ग्लोबल


टेक्सस: कलिला किशोरीहरू सुतिरहेको ‘क्याम्प मिस्टिक’ जब एक्कासि बाढीमा डुब्यो

बाँच्न सफल १३ वर्षीया स्टेलाले यसरी सुनाइन्, त्यस दिनको भयावह दृश्य
टेक्सस: कलिला किशोरीहरू सुतिरहेको ‘क्याम्प मिस्टिक’ जब एक्कासि बाढीमा डुब्यो

अमेरिकाको टेक्ससस्थित ग्वाडालुप नदीको किनारमा रहेको क्रिस्चियन बालिका/किशोरीहरू बस्ने ‘क्याम्प मिस्टिक’को वर्तमान अवस्था।


नेपालखबर
असार २३, २०८२ सोमबार १३:५०, काठमाडौँ

अमेरिकाको टेक्ससस्थित ग्वाडालुप नदीको किनारमा रहेको क्रिस्चियन बालिका/किशोरीहरूको शिविर 'मिस्टिक' केही दिन अघिसम्म हाँसो र उत्साहको वातावरण भएको ठाउँ थियो।

तर शुक्रबार बिहान निरन्तर वर्षाका बीच नदीको जलसतह केवल ४५ मिनेटमा झन्डै ८ मिटर बढ्यो।

त्यतिबेला धेरै किशोरी शिविरमा सुतिरहेका थिए। यो शिविर नदीबाट १५० मिटर मात्र टाढा थियो।

यतिबेला त्यो शिविरका धेरै ओछ्यान हिलोमा पुरिएका छन्। 

क्याम्प मिस्टिकभित्र सामानहरू छरपस्ट छन्, जहाँ बालिका/किशोरी बाइबल पढ्न र क्याम्प फायर गीत गाउन भेला हुन्थे।

हालसम्म मध्य टेक्ससमा आएको बाढीका कारण ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ। यीमध्ये ६८ जनाको मृत्यु केर काउन्टीमा भएको छ, जहाँ क्याम्प मिस्टिक थियो। मृतकमा २८ जना बालबालिका पनि छन्।

मृतकमा क्याम्प मिस्टिकमा लामो समयदेखिका निर्देशक रिचर्ड 'डिक' इस्टल्यान्ड र धेरै युवा छन्। १० जना केटी र शिविरका एक सल्लाहकार अझै बेपत्ता छन्।

उच्च स्थानमा पनि सुरक्षित थिएनन् मानिस

शुक्रबार उच्च स्थानमा रहेको शिविरमा सुतिरहेकी १३ वर्षीया स्टेला थम्पसन बिहान सबेरै आएको आँधीबेहरीले बिउँझिइन्।

माथि हेलिकप्टरहरू उडिरहेको देखेपछि उनले महसुस गरिन्, पक्कै केही गम्भीर घटना भएको छ।

लगत्तै उनी र उनीसँगै रहेका अन्य बालिका/किशोरीले शिविर छेउको ग्वाडालुप नदीमा बाढी उर्लिएको थाहा पाए।

डलासस्थित एनबीसीसँग कुरा गर्दै स्टेलाले भनिन्, ‘जब हामीले यो खबर पायौँ, तब हामी सबै धेरै दु:खी भयौँ र निरन्तर प्रार्थना गरिरह्यौँ। पूरै शिविरमा त्रास छायो। हामी आफ्ना लागि होइन, अर्को छेउमा फसेका मानिसहरूका विषयमा चिन्तित थियौँ।’

सेनाको ट्रकले उनलाई र अन्य बाँचेकाहरूलाई बाढी फन्दाबाट बाहिर निकालेपछि स्टेलाले त्यहाँ देखेका भयानक दृश्य सुनाएकी हुन्। 

उनले भनिन्, ‘ठूला रूखहरू उखेलिएका थिए। अब यो क्याम्प मिस्टिकजस्तो देखिँदैनथ्यो। उच्च भूभागमा बस्नेहरू पनि सुरक्षित थिएनन्।’

उच्च स्थानमा अवस्थित साइप्रस ताल क्षेत्रमा रहेको क्याम्प मिस्टिककी सल्लाहकार क्याथरिन समरभिलले फक्स न्युजसँग भनेकी छन्, ‘हाम्रो शिविर पहाडको टुप्पोमा थियो, तर यो पूर्ण रूपमा पानीमा डुबेको थियो।’

उनले थपनि्, ‘हामीले कहिल्यै सोचेका थिएनौँ कि यस्तो पनि होला।’ 

टेक्ससका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले कोठाको झ्याल फुटाएर त्यहाँ फसेका बालिका/किशोरी बाहिर निकालिएको कुरा सुनाए।

उनले भने, ‘ती साना बालिकाहरू लगभग १०-१५ मिनेट पौडी खेले। कल्पना गर्नुहोस्- अँध्यारोमा, तीव्र बहाबमा, रूख र ढुंगाहरूसँग ठोकिँदै तिनीहरू सुरक्षित ठाउँमा पुगे।’ 

चारैतिर भग्नावशेष

आइतबार बीबीसीको टोली शिविरमा पुग्दा ठूलो वर्षा भइरहेको थियो। प्रहरीहरू कडा निगरानीमा थिए, चारैतिर देखिन्थे- भग्नावशेष। 

त्यहाँको मौसम विभागले थप वर्षा हुने जानकारी दिँदै यसले उद्धारलाई अझ कठिन बनाउन सक्ने बताइरहेको थियो।

बाढी आएको तीन दिनपछि आशा मर्दै गएको छ। 

क्याम्प मिस्टिक पुस्ताैँदेखि एउटै परिवारले सञ्चालन गरिरहेको थियो। 

हरेक वर्ष गर्मी याममा अमेरिकाभरिबाट धेरै परिवारले आफ्ना साना छोरीहरूलाई त्यस क्याम्पमा पठाउँथेँ। जहाँ बालिका/किशोरीहरूले पौडी खेल्ने, क्यानोइङ गर्ने, घोडा चढ्ने जस्ता सिप सिक्छन्।

धेरै अमेरिकीको आकर्षण बनिरहेको ग्वाडालुप नदी यसपटक घातक बन्यो।

नदीमा अचानक ठूलो बाढी आयो र किनारमा अवस्थित यो सुन्दर क्षेत्रलाई तहसनहस पार्‍यो। यस क्षेत्रमा लगभग २० वटा युवा शिविर छन्। 

तर सबैभन्दा बढी क्षति यद्यपि क्याम्प मिस्टिकमा भएको अधिकारीहरू बताउँछन्। 

उठ्यो प्रश्न

साताको अन्तिमतिरको समय भएकाले यस क्षेत्रमा थप कति शिविर भन्ने कुरा अझै थाहा हुन सकेको छैन।

नदीको यति नजिक किन यति धेरै शिविर बनाइए र किन बालिका/किशोरीहरूलाई समयमै सुरक्षित स्थानमा सारिएन भन्ने प्रश्न उठेको छ। 

यस क्षेत्रको प्रतिनिधित्व गर्ने अमेरिकाका सांसद चिप रोयले यस विषयमा अहिले कुनै निष्कर्षमा पुग्न नहुने बताएका छन्।

रोयले भने, ‘अब प्रतिक्रियामा के हुन्छ भने हामीले यी सबै शिविर हटाउनुपर्छ। मानिसहरूले सोध्नेछन्- शिविरहरू किन नदीको यति नजिक थिए? यसको जवाफ हो- किनभने नदी किनारका ठाउँ धेरै सुन्दर हुन्छन्।’

बेपत्ता व्यक्तिहरूको खोजी जारी छ। 

टेक्ससका गभर्नर ग्रेग एबोटले आइतबार भनेका छन्, ‘हराएका हरेक व्यक्ति फेला नपरेसम्म’ कुनै पनि मूल्यमा अपरेसन (खोजी) जारी रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad