राजनीति


काठमाडौँ फर्किए ओली

काठमाडौँ फर्किए ओली

नेपालखबर
माघ २९, २०८२ बिहिबार २१:१४, विराटनगर

नेकपा एमालेका अध्यक्ष एवम् झापा क्षेत्र नं ५ का उम्मेदवार केपी शर्मा ओली काठमाडौँ फर्किएका छन्। 

बिहीबार काठमाडौँ फर्किने क्रममा ओलीले मतदाताको धेरै माया र विश्वास पाएको प्रतिक्रिया दिए। 

भद्रपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा अध्यक्ष ओलीले झापा क्षेत्र नं ५ का मतदाताबाट धेरै माया र विश्वास पाएको प्रतिक्रिया दिएका हुन्। एक साता आफ्नो क्षेत्रमा मतदातासँग बिताएका ओलीलाई मतदाताले क्षेत्रका समस्या, विकास योजना माग र कतिपय अपुरो योजनाहरूका बारेमा जानकारी गराएका थिए। 

मतदाताले अध्यक्ष ओलीलाई क्षेत्रमा नियमित भेट गर्ने कार्यक्रम समेत राखिदिन सुझाव दिएका थिए। 

ओली भद्रपुर–१ स्थित हिमालीमा जलेको बुबाको घर हेरेर काठमाडौँ फर्किएका थिए। ओली फागुन ३ गते झापा फर्किने छन्। निर्वाचनको समयमा कसै समय दिने ओली पछिल्लो समय नियमित झापा क्षेत्र नम्बर ५मा लागेका छन्।

ओली झापाको पहिलो चरणको भेटघाट सकेर काठमाडौँ फर्किएका हुन्। पार्टीको चुनावी घोषणापत्रलाई अन्तिम रूप दिएर पुनः झापा आउने कार्यक्रम रहेको निर्वाचन प्रचार उपसमितिका संयोजक एवं केन्द्रीय सदस्य इन्द्र भण्डारीले जानकारी दिए। 

सुकुम्वासी बस्तीमा डोजर चलाउनेहरूले गाउँ पसेर भ्रम छरे
सुकुम्वासी बस्तीमा डोजर चलाउनेहरू अहिले गाउँ छिरेर भ्रम छर्न थालेको एमालेले जनाएको छ।

एमालेका केन्द्रीय सदस्य एवं नेकपा एमाले झापा क्षेत्र नं ५ का निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालले सुकुम्वासीको नाममा भ्रमको खेती गर्ने काम भएको बताए।

बालेन साह लक्षित उनले काठमाडौँमा सुकुम्वासी बस्तीमा डोजर चलाउने शक्तिहरूले झापामा आएर समस्या समाधान गर्छौँ भन्नु हास्यास्पद र भ्रमपूर्ण रहेको टिप्पणी गरे। यस्तो भ्रमलाई झापाली जनताले बुझिसकेको उनको भनाई थियो।

बिहीबार दमकमा सञ्चारकर्मीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता दाहालले देशको राष्ट्रियता संरक्षण, पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि एमालेले जित्नुको विकल्प नरहेको बताए । 

‘एमाले जनताको प्रश्नबाट डराउने पार्टी हैन, उनले भने, ‘मतदाताले आफ्ना कुरा उम्मेदवार र पार्टीसँग प्रस्टसँग राख्न पाउनुपर्छ र चित्तबुझ्दो जवाफ खोज्नु उनीहरूको अधिकार हो। हामी जनताका प्रश्नबाट भाग्दैनौँ, जनतासँग छलफल र भलाकुसारी गर्न हामीलाई कुनै समस्या छैन।’

नाकाबन्दीका बेला निर्वाह गरेको भूमिका र लिपुलेक, कालापानी तथा लिम्पियाधुरा समेटिएको ‘चुच्चे नक्सा’ सार्वजनिक गर्ने कामले ओलीको उचाइ बढेको उनको दाबी छ। राष्ट्रियताको मुद्दामा एमालेले चालेका हरेक कदम कसैले पनि गर्न नसकेको कामको दाबी गरे। 

नेता दाहालले वर्तमान सरकारको कडा आलोचना गर्दै यसलाई ‘विकास विरोधी’ को संज्ञा दिए। ओली नेतृत्वको सरकारले अघि सारेका महत्त्वपूर्ण बजेट र योजनाहरू कटौती तथा रोक्का गरेर सरकारले विकासको बाटो छेकेको उनको आरोप छ।

विशेष गरी सुकुम्वासी समस्या समाधानका लागि बनेको आयोग विघटन गरेर सरकारले भूमिहीन विरोधी चरित्र देखाएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad