अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ‘सम्झौता हुनै लागेका बेला’ अचानक इरानले एउटा जहाजमा ड्रोन हमला गरेको आरोप लगाएका छन्।
ट्रम्पले सीएनएनसँग भनेका छन्, ‘उनीहरू (इरान) लगभग सबै कुरामा सहमत हुन तयार थिए तर फेरि दुई घण्टापछि एउटा जहाजमा ड्रोन आक्रमण गरे।’
इरानी अधिकारीहरूको आलोचना गर्दै उनले थपे, ‘यी मानिसहरूमा केही न केही समस्या छ।’
इरानले जहाजमा गरेको आक्रमणको जवाफमा अमेरिकाले ‘धेरै कडा आक्रमण’ गरेको उनले बताएका छन्।
इरानले हर्मुज स्ट्रेटमा साइप्रस झन्डावाला कन्टेनर जहाजमा आक्रमण गरेको भन्दै अमेरिकाले शनिबार राति इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई हमला गरिएको बताएको छ।
उता इरानले भने अनधिकृत रूपमा जहाज प्रवेश गर्न थालेपछि हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको बताएको छ।
सेन्टकमले एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक जहाजमा यसअघि गरिएको हमलाका बेला जवाफदेहिता निर्धारण गरिसकेपछि पनि इरानलाई सम्झौता पालना गर्ने अर्को अवसर दिइएको थियो, तर यो फेरि असफल भयो।’
अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले सेन्टकमको विज्ञप्ति सेयर गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्यो। अब उसले मूल्य चुकाउनुपर्नेछ।’
यसैबिच अमेरिकी सेनाले हर्मुज स्ट्रेट खुला नै रहेको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलमार्ग खुला रहेको र जहाजहरूको आवतजावत सुनिश्चित गर्न आफ्नो सेना तैनाथ रहेको बताएको हो।
सेन्टकमले भनेको छ, ‘यस अन्तर्राष्ट्रिय जलमार्ग (हर्मुज स्ट्रेट) कानुनी रूपमा यात्रा गर्न चाहने सबै जहाजका लागि खुला छ। इरानको बिनाकारण शत्रुतापूर्ण कार्य, उत्पीडन, धम्की र एकपक्षीय घोषणाका बाबजुद समुद्री आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकी सेना तैनाथ र तयार छ।’
सेन्टकमले अगाडि भनेको छ, ‘इरानले हर्मुज स्ट्रेट नियन्त्रण गर्दैन।’
Shares

प्रतिक्रिया