बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा चुनावको सम्भावित मिति घोषणा गरेका छन्।
बीबीसी बंगलाका अनुसार शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै उनले राष्ट्रिय चुनाव २०२६ अप्रिल पहिलो पन्ध्र दिनमा हुने बताएका हुन्।
उनले निर्वाचन आयोगले उपयुक्त समयमा चुनावका लागि विस्तृत रोडम्याप उपलब्ध गराउने पनि बताए।
बंगलादेशको प्रमुख दल बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) सहित धेरै राजनीतिक पार्टीले चुनाव गराउन निरन्तर माग गरिरहेका थिए। बीएनपीले यस वर्ष डिसेम्बरसम्ममा चुनाव गराउन माग गरिरहेको थियो।
तर मोहम्मद युनुसले धेरैपटक यस वर्ष डिसेम्बर र अर्को वर्षको जुन महिनाको बीचमा चुनाव हुनुपर्ने बताइरहेका थिए।
उनले यस विषयमा हालै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए।
सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थी आन्दोलन कारण अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। हसिना भागेको ३ दिनपछि अन्तरिम सरकार गठन भएको थियो। हाल हसिना भारतको शरणमा छिन्।
Shares

प्रतिक्रिया