अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै न्यून स्तरमा पुगेपछि जापानले आवश्यक परे विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न तयार रहेको जनाएको छ।
जापानका अर्थमन्त्रीले मङ्गलबार अधिकारीले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे उपयुक्त कदम चालिने बताएका हुन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनले आवश्यकता अनुसार जुनसुकै बेला उचित हस्तक्षेप गर्न सकिने संकेत दिएका छन्।
मध्यपूर्वमा जारी द्वन्द्व तथा अमेरिका र जापानबिचको ब्याजदर अन्तरका कारण पछिल्ला वर्षमा येनमाथि निरन्तर दबाब परिरहेको छ।
गत सोमबार लन्डन बजारमा एक अमेरिकी डलर बराबर १६१ दशमलव ९६ येन पुगेपछि जापानी मुद्रा सन् १९८६ यताकै कमजोर स्तरमा पुगेको थियो।
मङ्गलबार एसियाली कारोबारका क्रममा डलरको विनिमय दर १६२ दशमलव ४० येनसम्म पुगेपछि केही सुधार भई १६२ दशमलव १७ येनमा कारोबार भएको थियो।
बजारलाई सन्देश दिन जापान सरकारले गत महिना ७० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्दै येनलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो।
पछिल्लो अभिव्यक्तिलाई पनि आवश्यक परे पुनः हस्तक्षेप गर्न सकिने संकेतका रूपमा हेरिएको छ। कमजोर येनका कारण ऊर्जा तथा कच्चा पदार्थ आयातमा निर्भर जापानमा आयात लागत बढेको छ।
विशेषगरी अमेरिकी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो बनेको छ। यसबाट उपभोक्तालाई राहत दिन प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले इन्धन तथा ऊर्जामा अनुदान उपलब्ध गराइरहेको छ।
यद्यपि कमजोर येनका कारण जापान विदेशी पर्यटकका लागि तुलनात्मक रूपमा सस्तो गन्तव्य बनेको छ, जसले पर्यटन तथा उपभोगमा सकारात्मक प्रभाव पारेको छ।
यसै महिना जापानको केन्द्रीय बैंकले ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा पु¥याए पनि अमेरिकी संघीय रिजर्भले यस वर्ष थप ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ।
यसले दुई देशबिचको ब्याजदर अन्तर कायम रहने र येनमाथिको दबाब तत्काल कम नहुने विश्लेषण गरिएको छ।
यसैबिच जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मे २८ देखि जुन २६ सम्मको अवधिमा विदेशी विनिमय बजारमा कुनै हस्तक्षेप गरिएको थिएन। (रासस/एएफपी)
Shares

प्रतिक्रिया