संसद्को गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएपछि सत्ता पक्षले संसद् बैठक जसरी पनि सञ्चालन गर्ने तयारी गरेका छन्।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षले असहयोग गरेपनि संसद्को कारबाही अगाडि बढाउने जिकिर गरे।
‘आजबाट संसद सञ्चालनमा आउँछ। अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ,’ घिमिरेले भने, ‘संसद् सञ्चालन गर्न दिने कि नदिने भन्ने निष्कर्ष उहाँहरुले दिनु भएको छैन। उहाँहरुले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ। यदि उहाँहरुले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद् अगाडि बढ्छ।’
नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले आजदेखि सहमतिको लागि सूचना टाँसेर बैठक स्थगित गर्ने पक्षमा आफूहरु नरहेको बताए।
उनले भने, ‘प्रमुख प्रतिपक्षी दहलहरुले सहमतिको लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो। हामीले त्यो हामीले मान्दै आयौँ। आजको बैठकमा चाँही हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन। आजदेखिको बैठक हामी स्मुथली अगाडि बढाउन चाहन्छौँ। बजेटमाथि आजदेखि छलफल आरम्भ हुन्छ।’
Shares

प्रतिक्रिया