ग्लोबल


इरानले भन्यो: एकपक्षीय सम्झौताको युग सकियो

इरानले भन्यो: एकपक्षीय सम्झौताको युग सकियो

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफ


नेपालखबर
असार २८, २०८३ आइतबार १७:५७, काठमाडौँ

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले "एकपक्षीय सम्झौताको युग समाप्त भएको" बताएका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संकेत गर्दै उनले एक्समा लेखेका छन्, ‘एकपक्षीय सम्झौताको युग समाप्त भएको छ। हामीले तपाईंलाई आफ्नो वचनमा अडिग रहन भन्यौँ, नत्र परिणाम भोग्न भन्यौँ। वास्तविकता बाहिर आउँदै छ।’

उनले अमेरिकासँग भएको सम्झौताको पाँचौँ बुँदाको स्क्रिनसट पनि सार्वजनिक गरेका छन्। 

जसमा भनिएको छ, ‘सम्झौतापत्रमा हस्ताक्षर गरेपछि इरानले व्यावसायिक जहाजहरूलाई फारसी खाडीबाट ओमानको खाडीमा ६० दिनसम्म कुनै कर बिना सुरक्षित रूपमा जान अनुमति दिनेछ।’

रोयटर्सका अनुसार आईआरजीसीले भनेको छ. ‘अर्को सूचना नभएसम्म र यस क्षेत्रमा अमेरिकी हस्तक्षेपको अन्त्य नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको छ।’

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।

सेन्टकमका अनुसार इरानले हर्मुज स्ट्रेटमा साइप्रस झन्डावाला कन्टेनर जहाजमा आक्रमण गरेपछि जवाफी हमला गरिएको हो।

जहाजमा आगो लागेको छ भने इन्जिनमा व्यापक क्षति भएको छ। र, चालक दलका एक सदस्य बेपत्ता भएका छन्।

सेन्टकमले एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक जहाजमा यसअघि गरिएको हमलाका बेला जवाफदेहिता निर्धारण गरिसकेपछि पनि इरानलाई सम्झौता पालना गर्ने अर्को अवसर दिइएको थियो, तर यो फेरि असफल भयो।’

अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले सेन्टकमको विज्ञप्ति सेयर गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्‍यो। अब उसले मूल्य चुकाउनुपर्नेछ।’

यसैबिच इरानले बदलामा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको इरानको सरकारी टीभी आईआरआईबीले जनाएको छ।

यद्यपि अमेरिका, कुवेत र बहराइनले अहिलेसम्म आक्रमणको पुष्टि गरेका छैनन्।

यस हप्ताको सुरुमा इरानले हर्मुजमा तीन व्यावसायिक तेल ट्यांकरमा आक्रमण गरेपछि अमेरिकासँग आक्रमणको शृंखला सुरु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad