ग्लोबल


इथियोपियाले अजरबैजानको सहज सेवा प्रणाली अनुकरण गर्दै ‘मेसोब’ केन्द्र सुरु गर्ने, नेपालले के सिक्न सक्छ?

इथियोपियाले अजरबैजानको सहज सेवा प्रणाली अनुकरण गर्दै ‘मेसोब’ केन्द्र सुरु गर्ने, नेपालले के सिक्न सक्छ?

नेपालखबर
असार ९, २०८२ सोमबार १५:०, काठमाडौँ

इथियोपियाले अजरबैजानको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त “आसान सेवा” मोडलमा आधारित पहिलो एकीकृत सार्वजनिक सेवा केन्द्रको औपचारिक सुरुवात गर्न लागिरहेको छ। 

यस केन्द्रको उद्देश्य सार्वजनिक सेवा प्रवाह सुधार गर्नु हो। अजरबैजानका राष्ट्रपति कार्यालयअन्तर्गत सार्वजनिक सेवा तथा सामाजिक नवप्रवर्तन एजेन्सीका अध्यक्ष उल्वी मेहदियेभको हालैको इथियोपिया भ्रमणपछि तीव्र गतिमा यो प्रक्रिया अगाडि बढेको अजरबैजनका समाचार संस्थाहरुले जनाएका छन्। 

इथियोपिया सरकारको निमन्त्रणामा गएको मेहदियेभ नेतृत्वको प्रतिनिधिमण्डलले राजधानी आदिस अबाबामा ‘मेसोब’ सेवा केन्द्रको औपचारिक प्रस्तुति निरीक्षण गरेको थियो।

अजरबैजानको सफल आसान सेवा केन्द्रको प्रतिरूपमा तयार गरिएको “मेसोब” केन्द्र अहिले पाइलटरुपमा सञ्चालनमा छ। यहाँ करिब २० सरकारी निकाय र विभिन्न निजी संस्थाबाट १२० भन्दा बढी सेवा प्रदान गरिन्छ। 

पाइलट सेवा कार्यालय केन्द्रको शुभारम्भ कार्यक्रममा इथियोपियाको सार्वजनिक सेवा आयोग, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री र अजरबैजानका इथियोपियाका राजदूत रस्लान नासिबोभ उपस्थित थिए। इथियोपियाली अधिकारीले प्रविधिक सहयोगका लागि अजरबैजानलाई धन्यवाद दिँदै वर्षको अन्त्यसम्म देशभर यस्तो सेवा विस्तार गर्ने योजना सार्वजनिक गरे।

दुवै देशबीच यो सहकार्य मे २०२४ मा अजरबैजानको राज्य एजेन्सी र इथियोपियाको सम्बन्धित सेवा निकायबीच हस्ताक्षर भएको थियो। यो साझेदारीको आधार सन् २०२४ नोभेम्बरमा कोप २९ जलवायु सम्मेलनमा अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभ र इथियोपियाका राष्ट्रपति टाय अट्स्के सेलास्सीबीचको उच्चस्तरीय भेटमा तयार गरिएको थियो।

उक्त अवसरमा इथियोपियाले औपचारिक रूपमा आसान सेवा मोडललाई अंगीकार गर्ने इच्छा व्यक्त गरेको थियो।

अहिलेसम्म अजरबैजानले आफ्नो आसान सेवा मोडललाई विश्वभर विस्तार गर्न करिब ३० वटा देश र अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गरिसकेको छ। २०२४ नोभेम्बरमा स्थापित युएन अजरबैजान ट्रस्ट फण्डमार्फत संयुक्त राष्ट्रसंघले पनि यस सार्वजनिक सेवा नवप्रवर्तनलाई चार महादेशमा फैलाउन सहयोग गरिरहेको छ, जसलाई अजरबैजानको प्रमुख बौद्धिक निर्यातका रूपमा लिइन्छ।

आसान सेवा केन्द्र अजरबैजानमा स्थापित एक अग्रगामी एकीकृत सेवा हो। यसले ३६० भन्दा बढी सरकारी तथा निजी सेवा—जस्तै जन्म–मृत्यु दर्ता, राहदानी, सम्पत्ति दर्ता, कर र युटिलिटी भुक्तानी, व्यवसाय दर्ता आदि—एकै स्थानबाट प्रभावकारी, पारदर्शी र नागरिक सन्तुष्टि केन्द्रित तरिकाले प्रदान गर्दछ।

यसले मोबाइल सेवा एकाइहरू, डिजिटल उपकरणहरू र वातावरणमैत्री पूर्वाधारसमेत समावेश गर्छ। नेपालले यो मोडल अवलम्बन गरेर प्रशासनिक प्रक्रिया सरल, ग्रामीण सेवाप्रवाह विस्तार, भ्रष्टाचार न्यूनीकरण र डिजिटल शासन सुदृढ गर्न सक्छ—जसले दीर्घकालीन रूपमा सार्वजनिक विश्वास र सेवा दक्षता अभिवृद्धि गर्न मद्दत पु¥याउनेछ।

नेपाली अधिकारीहरूले पनि गत वर्ष अजरबैजानको बाकुमा स्थित आसान सेवा केन्द्र अवलोकन गरी यसको सेवा मोडल र सञ्चालन प्रणालीबारे अध्ययन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad