'विशाल' अमेरिकी सैन्य बल द्रुत गतिमा इरानतर्फ अघि बढिरहेको बताउँदै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आणविक कार्यक्रममा सम्झौता गर्ने समय सकिनै लागेको’ चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विशाल आर्माडा (नौसैनिक दस्ता) पूर्ण शक्ति, उत्साह र उद्देश्यका साथ इरानतर्फ द्रुत गतिमा अघि बढिरहेको छ।’
उता इरानले पनि अमेरिकाबाट आक्रमण भए तुरुन्तै कडा जवाफ दिइने प्रतिक्रिया दिएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, ‘देशको सशस्त्र सेना जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तुरुन्तै र सशक्त जवाफ दिन पूर्ण रूपमा तयार र सक्षम छ।’
इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै अमेरिका र यसका सहयोगीले लगाउने गरेको 'आणविक हतियार विकास गर्न खोजेको' आरोप बारम्बार अस्वीकार गरिरहेको छ।
अहिले नयाँ चेतावनी दिनुअघि ट्रम्पले यसै महिना (जनवरी) को सुरुमा इरानमा भएको विरोध प्रदर्शनमा क्रूर दमन गरिएको भन्दै हस्तक्षेप गर्ने धम्की दिएका थिए।
उनले त्यसबेला इरानका प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘मद्दत आउँदै छ।’
तर पछि ट्रम्पले विश्वसनीय स्रोतबाट इरान पक्राउ गरिएका आन्दोलनकारीलाई मृत्युदण्ड दिने निर्णयबाट पछि हटेको जानकारी आएको बताएका थिए।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए) का अनुसार गत डिसेम्बर अन्त्यमा इरानमा विरोध प्रदर्शन सुरु भएयता ६ हजार ३०१ जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। जसमध्ये ५ हजार ९२५ प्रदर्शनकारी छन्।
एचआरएएनएले इरानमा झन्डै तीन हप्तादेखि इन्टरनेट बन्दका बाबजुद प्राप्त १७ हजार मृत्युको रिपोर्टको पनि अनुसन्धान भइरहेको जनाएको छ।
ट्रम्पलाई इरानको जवाफ
ट्रम्पको पछिल्लो वक्तव्य इरानको आणविक कार्यक्रममा बढी केन्द्रित देखिन्छ।
उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘आशा छ- इरान चाँडै वार्ताको टेबलमा आउनेछ र निष्पक्ष र न्यायसंगत सम्झौतामा कुरा गर्नेछ- कुनै आणविक हतियार छैन।’
ट्रम्पका अनुसार खाडी क्षेत्रमा तैनाथ अमेरिकी नौसेनाको टोली राष्ट्रपति निकोलस मदुरोलाई कब्जा गर्नुअघि भेनेजुएलामा पठाइएको भन्दा ठुलो छ।
ट्रम्पले आफ्नो पोस्टमा यो पनि लेखेका छन्, ‘यो सैन्य बल आवश्यक परेमा आफ्नो मिसन गति र शक्तिका साथ पूरा गर्न तयार, इच्छुक र सक्षम छ।’
गत जुनमा इरान र इजरायलबिच १२ दिनसम्म भएको युद्धका क्रममा इरानका आणविक पूर्वाधारहरूमा अमेरिकाले गरेको आक्रमणलाई उल्लेख गर्दै ट्रम्पले अगाडि लेखेका छन्, ‘अब हुने हमला अझ भयानक हुनेछ। यसलाई दोहोरिन नदिऊँ।’
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, ‘इरान सधैँ पारस्परिक रूपमा लाभदायक, निष्पक्ष र न्यायपूर्ण आणविक सम्झौता चाहन्छ। जुन समानतामा आधारित होस्, कुनै बलजफ्ती वा धम्की नहोस्। शान्तिपूर्ण आणविक प्रविधि प्राप्त गर्ने इरानको अधिकार सुनिश्चित होस् र आणविक हतियार हुने छैन भन्ने ग्यारेन्टी गरियोस्।’
उनले अगाडि भनेका छन्, ‘हाम्रो सुरक्षा रणनीतिमा यस्ता हतियारको कुनै स्थान छैन र हामीले कहिले ती प्राप्त गर्ने प्रयास पनि गरेका छैनौँ।’
यसैबिच इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सन्देश आदानप्रदान भए पनि अमेरिकासँग हाल कुनै औपचारिक वार्ता नभएको बताएका छन्।
बीबीसी खोजबाट पत्ता लागेका कुरा
‘ओपन-सोर्स टुल्स’ प्रयोग गरेर बीबीसी भेरिफाईश्वरको ले हालै यस क्षेत्रमा गरिएका अमेरिकी सैन्य तैनाथीमध्ये केहीको ट्र्याक गरेको छ।
यस क्रममा स्याटेलाइट तस्बिरले देखाउँछन्- कम्तीमा १५ लडाकु जेट जोर्डनको मुवाफक एयर फोर्स बेसमा आइपुगेका छन्।
साथै जोर्डन, कतार र हिन्द महासागरमा डिएगो गार्सियामा रहेका सैन्य अड्डामा आइपुगेका विमानको संख्या बढेको पनि देखिएको छ।
बीबीसी भेरिफाईले मध्यपूर्व क्षेत्रमा आइपुगेका दर्जनौँ कार्गो तथा इन्धन भर्ने विमान पहिचान गरेको छ। फ्लाइटराडार-२४ ट्र्याकिङ साइटमा इरानी हवाई क्षेत्रनजिकै ड्रोन र पी-८ पोसेडन जासुस विमान उडिरहेका पनि देखिएका छन्।
अमेरिकाका एक रक्षा अधिकारीले बीबीसी भेरिफाइसँग पुष्टि गरेका छन्, ‘ट्रम्पले उल्लेख गरेको नौसेना 'आर्माडा'को नेतृत्व गर्ने यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोत पनि मध्यपूर्व आइपुगेको छ।’
सोमबार फ्लाइटराडार-२४ ले ओमानमा ओस्प्रे विमान अवतरण गरेको पत्ता लगाएको छ। जुन विमान खाडी क्षेत्रबाट आएको थियो र यसले 'अब्राहम लिंकन' जहाज वरपर सक्रिय हुन सक्छ भन्ने संकेत गरेको छ।
रिस्क एडभाइजरी फर्म सिबिलिनकी प्रमुख विश्लेषक मेगन सटक्लिफले भनिन्, ‘बितेका दुई हप्तामा अमेरिकाले यस क्षेत्रमा आफ्ना नौसेना र हवाई संसाधनको तैनाथी द्रुत गतिमा बढाएको छ, जसले गर्दा उसको क्षेत्रीय उपस्थिति उल्लेखनीय रूपमा बलियो भएको छ।’
स्याटेलाइन तस्बिरले के पनि देखाएका छन् भने कम्तीमा दुईवटा अमेरिकी निर्देशित मिसाइल विनाशक र तीन युद्धपोत बहराइनमा धेरै महिनादेखि तैनाथ छन्।
साथै तस्बिरले इरानले गत वर्षदेखि मात्र सञ्चालित आफ्नो ड्रोनवाहक आईआरआईएस सहिद बाघेरी इरानको तटनजिकै तैनाथ गरेको संकेत गरेका छन्।
इरानको आणविक कार्यक्रम र ट्रम्पको कारबाही
सन् २०१५ मा विश्व शक्तिसँग भएको आणविक सम्झौतामा इरानलाई ३.६७ प्रतिशत शुद्धताभन्दा बढी युरेनियम संवर्धन गर्ने अनुमति थिएन। यो एक व्यावसायिक आणविक ऊर्जा प्लान्टलाई इन्धन दिन आवश्यक पर्ने स्तर बराबर हो। साथै इरानलाई १५ वर्षसम्म आफ्नो फोर्डो प्लान्टमा कुनै पनि संवर्धन गर्न अनुमति दिइएको थिएन।
तर ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा यस सम्झौताबाट आफ्नो देशलाई अलग गराए।
त्यसबेला उनले भनेका थिए- यो सम्झौता इरानलाई आणविक बम विकास गर्नबाट रोक्न पर्याप्त छैन।
पछि अमेरिकाले इरानविरुद्ध पुन: प्रतिबन्ध लगायो, जसले इरानको अर्थतन्त्रलाई गम्भीर क्षति पुर्यायो।
जवाफमा इरानले सम्झौताका सर्त बारम्बार उल्लंघन गर्न थाल्यो, खासगरी समृद्ध युरेनियमसँग सम्बन्धित सर्त, जुन आणविक रिएक्टरका लागि इन्धनका रूपमा प्रयोग गरिन्छ भने यसबाट आणविक हतियार पनि बनाउन सकिन्छ।
अमेरिकी सञ्चारमाध्यमले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै भनेका छन्, ‘कुनै नयाँ आणविक सम्झौताअन्तर्गत इरानलाई युरेनियम संवर्धन रोक्नपर्छ, उसको क्षेप्यास्त्र कार्यक्रम सीमित गराउनुपर्छ र मध्यपूर्वमा प्रोक्सी समूहलाई समर्थन दिन बन्द गराउनपर्छ।’
अमेरिकाले पछिल्लो समय गत वर्ष जुनमा इरानका आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानलाई निसाना बनाई आक्रमण गरेको थियो।
त्यतिबेला अमेरिकी अधिकारीहरूले दाबी गरेका थिए, ‘मिडनाइट ह्यामर' नामको यो अपरेसनले इरानको आणविक हतियार बनाउने सम्भावनालाई ठुलो धक्का दिएको छ।’
यद्यपि इरानको राज्य प्रसारकका उपराजनीतिक निर्देशक हसन अबेदिनीले भनेका थिए, ‘कुनै ठुलो धक्का लागेको छैन। किनकि यी साइटट पहिले नै सामग्रीहरू हटाइएको थियो।’
तर आक्रमणको जवाफमा इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेको थियो, जसलाई ट्रम्पले ‘धेरै कमजोर’ र ‘पहिले अनुमान गर्न सकिने’ भनेर टिप्पणी गरेका थिए। बीबीसीबाट
Shares

प्रतिक्रिया