलगायत सैन्य क्षमतालाई निसाना बनाउँदै इरानविरुद्ध तीव्र आक्रमण गरिएको बताएको छ।
इरानी अधिकारीहरूले अमेरिकाले नागरिक पूर्वाधारमा हमला गरेको आरोप लगाएका छन् भने वासिङ्टनले आफ्नो कारबाहीको उद्देश्य इरानी सैन्य क्षमता घटाउनु र क्षेत्रीय सुरक्षाविरुद्धका खतराको जवाफ दिनु रहेको बताएको छ।
उता इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी अड्डामा हमला गरिएको दाबी गर्दै यस क्षेत्रमा अमेरिकी सैन्य सम्पत्तिविरुद्ध जवाफी आक्रमण घोषणा गरेको छ।
Shares

प्रतिक्रिया