ग्लोबल


पूर्वी चीन सागरमा फेरि चर्कियो जापान–चीन तनाव

पूर्वी चीन सागरमा फेरि चर्कियो जापान–चीन तनाव

नेपालखबर
असार २३, २०८३ मंगलबार २०:३३, काठमाडौँ

जापानले विवादित सेन्काकु टापुनजिक आफ्नो दाबीको समुद्री क्षेत्रमा प्रवेश गरेका दुई चिनियाँ तटरक्षक जहाजलाई बाहिरिन बाध्य पारिएको जनाएको छ।

जापानी तटरक्षकका अनुसार चिनियाँ जहाजहरू जापानी माछा मार्ने डुंगातर्फ अघि बढेपछि उनीहरूलाई तत्काल क्षेत्र छाड्न निर्देशन दिइएको थियो।

पछिल्लो घटनाले पूर्वी चीन सागरमा जापान–चीनबिचको समुद्री तनाव फेरि चर्किएको छ।

जापानी तटरक्षकले जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ जहाजहरूलाई पटकपटक चेतावनी दिएपछि उनीहरूले मंगलबार बिहान ९:२० बजेभित्र जापानले आफ्नो क्षेत्रीय जलका रूपमा दाबी गरेको समुद्री क्षेत्र छाडेका थिए।

जापानी माछा मार्ने जहाजको सुरक्षा सुनिश्चित गर्न तटरक्षकका अतिरिक्त जहाज पनि परिचालन गरिएको जनाइएको छ।

विज्ञप्तिअनुसार सुरुमा चार चिनियाँ तटरक्षक जहाजले विवादित क्षेत्र वरिपरि गस्ती गरिरहेका थिए। तीमध्ये दुई जहाज जापानी दाबीको जलक्षेत्रमा प्रवेश गरेका थिए।

जापानले उक्त गतिविधिलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै भविष्यमा पनि शान्त तर दृढ रूपमा आफ्नो क्षेत्रीय जलको सुरक्षा गरिरहने जनाएको छ।

ताइवान र जापानको ओकिनावाबिच अवस्थित सेन्काकु टापु चीनमा दियाओयु नामले चिनिन्छ र यही टापुको स्वामित्वका विषयमा जापान र चीनबिच लामो समयदेखि क्षेत्रीय विवाद जारी छ।

चीनले नियमित रूपमा उक्त क्षेत्रमा आफ्ना तटरक्षक जहाज परिचालन गरिरहेको छ, जसका कारण जापानी सुरक्षा निकायसँग पटकपटक समुद्री तनाव सिर्जना हुने गरेको छ।

जापानी अधिकारीहरूका अनुसार चिनियाँ जहाज यसअघि जुन १० मा पनि जापानले आफ्नो क्षेत्र मानेको जलक्षेत्रमा प्रवेश गरेका थिए। तर जापानी माछा मार्ने डुङ्गाको यति नजिक पुग्नु भने असामान्य घटना भएको बताइएको छ।

पूर्वी चीन सागरका अन्य विवादित क्षेत्रमा पनि चीनले नियमित रूपमा जहाज परिचालन गरिरहेको जापानको आरोप छ। ती क्षेत्रमा तेल तथा प्राकृतिक ग्यासजस्ता ऊर्जा स्रोतको सम्भावित भण्डार रहेको विश्वास गरिन्छ।

दुई देशबिचको सम्बन्ध पछिल्ला महिनामा थप संवेदनशील बनेको छ। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत नोभेम्बरमा ताइवानको सुरक्षा अवस्थाबारे अभिव्यक्ति दिएपछि बेइजिङले त्यसप्रति असहमति जनाएको थियो।

त्यसयता चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आग्रह गर्नाका साथै केही जापानी कम्पनीमाथि व्यापारिक प्रतिबन्धसमेत कडा बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad