चिनियाँ विदेशमन्त्रीले यो वर्ष भएको भारत–पाकिस्तान द्वन्द्वमा मध्यस्थता गरेको दाबी गरेका छन्। वाङ यीले मंगलबार एक कार्यक्रममा सम्बोधन गर्दै चीनले मध्यस्थता गरेका द्वन्द्वहरूको सूचीमा भारत–पाकिस्तान तनावलाई पनि सामेल गरे।
मे महिनामा भारतले पाकिस्तानविरुद्ध अपरेसन सिन्दूर नामक सैन्य कारबाही गरेको थियो। जसमा चिनियाँ हतियारको सहयोगमा पाकिस्तानले भारतको लडाकु विमान खसाउन सफल भएको थियो। ट्रम्पले आफ्नो कारणले भारत–पाकिस्तान युद्ध रोकिएको दाबी गर्दै आएका छन्।
तर, भारतले भने तेस्रो पक्षको कुनै भूमिका नभएको दाबी गर्दै आएको छ।
‘यो वर्ष दोस्रो विश्वयुद्धयताकै सबैभन्दा बढी स्थानीय युद्ध र सीमापार द्वन्द्व चर्किए। भूराजनीतिक व्यवधान फैलिइरह्यो,’ बेइजिङमा आयोजित एक गोष्ठीमा वाङले भने, ‘दिगो शान्ति कायम गर्न हामीले वस्तुनिष्ठ र न्यायपूर्ण अडान लिएका छौँ र लक्षण तथा मूल कारण दुवैलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गरेका छौँ। यी प्रमुख मुद्दाहरू समाधान गर्न हामीले उत्तरी म्यानमार, इरानी आणविक मुद्दा, पाकिस्तान र भारतबीचको तनाव, प्यालेस्टाइन र इजरायलबीचको मामिला तथा कम्बोडिया तथा थाइल्यान्डबीचको पछिल्लो द्वन्द्वमा मध्यस्थता गर्यौँ।’
यस्तो प्रयासमा आफूहरूले कुनै पनि देशको आन्तरिक मामिलामा हस्ताक्षेप नगरेको, कसैलाई नउक्साएको र आफ्नो फाइदा हेरेर कदम नचालेको पनि वाङले दाबी गरे।
वाङले अहिले चीन–भारत सम्बन्धले राम्रो लय समातेको पनि उल्लेख गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया