अमेरिका र इरान आज (शनिबार) पाकिस्तानको राजधानी इस्लामाबादमा शान्ति वार्ता सुरु गर्दै छन्।
यसका लागि दुवै देशका प्रतिनिधिमण्डल इस्लामाबाद आइसकेका छन्।
वार्तालाई ध्यान दिँदै पाकिस्तानमा उच्च सुरक्षा व्यवस्था गरिएको छ।
अमेरिकी वार्ता टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानी प्रतिनिधिमण्डल संसद्का सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा छ।
गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबिच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता हुन लागेको हो।
वार्ता आज सुरु हुने अपेक्षा छ। तर युद्धविरामपछि पनि इजरायलले लेबननमा भीषण हवाई हमला गरेका कारण दुई देशबिच विवाद छ।
इरान र अमेरिकाबिच युद्धविराम लेबननमा पनि हो वा होइन भन्ने विषयमा विवाद भइरहेको हो।
यसैबिच शुक्रबार लेबननको राष्ट्रपति कार्यालयले दक्षिणी सहर नाबाटियाहमा इजरायलले आक्रमण गर्दा १३ सरकारी सुरक्षाकर्मी मारिएको बताएको छ।
यसअघि बुधबारको आक्रमणमा २ सयभन्दा बढी मानिस मारिएको र हजारभन्दा बढी व्यक्ति घाइते भएको लेबननले जनाएको छ।
इरानका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ताका लागि लेबननमा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता गरिनुपर्ने सर्त राखेका छन्।
उनले भनेका छन्, ‘यी दुवै कुरा पहिले नै सहमति भइसकेको छ तर अझै कार्यान्वयन भएको छैन।’
हेर्नुहोस् इस्लामाबादमा कडा सुरक्षाका केही तस्बिर






Shares

प्रतिक्रिया