ग्लोबल


बंगलादेश मतगणना: बीएनपीले खोल्यो जितको खाता

बंगलादेश मतगणना: बीएनपीले खोल्यो जितको खाता

बीएनपी उम्मेदवार मोहम्मद असदुज्जमान।


नेपालखबर
माघ २९, २०८२ बिहिबार २१:४, काठमाडौँ

बंगलादेशमा बिहीबार भएको निर्वाचनको मतगणना जारी छ। 

यसैबिच बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले खाता खोलेको छ।

बीएनपीका उम्मेदवार मोहम्मद असदुज्जमानले झेनाइदाह-१ (सैलकुपा) सिट जितेका हुन्।

बंगलादेशी पत्रिका प्रोथोम ओलोका अनुसार उनले १ लाख ७१ हजार ५९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जमातका उम्मेदवार अबु सालेह मोहम्मद मतियुर रहमानले ५५ हजार ५७७ मत ल्याएका छन्। 

सहायक निर्वाचन अधिकृत महफुजुर रहमानले स्थानीय समयअनुसार बिहीबार राति ८ बजेतिर अनौपचारिक नतिजा घोषणा गरेका हुन्। अन्तिम र आधिकारिक नतिजा भने निर्वाचन आयोगले जारी गर्नेछ।

आज बंगलादेशका ३६ हजार मतदान केन्द्रमा मतदान गरिएको थियो।

मतदान सम्पन्न भएपछि बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले भने, ‘आज नयाँ बंगलादेशको जन्म भएको छ।’

अर्कातर्फ पूर्वप्रधानमन्त्री शेख हसिनाले चुनावलाई धाँधलीपूर्ण भन्दै रद्द गर्न आह्वान गरेकी छन्। उनले युनुसको राजीनामा पनि मागेकी छन्। 

यो चुनावमा उनको पार्टी अवामी लिगलाई भाग लिन प्रतिबन्ध लगाइएको थियो। 

मतदानका क्रममा धेरै स्थानमा झडप पनि भएका थिए।

खुलनामा एक मतदान केन्द्र बाहिर जमात-ए-इस्लामी कार्यकर्ताहरूसँगको झडपमा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ। 

यस्तै गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाइरहेका तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत पलायन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक आज संसदीय चुनाव भएको हो। जुन निर्वाचनले बंगलादेशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिलाउनेछ। 

हाल प्रधानमन्त्री पदको प्रमुख दाबेदार हुन्- पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान। उनको पार्टी बीएनपी विजयी भएका खण्डमा रहमान बंगलादेशको प्रधानमन्त्री हुने निश्चित छ।

यद्यपि देशमा कट्टरपन्थी मुस्लिम दल जमात-ए-इस्लामी र युवा दल एनसीपीप्रतिको समर्थन पनि बढ्दो छ।

जमात-ए-इस्लामी नेता सिफुकर रहमान र एनसीपी नेता नाहिद इस्लाम पनि प्रधानमन्त्री पदका अर्का दाबेदार हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad