अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफले इरानको आणविक स्थलमा अमेरिकी आक्रमणबारे गरिएको रिपोर्ट चुहावटलाई 'देशद्रोह'को संज्ञा दिएका छन्।
गत शनिबार राति अमेरिकाले इरानका आणविक स्थलमा बम हमला गरेको थियो भने सबै ध्वस्त पारिएको दाबी गरिएको थियो।
तर पेन्टागनबाट लिक प्रारम्भिक गुप्तचर मूल्यांकन प्रतिवेदनले इरानको आणविक कार्यक्रम नष्ट पार्न नसकेको केवल केही महिना ढिला मात्रै हुने पारेको उल्लेख गरेको छ।
यस विषयमा स्टिभ विटकफले फक्स न्युजसँग भनेका छन्, ‘यो अपमानजनक छ, यो देशद्रोह हो र यसको अनुसन्धान गरिनुपर्छ। यसका लागि जो जो जिम्मेवार भए पनि उसलाई जवाफदेही बनाउनुपर्छ।’
स्टिभ विटकफको फक्स न्युजसँगको कुराकानीको भिडिओ सेयर गर्दै ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘स्टिभ विटकफ भन्छन्: हामीले फोर्डो बेसमा १२ बंकर बस्टर बम खसाल्यौँ। यसमा कुनै शंका छैन कि बमहरू यसको सुरक्षा तहमा प्रवेश गरे र आधार पूर्ण रूपमा ध्वस्त भयो।त्यसैले हामीले हाम्रो उद्देश्य पूरा गर्न नसकेको रिपोर्ट पूर्ण रूपमा आधारहीन छ।’
त्यही रिपोर्टको खण्डनमा यसअघि ट्रम्पले इरानमा अमेरिकाले बम खसालिरहेको भिडियो सेयर गरेका थिए।
Shares

प्रतिक्रिया