ग्लोबल


एपस्टिन मुद्दाको नयाँ फाइलमा ट्रम्पविरुद्ध बलात्कारको आरोप

एपस्टिन मुद्दाको नयाँ फाइलमा ट्रम्पविरुद्ध बलात्कारको आरोप

सन् २००० फेब्रुअरी १२ को तस्बिर : जसमा ट्रम्प आफ्नी श्रीमती मेलानिया ट्रम्प, जेफ्री एपस्टिन र घिसलेन म्याक्सवेल सँग देखिएका छन्।


नेपालखबर
पुस ९, २०८२ बुधबार ९:५९, काठमाडौँ

यौन अपराधमा दोषी ठहर अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग सम्बन्धित मुद्दामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि बलात्कारको आरोप लगाइएको छ। 

अमेरिकाको न्याय विभागले मंगलबार राति जारी गरेको मुद्दासँग सम्बन्धित ३० हजार पृष्ठको नयाँ दस्तावेजमा ट्रम्प र एपस्टिन दुवैले यौन दुर्व्यवहार गरेको आरोप एक महिलाले लगाएकी छन्। 

साथै एक चालकले पनि आफ्नो बयानमा ट्रम्प र एपस्टिनले एक महिलालाई दुर्व्यवहार गर्नेबारे छलफल गरेको आफूले सुनेको दाबी गरेका छन्। 

तर सार्वजनिक फाइलमा यसबारे एफबीआईले अनुसन्धान गरेको छ कि छैन भनेर उल्लेख गरिएको  छैन। यसमा आरोप लगाउने महिलाको पछि गोली लागेर मृत्यु भएको भनिएको छ।

तर अमेरिकी न्याय विभागले ती कागजातमा कतै पनि ट्रम्पलाई कुनै अपराधको आरोप लगाइएको वा उनीविरुद्ध कुनै आधिकारिक अनुसन्धान गरिएको नपाइएको दाबी गरेको छ।

विभागले भनेको छ, ‘ट्रम्प र एपस्टिन एकअर्कालाई साँच्चै चिन्थे र केही समयदेखि भेटेका पनि थिए। तर यसको अर्थ ट्रम्प कुनै आपराधिक गतिविधिमा संलग्न थिए भन्ने होइन।’

अमेरिकी न्याय विभागले दाबीमा सत्यता भएको भए सन् २०२० को चुनावका बेला ट्रम्पविरुद्ध यो हतियार प्रयोग गरिन्थ्यो पनि भनेको छ।

तर विपक्षी डेमोक्र्याटिक नेताहरूले फाइलले एपस्टिनसँग ट्रम्पको सम्बन्धबारे प्रश्न उठाउने जिकिर गरेका छन्। साथै उनीहरूले न्याय विभागलाई सत्य लुकाएको आरोप पनि लगाएका छन्।

फाइलमा राष्ट्रपति ट्रम्पको नाम पटकपटक उल्लेख गरिएका छन्।

न्युयोर्क टाइम्सका अनुसार, ट्रम्पको नाम प्रायः समाचार वा रेकर्डका रूपमा उल्लेख गरिएको छ, तर केही कागजात प्रत्यक्ष रूपमा ट्रम्पसँग सम्बन्धित छन्। यसमा जनवरी २०२० को इमेल समावेश छ। जसमा १९९३ र १९९६ को बीचमा ट्रम्पले एपस्टिनको निजी विमानमा आठपटक यात्रा गरेको उल्लेख छ।

इमेलका अनुसार, एउटा उडानमा एपस्टिन, ट्रम्प र २० वर्षीय एक व्यक्ति मात्र थिए। अन्य उडानमा ट्रम्पका पूर्वपत्नी मार्ला म्यापल्स, छोरी टिफनी र छोरा एरिक पनि थिए। 

यद्यपि एपस्टिन मुद्दामा डोनाल्ड ट्रम्पलाई कुनै आपराधिक भूमिकाको आरोप लगाइएको छैन। ह्वाइट हाउसबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

न्याय विभागले फाइलमा झुटा दाबी गरिएको हुन सक्ने जिकिर गरेको छ। 

न्याय विभागले भनेको छ, ‘२०२० को चुनावभन्दा ठिकअघि एफबीआईलाई हस्तान्तरण गरिएका यी केही कागजातमा राष्ट्रपति ट्रम्पविरुद्ध झुटा र सनसनीपूर्ण दाबी छन्।’

अमेरिकी संसद्‌ले नोभेम्बरमा एक कानुन पारित गर्दै डिसेम्बर १९ सम्ममा एपस्टिनसँग सम्बन्धित लगभग सबै अनुसन्धानका कागजात सार्वजनिक गर्न एफबीआईलाई निर्देशन दिएको थियो। त्यसपछि अमेरिकी सरकारले फाइल जारी गर्न थालेको हो। 

यसअघि शुक्रबार राति जारी दस्तावेजमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि युवतीसँग देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad