ग्लोबल


कोरोना भाइरसबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोना भाइरसबाट विदेशमा थप तीन नेपालीको निधन

नेपालखबर
चैत १५, २०७७ आइतबार ९:४२,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३सय ४५ जना नेपालीको निधन भएको छ। संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।

हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन्। विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८प्रतिशत रहेको छ।

कोरोना भाइरसका कारण नेपालमा हालसम्म ३ हजार ३७ जनाको निधन भएको छ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ।

स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन्।

उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोर दोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उनले सुझाएका छन्।

यसैबीच काठमाडौंमा पछिल्लो समय फैलिएको धुलो धुवाँबाट जोगिन स्वास्थ्य समितिले सुझाव दिएको छ।

डा सापकोटाले प्रदूषणले स्वासप्रश्वास लगायत भर्खरै कोरोना संक्रमणमुक्तहरूलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। तत्कालिन रूपमा आँखा पोल्ने, आँखा चिलाउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिने र पछि दीर्घकालमा समेत असर पर्ने उनले बताए।

अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र निस्किहाले पनि शरीर ढाक्ने कपडा लगाउने, मास्क तथा चस्मा समेत लगाउन डा सापकोटाले सुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad