ग्लोबल


अमेरिका र इरानबिच हानाहान : यस्ता छन् दुई पक्षका बयान

अमेरिका र इरानबिच हानाहान : यस्ता छन् दुई पक्षका बयान

नेपालखबर
जेठ २०, २०८३ बुधबार १०:४२, काठमाडौँ

इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले गएराति अबेर अमेरिकाको पाँचौँ फ्लिट र एउटा एयरबेसलाई आक्रमण गरिएको बुधबार बताएको छ।

आईआरजीसीका अनुसार ‘पहिले अमेरिकाले इरानका टेलिकम एन्टेना र तेल ट्यांकरमा हमला गरेपछि जवाफी आक्रमण गरिएको हो।’ 

उता अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानले हानेका धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन रोकिएको र नष्ट गरिएको दाबी गरेको छ।‍

सेन्टकमले भनेको छ, ‘हामीले सम्पूर्ण क्षेत्रमा आक्रमण गर्ने इरानको प्रयासविरुद्ध केसम टापुका केही ठाउँमा आत्मरक्षाका लागि आक्रमण गरेका हौँ।’

यसअघि अमेरिकाले इरानतर्फ गइरहेको खाली तेल ट्यांकरलाई निशाना बनाइएको बताएको थियो।

सेन्टकमले बोत्सवाना झण्डा भएको एम/टी जहाजको इन्जिन रुममा अमेरिकी विमानले हेलफायर मिसाइल प्रहार गरेको बताएको छ।

आईआरजीसीले भने विज्ञप्तिमा यसो भनेको छ, ‘हामीले पहिले नै चेतावनी दिएका थियौँ- आक्रमणको अवस्थामा प्रतिक्रिया फरक र बढी गम्भीर हुनेछ र हामीले तदनुसार गर्‍यौँ।’

यसैबिच सेन्टकमले अमेरिकी पाँचौँ फ्लिटमा आक्रमण गरिएको दाबी अस्वीकार गरेको छ।

सेन्टकमले के-के भन्यो?

अमेरिकी केन्द्रीय कमान्ड सेन्टकले जारी गरेको विज्ञप्तिमा इरानले छिमेकी देशहरूमा धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको तर कुनै पनि आफ्नो लक्ष्यमा पुग्न नसकेको दाबी गरिएको छ।

अमेरिकाको दाबी छ, ‘कुवेतमा प्रहार गरिएका दुई क्षेप्यास्त्र आफ्नो लक्ष्यमा पुग्नुअघि नै हावामा दुर्घटना वा नष्ट भएका छन् भने बहराइनमा प्रहार गरिएका तीन क्षेप्यास्त्रलाई अमेरिका र बहराइनको हवाई रक्षा प्रणालीले तुरुन्तै रोकेका छन्।’

सेन्टकमले जारी गरेको विज्ञप्तिअनुसार, ‘आईआरजीसीले बहराइनस्थित अमेरिकाको पाँचौँ फ्लिट मुख्यालय र एयरबेसमा मिसाइल र ड्रोनले आक्रमण गरिएको दाबी गरेको छ।’

तर ती सबै आक्रमण असफल भएको दाबी सेन्टकमले गरेको छ।

उसले विज्ञप्तिमा अगाडि भनेको छ, ‘अमेरिकी सेना सतर्क छ र इरानका कुनै पनि अनुचित आक्रामक कार्यको जवाफ दिन तयार छ।’

बीबीसी फारसीका अनुसार इरानका स्रोतले कुवेतमा कम्तीमा तीनवटा विस्फोट भएको र अमेरिकी प्याट्रियट प्रणाली निष्क्रिय पारिएको दाबी गरेका छन्।

उता सेन्टकमले इरानले सो क्षेत्रबाट गइरहेका नागरिक जहाजहरूमा प्रहार गरेका तीनवटा आत्मघाती ड्रोन खसालिको दाबी गरेको छ। 

सेन्टकमले भनेको छ, ‘अमेरिकी सेनाले आत्मरक्षामा क्वेसम टापुमा रहेको इरानी सैन्य ग्राउन्ड कन्ट्रोल स्टेसनलाई निसाना बनाएको छ।’

यो कुरा आईआरजीसीको रिपोर्टसँग मेल खान्छ, जसमा अमेरिकी नौसेनाको पाँचौँ फ्लिट मुख्यालयमा आक्रमणका कारण क्वेसम टापुको दक्षिणमा रहेको दूरसञ्चार टावरलाई निसाना बनाएको उल्लेख छ।

अमेरिकी अधिकारीहरूका अनुसार झडपमा अमेरिकाका कुनै पनि सैन्य कर्मचारीलाई केही भएको छैन।

अमेरिकाले तेल ट्यांकरलाई किन गर्‍यो आक्रमण? 

अमेरिकाले इरानतर्फ जाँदै गरेको खाली तेल ट्यांकरलाई आक्रमण गरी असक्षम पारिएको दाबी गरेको छ। यो कारबाही होर्मुज स्ट्रेटमा जारी नौसेना नाकाबन्दीको एक भाग भएको अमेरिकाको भनाइ छ। 

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भनेको छ, ‘अमेरिकी विमानले बोत्सवाना-झण्डाधारी एम/टी जहाजमा हेलफायर मिसाइल प्रहार गर्‍यो र जुन यसको इन्जिन रुपमा लाग्यो।’

जहाजका चालक दललाई बारम्बार चेतावनी दिँदा पनि बेवास्ता गरेपछि आक्रमण गरिएको दाबी सेन्टकमले गरेको छ। 

सेन्टकमले मंगलबार ट्यांकरमा गरिएको आक्रमणको भनी भिडिओ फुटेजसमेत जारी गरेको छ।

इरानले भने यस विषयमा अहिलेसम्म सार्वजनिक रूपमा टिप्पणी गरेको छैन।

अमेरिकी सेनाले गत अप्रिल १३ देखि इरानका बन्दरगाहहरूमा प्रवेश गर्ने र बाहिर निस्कने सबै जहाजमा नाकाबन्दी लागु गरिएको बताएको छ।

सेन्टकमका अनुसार ‘नाकाबन्दी लागु भएदेखि अहिलेसम्म ६ वटा व्यावसायिक जहाजलाई निष्क्रिय पारिएको छ र १२२ वटालाई डाइभर्ट गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad