ग्लोबल


यूएईको आरोप: हर्मुजमा इरानले हाम्रा दुई जहाजमा क्रुज मिसाइल हान्यो

यूएईको आरोप: हर्मुजमा इरानले हाम्रा दुई जहाजमा क्रुज मिसाइल हान्यो

नेपालखबर
असार ३०, २०८३ मंगलबार ८:१३, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्ना दुई तेल ट्यांकरमा भएको आक्रमणका लागि इरानलाई दोष दिएको छ।

यूएई र बहराइनका अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

बहराइनको रक्षा मन्त्रालयले भनेको छ, ‘दुई तेल ट्यांकरहरू मोम्बासा र बाहियालाई इरानले प्रहार गरेका दुई क्रुज मिसाइलले निसाना बनाएका थिए। आक्रमण हर्मुज स्ट्रेटको दक्षिणी भाग र ओमानको समुद्री क्षेत्रमा गरिएको थियो।’

इरानको रिभोलुसनरी गार्ड्सले पनि आक्रमणको जिम्मेवारी लिएको छ। विज्ञप्ति जारी गर्दै उसले हमलाको सिकार भएका जहाजले नियम उल्लंघन गरेको दाबी गरेको छ।

यसैबिच इरानी सैन्य स्रोतसँग सम्बन्धित समाचार एजेन्सीले ‘नियम उल्लंघन गर्ने धेरैवटा जहाजमा आक्रमण गरिएको’ दाबी गरेका छन्। तर आक्रमणको स्रोत वा जिम्मेवार पक्ष उल्लेख गरेका छैनन्।

यसअघि बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले मंगलबार बिहान ओमानको कल्हाटबाट ४० समुद्री माइल उत्तरपूर्वमा समुद्री घटनाको रिपोर्ट गरेको थियो।

यूकेएमटीओका अनुसार एक तेल ट्यांकरका क्याप्टेनले जहाजको इन्जिन कक्षको दाहिने छेउमा अज्ञात प्रक्षेपण प्रहार भएको बताएका छन्। यद्यपि चालक दलका सबै सदस्य सुरक्षित रूपमा जहाजमै रहेको बताइएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाह हर्मुज स्ट्रेटमा फेरि नाकाबन्दी गर्ने घोषणा गरेका बेला उक्त घटना भएको हो। 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हर्मुज स्ट्रेट खुला छ र इरानका साथ वा ऊबिना पनि खुला रहनेछ। हामी 'इरानी नाकाबन्दी' पुन: लागु गर्दैछौँ। यसलाई यस्तो नाम दिइएको छ, किनभने यसको उद्देश्य केवल इरानी जहाज वा उसका ग्राहकका जहाजलाई आउजाउ गर्न रोक्नु हो।’

अन्य सबै देशलाई भने यो जलमार्ग निष्पक्ष र खुला रूपमा प्रयोग गर्न दिइने उनले उल्लेख गरेका छन्। 

अगाडि लेखेका छन्, अबदेखि संयुक्त राज्य अमेरिकालाई 'हर्मुज स्ट्रेटको संरक्षक' भनिनेछ। र, निष्पक्ष आधारमा यस संवेदनशील समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न लाग्ने सबै खर्च उठाउन यस जलमार्ग प्रयोग गर्ने प्रत्येक मालवाहक जहाजलाई २० प्रतिशत शुल्क लगाइनेछ। यो व्यवस्था लागु गर्ने प्रक्रिया तुरुन्तै सुरु हुनेछ।’

अमेरिकी सेनाका अनुसार ट्रम्पको आदेशपछि मंगलबार राति ८ बजेदेखि इरानी बन्दरगाहमा नाकाबन्दी पुनः लागु गरिनेछ।

उता इरानको शीर्ष सैन्य मुख्यालय 'खात्म अल-अन्बिया'ले भने अमेरिकालाई हर्मुजमा हस्तक्षेप गर्न नदिइने चेतावनी दिएको छ। 

इरानको सैन्य मुख्यालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘हर्मुज स्ट्रेटमा अमेरिकाको बारम्बारको हर्कतले सम्पूर्ण क्षेत्रको सुरक्षालाई गम्भीर जोखिममा पारेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामीले अमेरिकालाई यो महत्त्वपूर्ण समुद्री मार्ग नियन्त्रणमा लिन कहिल्यै अनुमति दिएका छैनौँ र दिने पनि छैनौँ।’

नाकाबन्दीका लागि अमेरिकालाई गरिने कुनै पनि सहयोलाई ‘इरानको सार्वभौमसत्ताविरुद्धको युद्ध मानिने’ चेतावनी पनि इरानी सेनाले दिएको छ।

इरानी सेनाले अगाडि भनेको छ, ‘यदि द्वन्द्व अझ फैलियो भने युद्धको आगोले यस क्षेत्रका सबै देशलाई निल्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad