ग्लोबल


इरानलाई ट्रम्पको एकपछि अर्को धम्की, फेरि दिए कडा चेतावनी

इरानलाई ट्रम्पको एकपछि अर्को धम्की, फेरि दिए कडा चेतावनी

नेपालखबर
चैत २३, २०८२ सोमबार ६:७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकपछि अर्को धम्की दिइरहेका छन्। 

यस क्रममा उनले चाँडै सहमतिमा आएन भने इरानका सबै कुरा ध्वस्त पारिने र तेल कब्जा गरिने चेतावनी दिएका छन्। 

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यदि चाँडै सम्झौता भएन भने म सबै कुरा नष्ट गर्ने र तेल कब्जा गर्ने विचार गरिरहेको छु।’ 

यद्यपि उनले सम्झौताको सम्भावना अझै समाप्त नभएको पनि बताएका छन्।

उनले भने, ‘सम्झौता हुने राम्रो सम्भावना छ र वार्ता जारी छ।’

यसअघि आइतबार ट्रम्पले इरानलाई अप्रिल ६ सम्मको समयसीमा तोक्दै सम्झौता नगरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। 

तर यसविरुद्ध इरानी सेनाले कडा प्रतिक्रिया दिएको छ। 

इरानी सेनाको मुख्यालय (खातम अल-अन्बिया) का कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले आक्रमण गरिए अमेरिका र अमेरिकी सेना जोडिएका सबै पूर्वाधारमा हमला गरिने चेतावनी दिएका हुन्। 

बीबीसी फारसीका अनुसार उनले विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकाले आक्रमण गरेमा हामी उनीहरूका आतंकवादी सेना र यहुदी शासनसँग सम्बन्धित सबै पूर्वाधारमा निरन्तर हमला गर्नेछौँ।’

अब्दुल्लाहीले अगाडि भनेका छन्, ‘हामीमाथि लादिएको यो युद्ध सुरु गरेदेखि नै हामीले भनेका सबै कुरा गरिरहेका छौँ। यस सन्देशको सरल अर्थ के हो भने नर्कको द्वार तिम्रा लागि खुल्नेछ।’

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ।

विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित भन्दै रोयटर्सले सार्वजनिक गरेको मृतकको विवरण यस्तो छ: 

इरान : ३,५१९ जना मारिए 

अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।

लेबनन : १,३१८ जना मारिए

लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।

छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए।

इराक : कम्तीमा १०७ जना मारिए

इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान-समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका-समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।

इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।

इजरायल : १९ जना मारिए 

इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।

अमेरिका : १३ जना मारिए 

अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।

खाडी क्षेत्र

संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्। 

यसैबिच इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र ३६५ सैन्य कर्मचारी घाइते भएको तथ्यांक अमेरिकाले सार्वजनिक गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad