ग्लोबल


किमकी छोरी किन लगाउँछिन् उत्तर कोरियामा प्रतिबन्धित पश्चिमी पहिरन?

किमकी छोरी किन लगाउँछिन् उत्तर कोरियामा प्रतिबन्धित पश्चिमी पहिरन?

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १५:२६, काठमाडौँ

उत्तर कोरियाका सर्वोच्च नेता (शासक) किम जोङ उनकी छोरी किम जु एका तस्बिर निरन्तर सार्वजनिक भइरहेका छन्, जसमा उनी पश्चिमी विलासी पोसाक (वेस्टर्न लग्जरी ड्रेस) मा देखिएकी छन्। 

जुन पोसाकलाई ‘विद्रोह’को प्रतीक र ‘समाजवाद विरोधी’ मानेर उत्तर कोरियामा प्रतिबन्ध लगाइएको छ।

तर जु एले छालाको ज्याकेट लगाउनु, त्यस्तो हेयरस्टाइल अपनाउनुलाई किशोरावस्थाको विद्रोह मान्नुको सट्टा उनलाई सर्वोच्च नेताको सम्भावित उत्तराधिकारीका रूपमा तयार पारिँदै गरेको संकेत मानिएको छ। 

भनिन्छ- सन् २०१३ मा जन्मेकी जु ए नोभेम्बर २०२२ मा ९ वर्षको उमेरमा पहिलोपटक आधिकारिक रूपमा सार्वजनिक रूपमा देखापरेकी थिइन्। त्यसबेला उनी आफ्नो बुबासँग विशाल अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको अगाडि हिँडिरहेको देखिएकी थिइन्। लामो कपाल, कालो प्यान्ट र सेतो प्याडेड ज्याकेटमा उनी प्रभावशाली व्यक्तित्वमा देखिएकी थिइन्।

त्यसबेलादेखि उनको हेयरस्टाइल र पहिरन पश्चिमी शैलीको हुँदै गएको छ। 

२०२० मा उत्तर कोरियाले 'रिएक्सनरी आइडियोलोजी एन्ड कल्चर रिजेक्सन एक्ट' (प्रतिक्रियावादी विचारधारा र संस्कृति अस्वीकृति ऐन) लागु गर्‍यो, जसले 'बाहिरी संस्कृति'लाई प्रतिबन्ध लगायो।

तर २०२३ मा राज्य-नियन्त्रित कोरियाली केन्द्रीय समाचार एजेन्सीले एउटा भिडिओ जारी गर्‍यो, जसमा किम जु ए फेरि आफ्ना बुबा किम जोङ उनसँग अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको अगाडि हिँडिरहेको देखिएइन्। यसपटक उनले कालो प्याडेड ज्याकेट लगाएकी थिइन्, जुन फ्रान्सेली लक्जरी फेसन हाउस क्रिस्चियन डिओरको ड्रेस थियो, जसको मूल्य लगभग १,९०० डलर (नेपाली रुपैयाँ २ लाख ८८ हजारभन्दा माथि) थियो।

अर्को वर्ष राजधानी प्योङयाङको गगनचुम्बी भ्यानगार्ड स्ट्रिट आवासीय क्षेत्रको उद्घाटन समारोहमा किम जु एले लगाएको पोसाकका वषिमा एउटा भिडिओ स्पिच जारी गरियो। त्यसमा उनको पोसाकलाई समाजविरोधी भनिएको थियो र यस्ता कुराले शासनलाई भित्रबाट कमजोर बनाउने दाबी गरिएको थियो।

उत्तर कोरियाली नेतृत्वनिकट एक स्रोतले रेडिओ फ्रि एसियालाई यो जानकारी दिएको हो।

तर अहिले भन्न थालिएको छ- केही मानिस किम जु एको शैली र पहिरनको नक्कल गर्न चाहन्छन्।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका उत्तर कोरिया अनुसन्धान विभागका प्रमुख जंग उन लीले बीबीसी न्युज कोरियनसँग भनेका छन्, ‘समय परिवर्तन भएको छ र पुस्तागत रूपमा परिवर्तन निकै बढेको छ। २०१० देखि विदेशी मुद्रा कमाउन विदेश जाने कामदारको संख्या ह्वात्तै बढेको छ।’

उनका अनुसार कोरोना महामारीका बेला झन्डै २ हजार उत्तर कोरियाली कामदार चीनमै बसे र जब उनीहरू प्योङयाङ फर्किए तब आफूसँगै स्थानीय संस्कृति पनि देशमा ल्याए।

उनी भन्छन्, ‘पहिले विलासी सामान मुख्यतया जापानमा बस्ने कोरियाली (जैनिची कोरियाली) ले ल्याउने जापानी ब्रान्डमा सीमित थिए। तर अब यस्तो देखिन्छ- धेरै उत्तर कोरियाली विदेशका विभिन्न ब्रान्डबारे जानकार छन्। झोला र लुगा (तस्करी गरिएको भए पनि) धेरै महँगा हुन्छन्, त्यसैले मानिसहरूले सम्भवतः यो अनुभव पहिला अत्तर (परफ्यूम) मार्फत सुरु गर्छन्।’

यद्यपि जु ए आफ्नो परिवारको पहिलो फेसन आइकन होइनन्।

सेजोङ इन्स्टिच्युटका उपनिर्देशक चोङ सोङ चाङले बीबीसी न्युज कोरियनसँग भनेका छन्, ‘यस्तो देखिन्छ कि जु एलाई उनको उमेर लुकाउन उनकी आमा री सोल जुलाई जस्तै सुट र स्टाइलिस लुगा लगाइँदै छ। उत्तर कोरियामा शाही परिवारबाहिरको एउटी साधारण युवतीले पश्चिमी शैलीको पहिरन लगाएर फेसनको नेतृत्व गर्नु लगभग असम्भव छ।’

उनी थप्छन्, ‘पश्चिमी डिजाइनका लुगा लगाएर किम जु ए र री सोल जुले फरक पहिचान बनाउने रणनीति प्रदर्शन गरिरहेका छन्, तािक उनीहरूको सामाजिक स्थिति सामान्य मानिसहरूको भन्दा भिन्न छ। उनीहरूले बिनाचिन्ता यसो गर्न सक्छन्, किनभने उनीहरू विशेषाधिकार प्राप्त छन्।’ 

तर जुएले आफ्नो पहिरन शैली आफ्नी आमाबाट मात्र सिकेकी होइनन्।

उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्राध्यापक ली वू-यङ भन्छन्, ‘यद्यपि उत्तर कोरियामा पश्चिमी फेसनका रूपमा जिन्स प्रतिबन्धित छ, तर पनि किम जोङ उनले यो लगाएको देखिन्छ। विदेशी संस्कृतिमा जतिसुकै प्रतिबन्ध लगाए पनि र कानुन बनाए पनि उत्तर कोरिया एउटा यस्तो देश हो, जहाँ सर्वोच्च नेताका लागि केही पनि असम्भव छैन।’ 

चोङका अनुसार किम जु एले धेरैपटक छालाको ज्याकेट लगाएकी छन्, जसले कोरियाली वर्कर्स पार्टीको प्रचार तथा आन्दोलन विभागले उनलाई साधारण नागरिकभन्दा फरक र विशेष देखाउने काम गरिरहेको संकेत गर्छ।

छोरीका साथमा किम जोङ उन

उनले भने, ‘उच्च गुणस्तरको छालाको लुगा लगाउनु आफ्नो विशेष दर्जा देखाउने संकेत हो। उत्तर कोरियाका आम नागरिकका लागि छालाका पोसाक सामान्य कुरा होइन। विलासी ब्रान्ड, छालाको ज्याकेट र फर कोट यति महँगा पोसाक हुन्, जुन सर्वसाधारण उत्तर कोरियालीले लगाउन सक्दैनन्।’

र, ‘इमेज रिप्लिकेसन’ भनिने अघिल्ला पुस्ताको फेसनको नक्कल गर्ने काम सत्तामा वर्चस्व कायम राख्न प्रयोग गरिएको छ। यसमा किम जु एका बुबा किम जोङ उन पनि पर्छन्, जसले आफ्नो प्रारम्भिक नेतृत्वको समयमा आफ्ना हजुरबुबा किम इल सुङ जस्तै फेडोरा टोपी र कोट अपनाएर आफ्नो छवि बलियो बनाउने प्रयास गरेका थिए।

चोङ भन्छन्, ‘वर्कर्स पार्टीको प्रचार तथा आन्दोलन विभागको काम किम इल सुङले ४५ वर्षसम्म देशको नेतृत्व गरेजस्तै किम जोङ उनको शासन पनि निरन्तर रहोस् र उहाँप्रति जनताको सम्मान रहिरहोस् भन्ने सुनिश्चित गर्नु थियो।’

‘भनिन्छ कि जब किम जोङ उन पहिलोपटक देखापरे, तब उत्तर कोरियाका जनता छक्क परे। अझ दक्षिण कोरियाली विज्ञसमेत अचम्मित भए। किनभने पहिलो नजरमा किम जोङ उन एक युवा किम इल सुङजस्तै देखिन्थे।’

उत्तराधिकारीका रूपमा युवा किम जोङ उनले अनुभवको कमीका कारण आफ्नो सुरुवाती वर्षहरूमा धेरै चुनौतीको सामना गर्नुपर्‍यो। यद्यपि उनी आफ्ना हजुरबुबा किम इल सुङसँग मिल्दाजुल्दा देखिन्थे र जसले उनलाई जनतासँग जोडिन मद्दत गर्‍यो।

अवस्था यहाँसम्म पुग्यो कि उत्तर कोरियाली जनतामाझ किम इल सुङको पुनर्जन्म भयो भन्ने हल्ला फैलियो।

दक्षिण कोरियाको डोङयाङ विश्वविद्यालयका प्राध्यापक चुङ योङ-ताई भन्छन्, ‘किम इल सुङलाई उत्तर कोरियामा भगवान् नै मानिन्छ। यसैकारण उनको परिवारप्रति पनि मानिसहरूको मनमा विशेष स्थान छ।’

जु एलाई उत्तर कोरियामा पहिलेदेखि 'राजकुमारी' भनेर चिनिन्छ र यसले उनको वंश परम्परालाई पनि संकेत गर्छ। 

त्यसो त उत्तर कोरियाका शीर्ष अधिकारीहरूले किम जोङ उनकी बहिनी किम यो जोङका लागि ‘राजकुमारी’ उपाधि प्रयोग गर्थे। तर यो किम जु ए जन्मनुभन्दा पहिलेको कुरा हो।

कुवेतका लागि पूर्वकार्यवाहक उत्तर कोरियाली राजदूत र्यु ह्युन-वु (जो पछि दक्षिण कोरिया भागे) भन्छन्, ‘किम यो जोङलाई उनका बुबा तथा किम इल सुङका छोरा किम जोङ इल जीवित छँदा राजकुमारी भनिन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad