अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानी आज (शुक्रबार) ह्वाइट हाउसमा भेट गर्दै छन्।
न्युयोर्कमा हालै भएको मेयर चुनावका क्रममा दुवैले एकअर्काविरुद्ध तिखा टिप्पणी गरेका थिए।
३४ वर्षीय डेमोक्रेटिक सोसलिस्ट मम्दानीले यस महिनाको सुरुमा न्युयोर्क सहरको मेयर पदको चुनाव जितेका थिए।
चुनावअघि उनी न्युयोर्कबाहिर राम्रोसँग चिनिन्थेनन्, तर अब राष्ट्रिय मान्यता प्राप्त गरेका छन्।
ट्रम्पले बिहीबार ट्रुथ सोसलमा लखेका छन्, 'न्युयोर्कका कम्युनिस्ट मेयर जोहरान मम्दानीले बैठकका लागि अनुरोध गरेका छन्। हामी सहमत भएका छौँ- यो बैठक नोभेम्बर २१, शुक्रबार ओभल अफिसमा हुनेछ। थप विवरण पछि प्रदान गरिनेछ।'
ट्रम्पले मेयर चुनावअघि मानिसहरूलाई जोहरान मम्दानीलाई मतदान नगर्न आग्रह गरेका थिए।
उनले न्युयोर्कले मम्दानीलाई निर्वाचित गर्यो भने सहरको कोष घटाउने चेतावनीसमेत दिएका थिए।
मेयरमा विजयपछि मम्दानीले भाषण गर्दै राष्ट्रपति ट्रम्पलाई चुनौती दिएका थिए।
उनले भनेका थिए, 'डोनाल्ड ट्रम्प, मलाई थाहा छ- तपाईं हेरिरहनुभएको छ, मसँग तपाईंका लागि चार शब्द छन्: आवाज अलि चर्को पार्नुहोस्।'
Shares

प्रतिक्रिया