ग्लोबल


जहाजमा हमला गर्दै इरानले भन्यो: हर्मुज जलमार्ग बन्द

जहाजमा हमला गर्दै इरानले भन्यो: हर्मुज जलमार्ग बन्द

नेपालखबर
असार २८, २०८३ आइतबार ६:८, काठमाडौँ

इरानले आइतबार तेल ढुवानी गर्ने जलमार्ग हर्मुज स्ट्रेट बन्द गरिएको घोषणा गरेको छ। साथै यसविरुद्ध कुनै कारबाही गरिए ‘कडा जवाफ’ दिने चेतावनी पनि दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका एक नौसेनाले भनेका छन्, ‘एउटा जहाजले आफ्नो प्रणाली बन्द गरेर समुद्री सुरक्षालाई खतरामा पारेको थियो। त्यसविरुद्ध हमला गरियो र रोकियो।’

यद्यपि उक्त जहाजबारे विस्तृत जानकारी दिइएको छैन। 

विज्ञप्तिमा धेरै जहाजले अनधिकृत बाटोबाट जलमार्ग प्रवेश गर्न खोजेको र चेतावनी दिँदा बेवास्ता गरेको आरोप लगाइएको छ।

रोयटर्सका अनुसार आईआरजीसीले भनेको छ. ‘अर्को सूचना नभएसम्म र यस क्षेत्रमा अमेरिकी हस्तक्षेपको अन्त्य नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको छ।’

हालै शान्ति सम्झौतामा हस्ताक्षर गरे पनि अमेरिका र इरानबिच केही दिनयता फेरि हानाहान भइरहेको छ। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता भंग भइसकेको घोषणा गरेका छन्। यद्यपि इरानको अनुरोधमा वार्ता पनि जारी रहेको दाबी गरेका छन्। 

यसैबिच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले शनिबार लिखित सन्देश जारी गर्दै आफ्ना बुबा अयातोल्लाह अली खामेनीको रगतको बदला 'कुनै हालतमा लिइने' घोषणा गरेका छन्।

मोज्तबाको नाममा जारी लिखित सन्देशमा युद्धको पहिलो दिन फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा मारिएका अली खामेनीको खुनको बदला लिइने उल्लेख गरिएको छ।

पूर्वसर्वोच्च नेता अलि खामेनीको अन्त्येष्टिमा उपस्थित सबैलाई धन्यवाद दिँदै उनले आफ्नो सन्देशमा भनेका छन्, 'हामी तपाईंको शुद्ध रगत र यी दुई युद्धका सबै सहिदहरूको रगतको बदला यी अपराधी र कुख्यात हत्याराहरूबाट लिने प्रतिज्ञा गर्छौं। यो बदला हाम्रा जनताको माग हो र यो कुनै पनि हालतमा लिइनेछ।'

आफ्नो पछिल्लो सन्देशमा मोज्तबा खामेनीले भनेका छन्, 'हामीसँग यी अपराधीहरूको पूर्ण सूची छ। तितिनीहरूले बुझ्नुपर्छ- यो कुरा केवल म वा अन्य अधिकारीमा निर्भर गर्दैन। हामी बाँचौँ वा नबाँचौँ, यो काम गरिनेछ। चाँडै नै विश्वभरका स्वतन्त्रताप्रेमी मानिसहरूले यो जिम्मेवारीको आफ्नो हिस्सा लिनेछन्।'

यस्तै उनले इरानी जनताले इमाम हुसेनको रगतको बदला लिने पनि उल्लेख गरेका छन्।

आफ्ना बुबाको मृत्युपछि इरानका सर्वोच्च नेता बनेका मोज्तबा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्।

उनी न त अली खामेनीको अन्त्येष्टिमा उपस्थित भए न त कुनै भिडिओ वा अडिओ सन्देशमा स्वयं उपस्थित भएका छन्।

अहिलेसम्म उनको नाममा केवल अरूले लिखित सन्देश जारी गरिरहेका छन्।

उता अमेरिकाका राष्ट्रपति ट्रम्पले भने आफ्नो हत्या प्रयास गरिए इरान ध्वस्त हुने चेतावनी दिएका छन्। 

‘हजार मिसाइल तयार छन्, जसले इस्लामिक गणतन्त्र इरानलाई ताकिरहेका छन्। र, थप हजारौँ मिसाइल तुरुन्त प्रहार गरिनेछ, ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, इरानले अमेरिकाका वर्तमान राष्ट्रपतिलाई विश्वका जुनसुकै कुनामा गए पनि मार्ने भनेर दिएको धम्कीअनुसार मलाई मार्‍यो वा मार्ने कोसिस गर्‍यो भने मैले अगाडि नै निर्देशन दिइसकेको छु, अमेरिकी सेना एक वर्षभित्र वा समय थप गर्न पनि सकिन्छ- इरानका सबै क्षेत्र पूर्ण रूपमा ध्वस्त पार्न तयार र सक्षम छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad