ग्लोबल


नेतन्याहु सरकारको कार्यकाल सकिँदै, अक्टोबर २७ मा चुनाव

नेतन्याहु सरकारको कार्यकाल सकिँदै, अक्टोबर २७ मा चुनाव

नेतन्याहु नेतृत्वको इजरायलको ३७औँ सरकारको तस्बिर।


नेपालखबर
असार २९, २०८३ सोमबार १३:३०, काठमाडौँ

क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबिच इजरायलले आगामी अक्टोबर २७ मा आम चुनाव गर्ने भएको छ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहु नेतृत्वको सरकारले चारवर्षे संसदीय कार्यकाल पूरा गरेपछि निर्धारित समयमै चुनाव हुन लागेको हो।

द टाइम्स अफ इजरायलका अनुसार सत्तारूढ लिकुड पार्टीका वरिष्ठ नेता ओफिर काट्जले चुनावको मिति पुष्टि गरेका छन्।

वर्तमान नेसेट (संसद्) को चारवर्षे कार्यकाल जुलाई १७ मा समाप्त हुँदै छ र त्यसै दिन संसद् औपचारिक रूपमा निर्वाचन अवकाशमा प्रवेश गर्नेछ।

निर्धारित समयमै आम चुनाव हुन लागेकाले यो सन् १९८८ यताकै पहिलो नियमित संसदीय निर्वाचन हुनेछ। साथै,नेतन्याहु नेतृत्वको सरकारले पूरा चारवर्षे कार्यकाल सम्पन्न गर्ने पछिल्ला करिब पाँच दशकयताकै पहिलो सरकार बन्ने उल्लेख गरिएको छ।

सत्तारूढ गठबन्धनले संसदीय कार्यतालिका पूरा गरी संविधानअनुसार निर्वाचन गराउन आग्रह गरेपछि निर्वाचन मिति तय गरिएको छ।

निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको अन्तिम सूची आगामी सेप्टेम्बर ७ भित्र बुझाइसक्नुपर्नेछ।

सन् २०२२ मा दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै पुनः सत्तामा फर्केका प्रधानमन्त्री नेतन्याहुले सन् २०२३ अक्टोबरमा हमासले गरेको आक्रमणपछि तीव्र राजनीतिक दबाब सामना गरिरहेका छन्।

उनीविरुद्ध सन् २०१९ देखि चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ पनि जारी छ।

उक्त मुद्दामा दोषी ठहरिए जेल सजाय हुन सक्ने अवस्था छ।

यससँगै गाजा, लेबनान र इरानसँग सम्बन्धित क्षेत्रीय द्वन्द्वको व्यवस्थापन र सुरक्षा नीतिका विषयमा पनि नेतन्याहु सरकारविरुद्ध स्वदेश तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर समीक्षा र आलोचना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad