ग्लोबल


ट्रम्पको दाबी: इरानका नयाँ सर्वोच्च नेता मोज्तबा ‘९० प्रतिशत समाप्त’

ट्रम्पको दाबी: इरानका नयाँ सर्वोच्च नेता मोज्तबा ‘९० प्रतिशत समाप्त’

सर्वोच्च नेता बन्नुभन्दा पहिले मोज्तबा खामेनी


नेपालखबर
असार ३०, २०८३ मंगलबार १४:४६, काठमाडौँ

आफ्ना बुवा अयातोल्लाह अली खामेनी मारिएपछि इरानको नयाँ सर्वोच्च नेता बनेका मोज्तबा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा गरेको हवाई आक्रमणमा मारिएका तत्कालीन सर्वोच्च नेता अलि खामेनीको केही दिनअघि (जुलाई १० मा) मात्र गरिएको अन्त्येष्टिमा समेत उनी सहभागी भएनन्। 

जसले गर्दा उनको अवस्थाबारे व्यापक अड्कलबाजी भइरहेको छ।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी ‘९० प्रतिशत समाप्त भएको’ दाबी गरेका छन्। 

सोमबार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘उनीहरू (इरान) सँग न नौसेना बाँकी छ, न वायुसेना बाँकी छ, सबै कुरा समाप्त भएको छ। उनीहरूको वायु रक्षा प्रणाली समाप्त भएको छ। उनीहरूका सबै नेता मारिएका छन्। खामेनी खत्तम भइसकेका छन् र उनका छोरा पनि ९० प्रतिशत समाप्त भएका छन्।’

यद्यपि गत शनिबार मोज्तबा खामेनीको नाममा जारी गरिएको लिखित सन्देशमा इरानले पूर्वसर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिने चेतावनी दिइएको छ। 

अप्रिलमा मोज्तबा गम्भीर घाइते भएको समाचार
गत अप्रिल २३ मा अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी अमेरिका-इजरायलको हवाई आक्रमणमा गम्भीर घाइते भएको रिपोर्ट प्रकाशन गरेको थियो।

उक्त पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको थियो, ‘उनको एउटा खुट्टामा तीनपटक शल्यक्रिया गरिएको छ र अब उनी कृत्रिम खुट्टा लगाउने पर्खाइमा छन्। उनको एउटा हातको पनि शल्यक्रिया गरिएको छ र यसले बिस्तारै काम गर्न थालेको छ। उनको अनुहार र ओठ नराम्ररी जलेको छ, जसले गर्दा उनलाई बोल्न गाह्रो भएको छ।’

अनि न्युयोर्क टाइम्सको त्यस रिपोर्टमा मोज्तबा खामेनीले ‘तत्कालका लागि निर्णय गर्ने जिम्मेवारी रिभोलुसनरी गार्ड्सको वैचारिक सेनाका जनरलहरूलाई सुम्पेको’ पनि उल्लेख थियो।

गत फेब्रुअरी २८ मा तत्कालीन सर्वोच्च नेता अलि खामेनी मारिएपछि उनका छोरा मोज्तबा मार्च ९ मा नयाँ सर्वोच्च नेता बनेका थिए। तर त्यसयता अहिलेसम्म उनी सार्वजनिक रूपमा देखापरेका छैनन्। उनका लिखित सन्देश भन्दै अरूले नै पढेर सुनाउने गरेका छन्।  

उनका बुवाको अन्त्येष्टिका दिन यही जुलाई १० मा उनी पहिलोपटक सार्वजनिक हुने अपेक्षा गरिएको थियो। तर त्यस दिन पनि उनी देखिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad