ग्लोबल


इरानका सर्वोच्च नेताको दाबी: ‘हाम्रा बहादुर सेनासामु दुस्मन नराम्रोसँग हारे’

इरानका सर्वोच्च नेताको दाबी: ‘हाम्रा बहादुर सेनासामु दुस्मन नराम्रोसँग हारे’

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी


नेपालखबर
जेठ २१, २०८३ बिहिबार २०:२१, काठमाडौँ

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले दुस्मनको लज्जाजनक हार भएको दाबी गरेका छन्।

उनले कुनै देशको नाम नलिए पनि उनले भनेका दुस्मन अमेरिका र इजरायल हुन्। जसले इरानविरुद्ध गत फेब्रुअरी १८ मा संयुक्त हमला गरी तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलगायत शीर्ष नेतृत्व नै सखाप पारे। 

केही समययता युद्धविराम भनिए पनि हालै अमेरिका र इरानबिच फेरि हानाहान भएको छ। 

इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको पुण्यतिथिका अवसरमा लिखित सन्देश जारी गर्दै वर्तमान सर्वोच्च नेता मोज्तबाले इरानी सेनाको बहादुरीअगाडि अमेरिकाले घुँडा टेकेको दाबी गरेका हुन्। 

तेहरानका अस्थायी इमाम-ए-जुमा मोहम्मद जावाद हज-अली अकबरीले उनको सन्देश पढेर सुनाएका थिए।

बीबीसी फारसीका अनुसार सन्देशमा भनिएको छ, ‘हाम्रा सशस्त्र बलका बहादुर सिपाहीसामु शत्रुले पराजय भोगेको छ। विशेष गरी सैन्य युद्ध र मैदान तथा सडकबाट दिइएको कडा जवाफी कारबाहीका कारण दुस्मनले गम्भीर र अपमानजनक हार भोग्नुपर्‍यो।’

सन्देशमा अगाडि भनिएको छ, ‘शत्रुले आफ्नो संयुक्त रणनीति दुई कुरामा केन्द्रित गरिरहेको छ: पहिलो- जनताको धैर्य र सहन शक्तिलाई कमजोर पार्ने र दोस्रो- देशका अधिकारीहरूको सोच र निर्णय प्रक्रियामा गल्ती सिर्जना गर्ने।’

शत्रुको सबैभन्दा ठुलो हतियार भनेको जनतामा शंका, अविश्वास र विभाजन फैलाउनु रहेको खामेनीले उल्लेख गरेका छन्। 

उनले जनतालाई एकताबद्ध रहन, पारस्परिक विश्वास कायम राख्न र शत्रुको योजनालाई विफल पार्न दृढतापूर्वक एकजुट रहन अपिल पनि गरेका छन्। 

सन्देशमा थप भनिएको छ, ‘यी कुरालाई बलियो बनाउन सरकारी अधिकारीहरूको भूमिका महत्त्वपूर्ण छ। जनतामा निराशा र अविश्वास निम्त्याउने कुनै पनि कार्यलाई देश र जनताका शत्रुहरूलाई सहयोग गरेको ठानिनेछ।’

इरानको सर्वोच्च नेता बनेयता मोज्तबा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्। उनका  लिखित सन्देश अरूले पढेर सुनाउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad