जवाहरलाल नेहरूको कीर्तिमान तोड्दै नरेन्द्र मोदी भारतमा लगातार सबैभन्दा लामो समय बिताउने निर्वाचित प्रधानमन्त्री बन्न सफल भएका छन्।
प्रधानमन्त्री मोदीले बुधबार (जुन १० तारिख) भारतको केन्द्रीय सरकारको प्रमुखका रूपमा लगातार १२ वर्ष पूरा गरेका छन्।
निर्वाचित प्रधानमन्त्रीका रूपमा उनले आजसम्म ४ हजार ३९९ दिन बिताएर पूर्वप्रधानमन्त्री नेहरूको कीर्तिमान तोडेका हुन्।
यसअघि भारतमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको कीर्तिमान देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा थियो। उनी भारतमा सन् १९५२ मा भएको पहिलो आम निर्वाचनपछि लगातार ४ हजार ३९८ दिन प्रधानमन्त्री पदमा रहेका थिए।
त्यो रेकर्ड आज मोदीले तोडेका हुन्।
इन्दिरा गान्धी १४ वर्षभन्दा बढी समय भारतको प्रधानमन्त्री बने पनि उनको कार्यकाल लगातार थिएन। त्यसैले भारतको इतिहासमा लगातार सबैभन्दा बढी समय प्रधानमन्त्री बन्ने कीर्तिमान मोदीले बनाएका हुन्।
यस उपलक्ष्यमा उनलाई विभिन्न देशका सरकार प्रमुखहरूले बधाई दिइरहेका छन्।
यसै क्रममा इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीले पनि उनलाई सामाजिक सञ्जालमा आफूसँगै रहेको तस्बिरसहित बधाई ज्ञापन गरेकी छन्।
मेलोनीले प्रधानमन्त्री मोदीसँगको आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘आज भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकामा नरेन्द्र मोदीलाई बधाई छ।’
उनले अगाडि लेखेकी छन्, ‘हालै रोममा उहाँलाई फेरि भेट्न र सँगै विशेष रणनीतिक साझेदारी सुरु गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ।...’
यसअघि मोदीलाई मलेसिया, श्रीलंका, माल्दिभ्स, केन्या, पपुवा न्युगिनी र त्रिनिदाद एन्ड टोबागोलगायत देशका नेताले बधाई दिइसकेका छन्।
Shares

प्रतिक्रिया