बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा भएको आम निर्वाचनलाई 'पूर्वनियोजित छल र प्रहसन' भनी टिप्पणी गरेकी छन्।
शेख हसिनाको पार्टी अवामी लिगले विज्ञप्ति जारी गरी बंगलादेशमा बिहीबार सम्पन्न चुनावको आलोचना गरेको हो। जुन निर्वाचनमा यो पार्टीलाई प्रतिबन्ध लगाइएको थियो।
अवामी लिगको विज्ञप्तिमा शेख हसिनाले भनेकी छन्, 'मतदान केन्द्रहरूमा मतदाता थिएनन्, तैपनि मतगणनाका टेबलमा मतहरू थिए।'
उनले अगाडि भनेकी छन्, 'फेब्रुअरी १२ मा देशले पूर्वनियोजित, भ्रामक र कपटी चुनाव देख्यो। यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा लज्जास्पद अध्यायको रूपमा रेकर्ड गरिनेछ।'
उनले चुनावी परिणाममा प्रश्न उठाउँदै 'गम्भीर अनियमितता' भएको आरोप लगाएकी छन्।
उनले भनेकी छन्, 'धेरै तथ्यांक असंगत र झुटा देखिए।'
निर्वाचन आयोगले दिएको विवरण देशभरको वास्तविकतासँग मेल नखाने दाबी गरेकी छन्।
विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी थिइन्। अहिले पनि उनी यहीँ छिन्।
उनको बहिर्गमनपछि बंगलादेशमा पहिलोपटक बिहीबार (फेब्रुअरी १२ तारिख) संसदीय निर्वाचन भएको हो। आन्दोलनका क्रममा १४ सय जना मारिएका कारण बंगलादेशको अन्तरिम सरकारले हसिनाको पार्टीलाई भने चुनावमा भाग लिन वञ्चित गरेको थियो।
जुन निर्वाचनमा खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेको छ।
हाल उनका छोरा तारिक रहमान अध्यक्ष रहेको बीएनपी एक्लैले २०९ सिट जितेको छ भने यसका सहयोगीले ३ सिट जितेका छन्।
यो खबर बनाउँदासम्म बंगलादेशको निर्वाचन आयोगले २९९ निर्वाचन क्षेत्रमध्ये २९७ स्थानको अन्तिम नतिजा घोषणा गरेको छ।
जसमा विपक्षी बंगलादेश जमात-ए-इस्लामीले ६८ सिट जितेको छ भने यसका सहयोगीले ९ सिट जितेका छन्।
हसिनाको १५ वर्ष शासन अन्त्य गराउने विद्यार्थी विद्रोहबाट खुलेको नयाँ दल नेसनल सिटिजन पार्टी (एनसीपी) ६ सिट जितेको छ। यद्यपि यो पार्टीले ३० सिटमा मात्र उम्मेदवारी दिएको थियो।
बंगलादेशमा बिहीबार सम्पन्न निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जितेपछि बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) नयाँ सरकार गठनको तयारीमा जुटेको छ।
बीबीसी बंगला सेवाका अनुसार, पार्टीका नेताहरूले संसद्को अनुपस्थितिमा कसरी र कसले शपथ खुवाउने भन्ने कानुनी पक्षका विषयमा छलफल गरिरहेका छन्।
चुनावी नतिजा घोषणा भएपछि शुक्रबार राति बीएनपीका धेरै जना शीर्ष नेताले पार्टी अध्यक्ष तारिक रहमानसँग भेटवार्ता गरेका छन्।
यसपछि पार्टीको स्थायी समिति सदस्य सलाहुद्दिन अहमदले बीबीसी बंगलासँग भनेका छन्, ‘हामी अब कसरी र कसले शपथ ग्रहण गराउने भनेर बुझ्ने प्रयास गरिरहेका छौँ।’
उनले अगाडि भनेका छन्, ‘यदि राजपत्र जारी भयो भने प्रमुख निर्वाचन आयुक्तलाई तीन दिनभित्र सभामुख र उपसभामुखको अनुपस्थितिमा शपथ ग्रहण गराउने जिम्मेवारी दिन सकिन्छ। यसको अर्थ १७ तारिखसम्म शपथ ग्रहण गराउन सकिन्छ।’
बंगलादेशको परम्पराअनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले सांसदसँगै राष्ट्रपतिबाट शपथ खाने गरिएको छ।
बंगलादेशको वर्तमान कानुनअनुसार सभामुख वा उपसभामुखले शपथ ग्रहण गराउनुपर्ने हुन्छ। यदि यो सम्भव नभएमा राष्ट्रपतिद्वारा मनोनीत व्यक्तिले शपथ ग्रहण गराउन सक्ने प्रावधान पनि छ।
यो पनि सम्भव नभएमा प्रमुख निर्वाचन आयुक्तले तीन दिनपछि शपथ ग्रहण गराउन सक्छन्।
बीएनपीले नयाँ सरकार गठन गर्दा यसका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने छन्। उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्।
१७ वर्ष बेलायतमा निर्वासनपछि गत डिसेम्बर २५ तारिख मात्र उनी स्वदेश फर्किएका थिए।
त्यसको ५ दिनपछि नै बिरामी आमा जियाको मृत्युभएपछि पार्टी प्रमुख बनेका तारिक अब सरकार प्रमुख पनि बन्ने भएका हुन्।
Shares

प्रतिक्रिया