ग्लोबल


शेख हसिनाको घोषणा: मर्नु परे पनि आफ्नै माटोमा मर्छु, बंगलादेश फर्किन्छु

शेख हसिनाको घोषणा: मर्नु परे पनि आफ्नै माटोमा मर्छु, बंगलादेश फर्किन्छु

शेख हसिना (फाइल फोटो)


नेपालखबर
असार २७, २०८३ शनिबार १३:५२, काठमाडौँ

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा भारतबाट बंगलादेश फर्कने र अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्।

रोयटर्ससँगको अन्तर्वार्तामा उनले आफूसँगै अवामी लिगका धेरै जना वरिष्ठ नेताले आत्मसमर्पण गर्ने बताएकी छन्।

‘म फर्किएपछि उनीहरूले मलाई पक्राउ गर्न सक्छन्, मार्न पनि सक्छन्’, ७८ वर्षीया हसिनाले रोयटर्ससँग बिहीबार र शुक्रबार लगभग एक घण्टा भएको टेलिफोन अन्तर्वार्तामा भनिन्, ‘तैपनि म जानुपर्छ, मेरो पार्टीका नेता र कार्यकर्ताहरूमाथि धेरै दबाब दिइँदै छ। मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु, जहाँ मेरा आमाबाबुलाई गाडिएको छ, जहाँ उहाँहरूको रगत बगेको छ।’

यद्यपि हसिनाले आफ्नो फिर्ताको मिति तोकेकी छैनन्।

बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी थिइन्।

विद्यार्थी आन्दोलनमा तत्कालीन सरकारले दमन गर्दा १४ सय जनाको मृत्यु भएको थियो। जसमा तत्कालीन प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै त्यहाँको अदालतले मृत्युदण्ड सजाय सुनाएको छ। 

हसिना भारतमा लुकेर बसेकी छन् भने बंगलादेशले फिर्ता पठाइदिन पटकपटक अनुरोध गरे पनि भारत सरकारले बेवास्ता गरिरहेको छ।

हसिना लखेटिएपछि बंगलादेशमा पहिलोपटक गत फेब्रुअरीमा १२ मा भएको आम निर्वाचनबाट नयाँ सरकार बनिसकेको छ।

निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेर जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बनेका छन्। जुन चुनावमा प्रतिबन्ध लगाइएका कारण हसिनाको पार्टी अवामी लिगले भाग लिन पाएन। 

१७ वर्ष बेलायतमा निर्वासनपछि रहमान २०२५ डिसेम्बर २५ मा स्वदेश फर्किएका थिए। त्यसको ५ दिनपछि नै बिरामी आमा जियाको मृत्युभएपछि उनी पार्टी प्रमुख बनेका थिए।

तर भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भने आफ्नो देशमा भएको त्यस संसदीय निर्वाचनलाई 'पूर्वनियोजित छल र प्रहसन' भनी टिप्पणी गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad