ग्लोबल


शेख हसिनाविरुद्ध लडेका विद्यार्थी नेताको मृत्युपछि बंगलादेशमा फेरि भड्कियो हिंसा

पार्टी र पत्रिकाका कार्यालयहरूमा तोडफोड र आगजनी
शेख हसिनाविरुद्ध लडेका विद्यार्थी नेताको मृत्युपछि बंगलादेशमा फेरि भड्कियो हिंसा

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १२:३८, काठमाडौँ

विद्यार्थी नेता सरिफ उस्मान हादीको मृत्यु भएपछि बंगलादेशमा फेरि हिंसा भड्किएको छ। 

बीबीसी बंगलाका अनुसार उनको मृत्युपछि राजधानी ढाकाका धेरै क्षेत्रमा विरोध प्रदर्शन, तोडफोड र आगजनी भइरहेका छन्।

तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका प्रमुख नेता हादीलाई गत शुक्रबार बंगलादेशमा आगामी फेब्रुअरी १२ का लागि घोषित चुनाव प्रचारका क्रममा गोली लागेको थियो। 

शेख हसिनाविरोधी इन्कलाब मञ्चका सदस्य रहेका उनी आगामी निर्वाचनका सम्भावित उम्मेदवार पनि थिए। ढाका-८ निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरिरहेका उनलाई ढाकाको मस्जिदबाट निस्कने क्रममा गोली हानिएको थियो।

टाउकोमै गोली लागेर गम्भीर घाइते भएका उनलाई यही डिसेम्बर १५ तारिख हेलिकप्टरबाट सिंगापुर लगिएको थियो, जहाँ उपचारका क्रममा बिहीबार उनको मृत्यु भयो। 

हादीको मृत्यु भएको खबर पाउनासाथ बंगलादेशमा हिंसा भड्किएको हो। 

यस क्रममा प्रदर्शनकारीहरूले प्रदर्शनकारीले ढाकास्थित प्रथम आलो र डेली स्टार पत्रिका, धानमण्डी ३२ स्थित शेख मुजिबुर रहमानको घर र छायानाट संस्कृति भवनमा आक्रमण, तोडफोड र आगजनी गरेका छन्।

साथै उनीहरूले चटगाउँ, राजशाही र अन्य धेरै क्षेत्रमा पनि तोडफोड र आगजानी गरेका छन्। 

बिहीबार मध्यराततिर सयौँ आक्रोशित मानिसहरूले पहिलो आलो पत्रिका र त्यसपछि डेली स्टारको कार्यालयमा आक्रमण, तोडफोड र आगजनी गरेका छन्।

त्यतिबेला दुवै पत्रिकाका धेरै पत्रकार भवनभित्र फसेका थिए। पछि सेना, प्रहरी र बीजीबीका सदस्य घटनास्थलमा पुगे र आक्रमणकारीहरूलाई पन्छाउँदै पत्रकारहरूको उद्धार गरेका थिए।

विद्यार्थी आन्दोलन चर्किएपछि शेख हसिना बंगलादेशको सत्ता छाड्दै सन् २०२४ अगस्ट ५ मा भारत भागेकी थिइन्। अहिले पनि उनी भारतकै शरणमा छिन् भने यसबीच बंगलादेशको अदालतले उनीविरुद्ध मृत्युदण्डलगायत सजाय सुनाइसकेको छ। 

हसिना देशबाट भागेयता बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार छ।

उक्त सरकारले अर्को वर्ष फेब्रुअरी १२ का लागि आम चुनाव घोषणा गरेको छ।

यसैबीच विद्यार्थी नेता हादीको मृत्यु भएपछि बंगलादेशमा हिंसा भड्किएको हो। 

बंगलादेशमा फेरि हिंसा : केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad