अफगानिस्तानस्थित तालिबान सरकारको रक्षा मन्त्रालयले गएराति आफ्नो वायुसेनाले पाकिस्तानका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा रहेका आईएसआईएसका अखडाहरूमा हवाई आक्रमण गरेको बताएको छ।
तालिबानी रक्षा मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत बलुचिस्तानका गुलिस्तान र सकराब क्षेत्रमा आईएसआईएस-खुरासान मुख्यालय र खैबर पख्तुनख्वाको ओराकजाई जिल्लाको कम्बरखेल क्षेत्रलाई निसाना बनाइएको उल्लेख गरेको छ।
तालिबानी रक्षा मन्त्रालयले दाबी गरेको छ, ‘ती स्थान केही शत्रुले गुप्तचर समूहको मद्दतमा अफगानिस्तानविरुद्ध आक्रमणको योजना बनाउन प्रयोग गरिरहेका थिए। ती ठाउँ पहिले पनि धेरै घातक हमलाको योजना बनाउन र सुरु गर्न प्रयोग गरिएको थियो।’
बीबीसी पस्तोले स्रोतहरूलाई उद्धृत गर्दै आक्रमणमा आईएसआईएस-खुरासानका केही वरिष्ठ नेता मारिएको उल्लेख गरेको छ।
तालिबानी रक्षा मन्त्रालयले अफगानिस्तानले अब आफ्नो सुरक्षा र स्थिरताविरुद्ध कुनै पनि खतरा वा धम्की नसहने चेतावनी दिएको छ। त्यसविरुद्ध पूरा शक्ति प्रयोग गरिने उसले उल्लेख गरेको छ।
अगाडि भनिएको छ, ‘हामी कुनै पनि खतरा पहिचान गर्न, रोक्न र पूर्ण रूपमा हटाउन हाम्रा सबै क्षमता र स्रोत प्रयोग गर्नेछौँ।’
यस विषयमा पाकिस्तानले भने अहिलेसम्म कुनै जवाफ दिएको छैन।
Shares

प्रतिक्रिया