कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर सुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो।
संक्रमितमध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन्। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन्।
गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनुपरेन। विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५ सय ६९ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये ३९ हजार ५ सय ६५ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।
गत सातासम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ।
नेपालमा कोरोनामुक्त हुनेको संख्या बढ्यो
कोरोना भाइरसका कारण नेपालका संक्रमण हुनेमध्ये कोरोनामुक्त हुनेहरुको संख्यामा वृद्धि भएको छ। गत हप्ता कोरोना संक्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकोमा यो साता कुल संक्रमितको ७६ दशमलव ९ प्रतिशत कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यो साता नेपालमा मात्र १ लाख ७० हजार ७ सय ४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ३१ हजार २ सय २२ जना कोरोना मुक्त भएका छन्। शनिबार साँझसम्म नेपालमा ९ सय ३७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
अनावश्यक यात्रा नगरौँ
गैरआवासीय नेपाली संघले अति आवश्यकबाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ। कोरोना भाइरसको विश्वव्यापी संक्रमणको कारणले युके, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अतिआवश्यकबाहेक अन्य प्रयोजनको लागि यात्रा तय नगर्न संघले आह्वान गरेको छ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गर्नुभएको छ ।
स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किदा मानिसहरुलाई सके सम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेको छ ।
१ लाख २६ हजार जनाको उद्धार
गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुको संयुक्त पहलमा हालसम्म ३३ देशका १ लाख २६ हजार ९ सय ८९ जना नेपालीहरुको उद्धार गरिएको छ।

प्रतिक्रिया