इजरायल र अमेरिकासँग युद्धका बिच इरानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई खोजी-खोजी मार्ने चेतावनी दिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो पूरै शक्ति लगाएर इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई मारेरै छाड्ने वाचा गरेको हो।
गार्ड्सले आफ्नो वेबसाइट सेपाह न्युजसँग भनेको छ, ‘यदि यो (नेतन्याहु) बच्चा मार्ने अपराधी जिउँदै छ भने हामी उसलाई पूर्ण शक्तिका साथ खोजिरहनेछौँ र मार्नेछौँ।’
यही मार्च १३ मा नेतन्याहुको एउटा भिडिओ सन्देश सार्वजनिक भएको थियो। जसको एउटा फ्रेममा उनको दाहिने हातमा ६ वटा औँला देखिएका थिए। जुन भिडिओलाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताले एआई वा डिपफेक भन्दै त्यो वास्तविक नेतन्याहु नभएको दाबी गरेका थिए।
यसपछि नेतन्याहु इरानको आक्रमणमा मारिइसकेको वा जर्मनी भागेको दाबी गरिएका थिए।
तर इजरायली प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नेतन्याहु सुरक्षित रहेको र त्यस्ता रिपोर्ट झुटो भएको बताएको थियो।
अमेरिकासँग मिलेर इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता इरानसँग लडाइँ भइरहेको छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
Shares

प्रतिक्रिया