अमेरिकाको लस एन्जलसमा आप्रवासीहरूविरुद्ध भइरहेको छापामारीको विरोधमा प्रदर्शन गरिएपछि तनाव भएको छ।
झडपसमेत हुन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार जना राष्ट्रिय गार्ड तैनाथ गर्न आदेश दिएका छन्।
ट्रम्पका सीमा सल्लाहकार टम होमनले शनिबार फक्स न्युजलाई भने, ‘हामी लस एन्जलसलाई सुरक्षित बनाउँदै छौँ।’
शनिबार, क्यालिफोर्नियाको लस एन्जलस सहरको प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका मानिस र अमेरिकी आप्रवासन एजेन्सी (आईसीई) का अधिकारीहरूबीच झडप भएको थियो।
त्यसपछि प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास र लाठी प्रहार गरेको थियो।
यस हप्ता हालसम्म आईसीईको कारबाहीका क्रममा ११८ जनालाई पक्राउ गरिएको छ, जसमध्ये ४४ जना शुक्रबार मात्र पक्राउ परेका हुन्।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यसलाई ‘क्रूर’ भनेका छन्।
शनिबार न्युसमले राष्ट्रपति ट्रम्पसँग लगभग ४० मिनेट फोनमा कुरा गरे, तर त्यसको विवरण सार्वजनिक गरिएन।
यद्यपि यसपछि ट्रम्पले आफ्नो ट्रुथसोसल अकाउन्टमा क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरले आफ्नो काम गर्न सक्दैनन् भने केन्द्रीय सरकारले हस्तक्षेप गर्ने लेखेका छन्।
उनले लेखेका छन्, ‘यदि क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम र लस एन्जलसका मेयर करेन बासले आफ्नो काम गर्न सक्दैनन् भने केन्द्रीय सरकारले हस्तक्षेप गर्नेछ र दंगा र लुटेराहरूको समस्या समाधान गर्नेछ।’
हाल, प्यारामाउन्टमा वातावरण अलि शान्त भएको छ, तर प्रदर्शनकारी र प्रहरीबीच टकराव अझै जारी छ।
Shares

प्रतिक्रिया