लेबनानको राष्ट्रिय समाचार एजेन्सीले अमेरिका-इरानबिच शान्ति सम्झौतामा हस्ताक्षरपछि पनि इजरायलले देशको दक्षिणी क्षेत्रका धेरैवटा सहरमा आक्रमण गरेको र कम्तीमा १६ जना मारिएको बताएको छ।
मिडिया रिपोर्टका अनुसार इजरायली सेनाले शुक्रबार बिहानदेखि नै नाबाटिह सहर र आसपासका क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ।
अमेरिका र इरानबिच बुधबार मात्र भएको सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य हमला बन्द गरिने उल्लेख थियो।
यसैबिच दक्षिणी लेबनानमा रहेको हेजबुल्लाहको स्थानमा आक्रमण रोक्ने विषयमा अमेरिका र इजरायलबिच मतभेद बढेको छ।
अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले बिहीबार पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प हाल इजरायलप्रति सहानुभूति र समर्थन देखाउने विश्वका एक मात्र नेता भएको बताएका थिए।
इजरायलको आन्तरिक सुरक्षा मन्त्री इटामार बेन-ग्भिरले भान्सको भनाइमा जवाफ दिँदै भनेका छन्, ‘हामीलाई समर्थन गर्नेहरूलाई फाइदा हुनेछ भने पिठ्यु फर्काउनेहरूलाई नोक्सान हुनेछ। त्यसैले हामीलाई धम्की नदिनुहोस्।’
बुधबार राति मात्र १४-बुँदे समझदारीपत्र (एमओयू) मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति पेजेस्कियानले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरेका थिए।
त्यसअनुसार अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दीसमेत हटाइसकेको छ।
Shares

प्रतिक्रिया