ग्लोबल


अमेरिका–इरान वार्ता असफल भएपछि पाकिस्तानले भन्यो: मिलाउने प्रयास जारी रहनेछ

अमेरिका–इरान वार्ता असफल भएपछि पाकिस्तानले भन्यो: मिलाउने प्रयास जारी रहनेछ

पाकिस्तानी विदेशमन्त्रीले अमेरिका र इरानले वार्ता जारी राख्ने आशा व्यक्त गरेका छन्।


नेपालखबर
चैत २९, २०८२ आइतबार १०:२९, काठमाडौँ

अमेरिका र इरानबिच आफ्नो देशमा भएको पहिलो वार्ता असफल भए पनि पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने जनाएको छ। 

पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानका प्रतिनिधिबिच शनिबार अपराह्नदेखि रातभर छलफल भए पनि कुनै सहमति हुन नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स वार्ता टोलीसहित आइतबार बिहान स्वदेश प्रस्थान गरिसकेका छन्। 

यसपछि पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसाक दारले पत्रकार सम्मेलन गरी दुई देशबिच सम्झौताका लागि आफ्नो देशले प्रयास जारी राख्ने बताएका हुन्। 

बीबीसी उर्दु सेवाका अनुसार, ‘पत्रकार सम्मेलनमा इसाक दारले आफू र देशका फिल्ड मार्सल असिम मुनिरले दुई पक्षबिच धेरै चरणका कठिन तर अर्थपूर्ण वार्तामा मध्यस्थता गर्ने प्रयास गरेको र र वार्ता आइतबार बिहानसम्म जारी रहेको बताए।’

पाकिस्तानी विदेशमन्त्री दारले आशा व्यक्त गर्दै भनेका छन्, ‘अमेरिका र इरानले दिगो शान्ति र समृद्धिका लागि सकारात्मक भावनासहित वार्ता जारी राख्नेछन्।’

उनले अगाडि भनेका छन्, ‘पाकिस्तानले पनि अमेरिका र इरानबिचको वार्तामा मध्यस्थकर्ताको भूमिका जारी राख्नेछ।’

इरानसँग २१ घण्टासम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आफ्नो वार्ता टोलीसहित अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार बिहान पाकिस्तान छाडेका छन्।  

आइतबार बिहान अमेरिका फर्कनुअघि अमेरिकी उपराष्ट्रपति भान्सले इस्लामाबादमा पत्रकार सम्मेलन गरी इरानसँग सहमति हुन नसकेको जानकारी गराएका थिए। 

उनले भनेका थिए,‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो। अब हामी सम्झौताबिनै फर्किंदै छौँ।’

उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताए। 

उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ।’

उता इरानले पनि इस्लामाबादमा अमेरिकासँग भएको वार्ता बिनासम्झौता समाप्त भएको बताएको छ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार ‘अमेरिकाका सर्त धेरै कडा थिए, जसले गर्दा सम्झौता हुन सकेन।’

गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेपछि स्थायी समाधानका लागि भन्दै अमेरिका र इरान पाकिस्तानको मध्यस्थतामा वार्ताको टेबुलमा बसेका थिए। 

तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो। 

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेतालगायत शीर्ष नेता तथा अधिकारी मारेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad