ad ad

ग्लोबल


हमासले छाड्यो थप १७ बन्धक, सट्टामा छुटे ३९ प्यालेस्टिनी, विपिनको पालो कहिले आउला?

हमासले छाड्यो थप १७ बन्धक, सट्टामा छुटे ३९ प्यालेस्टिनी, विपिनको पालो कहिले आउला?

इजरायली जेलबाट छुटेर वेस्ट बैंक पुगेपछि खुसी मनाउँदै प्यालेस्टिनी।


नेपालखबर
मंसिर १०, २०८० आइतबार ८:४१, काठमाडौँ

हमासले थप १७ जना बन्धकलाई रिहा गरेको छ। जसमध्ये १३ जना इजरायली र चार जना थाई नागरिक छन्। 

यसको सट्टामा इजरायलले पनि आफ्ना जेलमा रहेका ३९ जना प्यालेस्टिनीलाई छाडेको छ। 

जसमध्ये ६ जना महिला छन् भने बाँकी सबै १८ वर्ष मुनिका छन्।

बीबीसीका अनुसार उनीहरू वेस्ट बैंक र जेरुसेलम पुगेका छन्।

टीभीले उनीहरूलाई वेस्ट बैंकको बेतुनिया सहरतर्फ बसमा लगिएको देखाएका छन्। यी मानिस उत्सव मनाउँदै बसबाट ओर्लिरहेको देखिएको छ। 

कतारको मध्यस्थतामा स्थानीय समयानुसार शुक्रबार बिहानदेखि चार दिनका लागि हमास र इजरायलबीच युद्धविराम भएको छ।

यस अवधिमा दुवै पक्षले एकअर्काको नियन्त्रणमा रहेका नागरिक रिहा गर्ने सहमति छ। सोबमोजिम उनीहरू रिहा भइरहेका हुन्।

यसैबीच हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ।

यसका लागि सरकारले निरन्तर प्रयास गरिरहेको जनाएको छ। तर अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन। 

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा इजरायलीसहित विभिन्न देशका २४० नागरिकलाई बन्धक बनाएर गाजा लगेको बताइएको छ। जसमा नेपालका विपिन जोशी पनि रहेको भनिएको छ।

हमासको आक्रमणमा इजरायलमा १० नेपालीसहित १ हजार २ सय जना मारिएका थिए।

त्यसयता हमासविरुद्ध इजरायलले गाजामा निरन्तर बमबारी गरिरहेको थियो। जसमा परी अहिलेसम्म १३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघले इजरायललाई निरन्तर दबाब दिएपछि गत शुक्रबारदेखि चार दिनका लागि युद्ध रोकिएको हो।

युद्धविरामको अवधि सकिएपछि हमासविरुद्ध गाजामा आक्रमण पुनः जारी राखिने इजरायलले बताइरहेको छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .